बुधबार, मंसिर १२ गते २०८१

जिउँदै स्वर्ग-नर्क अनुभव गराउने प्रकृति पूजा तोस

जिउँदै स्वर्ग-नर्क अनुभव गराउने प्रकृति पूजा तोस

अखबार दैनिक
मंगलबार, जेठ २३ २०८०
  • जिउँदै स्वर्ग-नर्क अनुभव गराउने प्रकृति पूजा तोस

    स्वर्ग र नर्क बारे विभिन्न जनविश्वास छ । स्वर्ग भन्नेबित्तिकै धर्म गर्ने मान्छे मृत्युपछि देवलोकमा पुगेर आनन्दले देवताको समीपमा बसिरहेको र नर्क भन्नेबित्तिकै डरलाग्दो यमराजले कराहीको तेलमा हालेर भकभकी उमालिरहेको हामी कल्पना गछौर्ं ।

    images

    स्वर्ग सुरम्य, सुगन्ध र अमरावती हुन्छ भने नर्क रुखो, उजाड, उराठ लाग्दो र भयानक भन्ने हामीमा विश्वास छ । त्यसैले स्वर्गलाई पुण्यात्मा र सत्कर्मीहरू मृत्युपछि सुख भोग गर्न जाने देवलोक भन्ने गरिन्छ भने पापी वा दुराचारीहरूलाई मरेपछि सजाय दिइनेलाई नरक भन्ने गरिन्छ ।

    यो सदियौंदेखि भनिंदै र सुनिंदै आएको कुरा मात्र हो । कोही त्यहाँ पुगेर आफ्नो अनुभव बाँडेका छैनन् । तर आज जीवन भोगाइकै क्रममा एक किरात सभ्यताभित्र पर्ने कुलुङ जातिले अँगालेको संस्कारको चर्चा गर्दैछु । कुलुङ जातिमा गरिने एक प्रकृति पूजालाई तोस भनिन्छ । त्यही तोसले स्वर्ग र नर्कको बारेमा केही अनुभूति गराउँछ ।

    तोस
    तोस कुलुङले गर्ने एक भूमि पूजा हो । यो वर्षमा तीन पटक गर्ने गरिन्छ । जेठ, असोज र फागुनमा गरी गरिने तीन वटै तोसको नाम फरक-फरक छन् । जेठमा गरिने तोसलाई यनाम तोस, असोजमा गरिनेलाई थो तोस र फागुनमा गरिने तोसलाई जी तोस भन्ने गरिन्छ । जी तोसलाई याउ तोस भनेर पनि चिनिन्छ । यी तोसमध्ये यनाम तोस अनिकाल नलागेर सहकाल लागोस् ! अन्नपात तथा बालीनाली सपि्रयोस् भनेर भूमि पुज्ने गरिन्छ ।

    यता जेठ र असोजमा गरिने तोसले भने संस्कार बन्द गर्ने र खुलाउने काम गर्छ । जेठको अन्तिम हप्ता गरिने तोसले संस्कार बन्द गर्छ भने असोजमा गरिने तोसले संस्कार खुलाउने काम । त्यसैले कुलुङ जातिभित्र असार, साउन र भदौ बन्देजको समयको रूपमा चिनिन्छ ।

    यनाम तोस र नर्क
    ‘यनाम कूःपी सियाव’ अर्थात् ‘बर्खा याममा मरोस्’ भन्ने हो । कसैले हिंसा वा अपराध गरेमा जेठ र असोजको तोस बीचमा मरोस् भनेर सराप्ने गरिन्छ ।

    जेठको अन्तिम हप्ता गरिने तोस नै यनाम तोस हो । कुलुङ जातिभित्र मृत्यु संस्कार दुई प्रकारको हुन्छ । अकालमा मर्ने र कालगतिले मर्नेलाई गरिने अन्त्येष्टि फरक-फरक हुन्छ । तर कालगतिले मृत्यु हुँदा पनि दुई खालले संस्कार्ने गरिन्छ । यो भनेको तोसले प्रभाव राख्छ । अथवा जेठको तोसपछि मरेकाहरू धर्मात्मा होइन भन्ने मानसिकता हुन्छ । त्यही भएर नै ‘यनाम कूःपी सियाव’ भनेर सराप्ने गरिएको हो । जेठको तोसपछि हुने मृतकको दाहसंस्कार हुँदा सामान्य तरिकाले गाड्ने गरिन्छ । अन्तिम संस्कारको रूपमा गरिने सिलुम गरिंदैन । चौतारोसम्म गर्ने चलन छ ।

    त्यस्तै यो अवधिमा विवाह गरिंदैन । कुनै विवाह गर्नैपर्ने परिस्थिति आइलागेमा सामान्य साइनो फेरेर बेहुली भित्र्याउने गरिन्छ । जब असोजको तोस हुन्छ तब साइत हेरेर धुमधामका साथ विवाह गर्ने गरिन्छ । त्यति मात्र नभई बर्खाको समयमा कुलुङ जातिले खान समेत बार्नुपर्छ । किनिमा, भटमास, पिंडालु र कर्कलो खान पाइँदैन । ढ्यांग्रो, बाँसुरी, हर्गेल र शंख बजाउनुहुँदैन । कचुर खन्नुहुँदैन । केसम्म हुन्छ भने अकालमा कसैको मृत्यु भएमा अनिवार्य चिन्ता राख्नुपर्छ । उक्त चिन्तामा कचुर अनिवार्य हो । तर बर्खामा त्यसरी बसाइने बाध्यात्मक चिन्तामा कचुरको सट्टा अदुवा प्रयोग गर्ने गरिन्छ ।

