प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणको क्रममा नेपाललाई १५ वटा मुर्रा जातका राँगा दिने कुरा बाहिएपछि सो कुरालाई लिएर सामाजिक सञ्जालमा ट्रोल भयो। जसबारे प्रधानमन्त्री प्रचण्ड आफैंले सोमबारको संसद बैठकमा कुरा उठाए।
'मुर्रा भैंसी ल्याउनेबारे सात वर्षअघि नै समझदारी भएको रहेछ। मान्छे भने मलाई भैंसी चढाएर हिँडेका छन्,' प्रधानमन्त्रीले सम्बोधनको क्रममा भनेका छन्।
पशु सेवा विभागका वरिष्ठ पुश विकास अधिकृत एवं सूचना अधिकृत चन्द्र ढकालका अनुसार भारतबाट मुर्रा जातका राँगा ल्याउने प्रयास २०७३ सालदेखि नै सुरू भएको थियो। खासगरी देशमा रहेको रैथाने भैंसीहरूको नस्ल विकास गर्नलाई भारतबाट उच्च नस्लको मुर्रा राँगा ल्याउन लागिएको ढकाल बताउँछन्।
उनका अनुसार मुर्रा जातका राँगा र स्थानीय भैंसीलाई क्रस गरेपछि त्यसबाट जन्मिने बच्चापछि गएर दूध दिने भएपछि उक्त भैंसीको दूध उत्पादकत्व वृद्धि हुन्छ।
'हाम्रो स्थानीय भैंसीहरूले एक वेतमा सरदर आठ सय लिटर दूध दिन्छन् भने मुर्रा भैंसीले पन्ध्र सय लिटर दिन्छ,' ढकालले भने। यसरी दूधको उत्पादनमा वृद्धि हुने भएपछि यसले किसानलाई प्रत्यक्ष फाइदा पुग्ने उनी बताउँछन्।
अहिले ल्याउन लागिएको मुर्रा राँगा भारतमा भएका राँगाहरूमध्ये उच्च प्रजननमान क्षमता रहेको भनिएको छ। यी राँगाहरूबाट जन्मेको पाडीहरूबाट दूधको उत्पादकत्व एक वेतमा ३५ सय लिटर सम्म पुगेको ढकाल बताउँछन्।
अब भारतबाट यी मुर्रा राँगा ल्याउन करिब डेढ महिना लाग्ने र ती राँगाहरूलाई देशको तीन वटा ठाउँमा रहेका प्रजनन् कार्यालयहरूमा राखिने उल्लेख गर्दै उनले भने, 'लाहान, पोखरा र नेपालगंज गरी तीन वटा ठाउँमा राष्ट्रिय पशु प्रजनन् केन्द्र छन् र अब यी राँगाहरूबाट प्रति वर्ष २ लाख वीर्य किसानको गोठगोठमा पुर्याउँछौं।'