पितासँग पैसा हुँदैनथ्यो । त्यसैले मेरो जन्मदिनमा नयाँ नयाँ उपहार किनेर दिन सक्दैनथे । जब मेरो जन्मदिन आउँथ्यो, तब पिताले आफ्ना पुराना सामान मलाई ‘उपहार’ दिन्थे ।
सुन्दा र हेर्दा त लाग्थ्यो, त्यो मामुली चीज हो । तर मेरो जन्मदिनमा पिताबाट बर्सेनि प्राप्त हुने उपहार निकै अर्थपूर्ण हुन्थ्यो । ती उपहारले मेरो जीवनमा धेरै कुरा सिकाइदियो । मलाई पिताले के कस्ता उपहार दिए र त्यो कति सन्देशमूलक थियो भन्ने कुरा म बिस्तारमा सुनाउँछु ।
पहिलो उपहार- टुटेफुटेका शतरञ्ज (चेस बोर्ड)
मेरा पिताले आफ्ना दौंतरीसँग खेल्ने चेस थियो यो । पुरानो र टुटेफुटेको । यो उपहार दिंदै उनले मलाई भनेका थिए, ‘यसबाट तिमीले धेरै कुरा सिक्न सक्छौं । पहिलो कुरा, सहकार्य एवं एकअर्कासँग मिलीजुली काम गर्न । दोस्रो कुरा, जिन्दगीमा अगाडि बढ्नका लागि कहिलेकाहीं पछाडि पनि हट्नुपर्छ । तेस्रो कुरा, कुनै पनि मान्छे सानो वा ठूलो हुँदैन । सबैको समान इज्जत गर्नुपर्छ । सधैं सबैको इज्जत गर्नु । चौथो कुरा, केही यस्ता चीज हुन्छ जसमा हाम्रो अधिक लगाव हुन्छ । तर अगाडि बढ्नका लागि यस्ता लगाव पनि त्याग्न सक्नुपर्छ ।’
दोस्रो उपहार- पुरानो टाइपराइटर
अहिलेको पुस्तालाई त थाहा छैन कि टाइपराइटर के हो ? जतिबेला कम्प्युटरको प्रचलन यति व्यापक भएको थिएन, त्यसबेला टाइपराइटर प्रयोग गरिन्थ्यो । यसमा टाइप गरिएको कुरा पेपरमा प्रिन्ट भएर आउँछ । तर जब यसमा कुनै अक्षर लेखिन्छ, त्यसलाई मेटाउन निकै कठिन हुन्छ ।
यसको अर्थ टाइपराइटरमा निकै ध्यानपूर्वक लेख्नुपर्छ । कम्प्युटरमा जस्तो गल्ती भएको कुरा मेटाउने छुट हुँदैन । त्यसैले टाइपराइटरमा गलत अक्षर लेखिएमा टाइपपेस्ट प्रयोग गरेर त्यसलाई मेटाउनुपथ्र्यो । कहिलेकाहीं कि बोर्डमा औंला नै अड्कन पनि सक्थ्यो । त्यसैले टाइपराइटरमा काम गर्दा एकदमै सचेत र सतर्क हुनुपथ्र्यो ।
मलाई जन्मदिनमा यही टाइपराइटर उपहार दिंदै पिताले भनेका थिए, ‘कुनै पनि काम गर्दा पूर्ण ध्यान लगाऊँ । आफूले गरेको कुनै पनि काम गल्ती नहोस् । काम यसरी गर कि यो मेरो जिन्दगीको पहिलो काम हो जुन काम गर्ने फेरि मौका मिल्नेछैन । सायद यो काम नै तिम्रो अन्तिम पनि हुन सक्छ ।’
तेस्रो उपहार- नचल्ने क्यामेरा
मलाई पिताले जन्मदिनमा दिएको अर्को उपहार थियो, क्यामेरा । त्यसबाट राम्रो राम्रो दृश्य त हेर्न सकिन्थ्यो तर कैद गर्न सकिंदैनथ्यो । अर्थात् त्यसले फोटो खिच्दैनथ्यो ।
हाम्रो आ-आफ्नो रचनात्मक क्षमता हुन्छ । आ-आफ्नो रुचि र रहर हुन्छ । तर आफ्नो रहरलाई हामीमध्ये धेरैले आफ्नो काम (पेसा-व्यवसाय) बनाउन सकिरहेका हुँदैनौं । मलाई सानैदेखि अभिनयमा रुचि थियो, कलाकारिता मेरो सौख थियो । कालान्तरमा मैले यसैलाई आफ्नो पेशा बनाएँ । सबैको हकमा यस्तो हुँदैन ।
त्यसैले हामीसँग जुन सिर्जनशीलता छ, जुन सौख छ । चाहे त्यो चित्र बनाउने होस् वा गीत गाउने । यसलाई कहिले मर्न नदिनु । अरुले यसलाई स्वीकार गर्नुपर्छ भन्ने छैन । तर तपाईंले यसलाई सधैं जोगाएर राख्नुपर्छ । किनभने जिन्दगीमा कहिलेकाहीं यस्तो क्षण आउँछ, जतिबेला तपाईंलाई आफ्ना यस्तै सौख, सिर्जनशील क्षमताले हौसला र खुसी प्रदान गरिरहन्छ । दुःखको समयमा, एक्लोपनमा तपाईंको सिर्जनशीलता सबैभन्दा राम्रो साथी बन्नेछ । जस्तो थोत्रो क्यामेराले फोटो खिच्नैपर्छ भन्ने छैन । तर त्यो कति सुन्दर देखिन्छ । त्यसबाट कति सुन्दर दृश्य देख्न सकिन्छ ।
म कविता पनि लेख्छु । यद्यपि त्यो कविता त्यति गतिलो हुँदैन । तै पनि दुःखको बेला म कविता लेख्छु, जसले मलाई शान्त तुल्याउँछ ।
जिन्दगीमा हाँसो-ठट्टा जरुरी
मलाई मेरा पिताले सिकाएको अर्को कुरा हो, ‘जिन्दगीमा हाँसो ठट्टा अनिवार्य छ ।’ सधै हाँस्नु । दुनियाँमा मान्छेले तपाईंसँग राम्रो कुरा गर्नेछ, नराम्रो कुरा गर्नेछ । यी सबै अवस्थामा हाँसोको भाव भने राखिरहनु । किनभने यसले जिन्दगीलाई धेरै सहज बनाउनेछ ।
बच्चाको झैं अवोधपन पनि कायम राख्नु । एउटा सानो बच्चाले संसारलाई तटस्थ भावले हेर्छ । उनीहरुमा कुनै भेद हुँदैन । त्यो अवोधपन जरुरी छ ।
मातापिताको अर्को महान् उपहार, जिन्दगी
मातापिताबाट मैले पाएको अर्को महान् उपहार हो, जिन्दगी । जिन्दगी आफैंमा एक अतुलनीय उपहार हो हाम्रो लागि । जिन्दगीमा आइपर्ने हरेक कुरा चाहे त्यो खराब होस् वा राम्रो, सबैलाई आदर गर्नुहोस् ।
(बलिउड अभिनेता शाहरुख खानले एक विश्वविद्यालयमा दिएको प्रस्तुतिको सम्पादित अंश ।)