    त्यति मात्र होइन ! अरू कुरा पनि बन्देज छ । जस्तै बर्खामा मार्चा, घरपालुवा जनावर, घर लिप्ने माटो र कचुर बोक्न प्रतिबन्ध लाग्छ । यसरी हेर्दा जेठको तोसपछि कुलुङ जातिमा स्वतन्त्रता छैन । यो आफ्नै संस्कारले बनाएको बन्देज हो । यो अझै पनि कायम छ ।

    थो तोस र स्वर्ग
    बर्खाभरको बन्देजको अन्त्य असोज पहिलो हप्ता हुने तोसले खुला गर्नेछ । जब असोज लाग्छ तब गाउँ-टोलमा एक किसिमको उल्लास छाउँछ । भदौ अन्तिम हप्तातिरैबाट अब तोस हुनेभो भने चर्चा सुरु हुन्छ । असोजको पहिलो हप्ता नै तोस गर्ने गरिन्छ । किनकि नर्कको समयलाई सकेसम्म छोट्याउन भन्दै छिटै तोस गरिन्छ । उक्त तोसलाई नै थो तोस भन्ने गरिन्छ ।

    Chihan-pooja.jpg                                                                       

                                                                              चिहान


    थो तोसपछिको मर्नेहरूलाई ‘धर्मार्थी’ अर्थात् धार्मिक संस्कारी भन्ने गरिन्छ । त्यसपछिको अन्त्येष्टिमा चिहानमा हरेक बिहान-बेलुका मासु र भात पुर्‍याउने गरिन्छ । चिहानमा चार पुस्ताका चेलीहरूको नाममा ८ वटा ‘साङ’ अर्थात् ध्वजा झुन्ड्याउने गरिन्छ । लाश गाडेको कम्तीमा १५ दिनसम्म दैनिक बिहान-बेलुका खाना चिहानमा पुर्‍याउनुपर्छ । १५ दिनपछि सिलुम गरिन्छ । सिलुममा सबै मलामी चोख्याउने र साङ काट्ने गरिन्छ भने साङको नामकरण गरिएका सबै चेलीहरूको शिर उठाउने गरिन्छ ।

    त्यस्तै शंख, हर्गेल र बाँसुरी बजाउने, कचुर काट्ने र बोक्ने बाटो खुल्छ । माटो र घरपालुवा जनावर बोक्न पाइन्छ । बन्देज गरिएका सबै खाना खान पाइन्छ । त्यसैले जब असोजको थो तोस हुन्छ तब कुलुङ जातिभित्र स्वतन्त्रता मिल्छ । गरिंदै आएका सबै संस्कार गर्न पाइन्छ । सबै खानेकुरा खान पाइन्छ । बर्खाभर बन्द भएका सबै खुला हुन्छ ।

    त्यसैले तोस कुलुङ जातिको भूमि पूजा मात्र होइन । कुलुङ जातिलाई संस्कारभित्र बाँध्ने र खुला गर्ने काम पनि तोसले गर्दछ । वर्षमा तीन पटक गरिने तोसको आ-आफ्नै महत्व त छँदैछ । फागुनमा गरिने तोसबाट कोही भोकै नमरोस् भन्ने कामना, प्रार्थना र विश्वास गरिन्छ ।

    यता जेठमा गरिने तोसले सबैजसो संस्कार बन्द गर्ने भएकाले नर्कको बाटो देखाउने वा अनुभव गर्ने तोस भन्ने गरिन्छ । त्यसैले त कुलुङ जातिभित्र बर्खाको समयमा कोही मर्नु नपरोस् भनेर कामना गर्ने गरिएको हो ।

    साँच्चिकै मृत्युपछि अर्को लोक छ कि छैन ? छ भने स्वर्ग र नर्क भनेर वर्गीकृत छ कि छैन ? कसैलाई थाहा छैन । कसैले अनुभव गर्न पाएको छैन । स्वर्ग र नर्क भन्ने कुरा हामीले खोजी गर्ने कुरा होइन, यो खोजी गर्दैमा भेटिने कुरा पनि होइन । आधुनिक समयमा अहम्, क्रोध र हिंसालाई त्यागेर सत्कर्म र सत्मार्गतर्फ लाग्यौं भने स्वर्ग यहीं छ । तर आफ्नो मानवीय कर्तव्य भुलेर गलत मार्गतर्फ अग्रसर भइयो भने नर्क पनि यहीं छ भन्ने गरिन्छ ।

    तर नेपालमै कुलुङ जातिभित्र हामीले कल्पना गरे जस्तै सुगन्धमय र पीडादायी नहोला । तैपनि केही अनुभव भने अवश्य गराउँछ । त्यसैले अनुसन्धान गर्न चाहनेका लागि महत्वपूर्ण सामग्री हुनसक्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार