बुधबार, मंसिर १२ गते २०८१

डेथ जोनबाट मलेसियन पर्वतारोही बचाएर गेल्जेले गरेको ‘चमत्कार’

डेथ जोनबाट मलेसियन पर्वतारोही बचाएर गेल्जेले गरेको ‘चमत्कार’

अखबार दैनिक
बिहीबार , जेठ १८ २०८०
  • डेथ जोनबाट मलेसियन पर्वतारोही बचाएर गेल्जेले गरेको ‘चमत्कार’

    १८ जेठ, काठमाडौं । सोलुखुम्बुका ३० वर्षीय गेल्जे शेर्पाले सगरमाथाको ’डेथ जोन’ भनिने क्षेत्र नजिक अलपत्र परेका मलेसियाका एक पर्वतारोहीलाई सकुशल उद्धार गरेका छन् ।

    images

    शेर्पाले १८ मेको दिन ’रवि’ भनेर चिनिने मलेसियाका पर्वतारोहीलाई साउथ पोल नजिकबाट उद्धार गरेका हुन् । सगरमाथामा यो क्षेत्रबाट कसैलाई उद्धार गर्नु असम्भव जस्तै मानिन्छ । गेल्जेले मलेसियाका नागरिकलाई गरेको यो उद्धारलाई पर्यटन विभागका अधिकारीले ‘चमत्कार’ भनेका छन् ।


    सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० तात्तिङ घर भएका गेल्जे सेभेन समिट ट्रेक्सका गाइड हुन् । उनी चिनियाँ पर्वतारोहीलाई लिएर सगरमाथा उक्लिरहेका थिए । त्यहीबेला उनले मलेसियाका पर्वतारोहीलाई करिब ८ हजार ३०० मिटरको उचाइमा अलपत्र अवस्थामा एक्लै फेला पारे ।

    ‘बाटोमा एक जना मान्छे अलपत्र परेको देखें । ऊ हिउँमा जमेको र चिसोले काँपिरहेको अवस्थामा थियो, अरू कसैले पनि उसको वास्ता गरेका थिएनन्,’ गेल्जेले भने, ’मैले उसलाई घिसारेर तलसम्म ल्याएँ । कालो रंगको स्लिपिङ म्याटले बेरेर, डोरीले बाँधे अनि नाम्लो लगाएजसरी पिठ्युँमा बोकेर क्याम्प फोरसम्म आफैं ल्याएँ, जहाँ अरू साथीहरू थिए ।’

    Gelje-Sherpa-2.jpg

    गेल्जेका अनुसार ती आरोही मलेसियाका नागरिक थिए । उनलाई टोलीका सदस्यहरूले ‘रवि’ भनेर बोलाउँथे । उनी सगरमाथा चढिसकेर फर्किंदा अशक्त भएर अलपत्र परेका थिए । ‘उसलाई उद्धार गर्न मेरो आरोहण मैले रद्द गरेँ किनकि उसलाई जोगाउनु मेरो प्राथमिकता थियो । पैसा त पछि कमाउन पनि सकिन्छ,’  उनले ।

    गेल्जेले ती आरोहीलाई पिठ्युँमा बोकेर हिँडिरहेको भिडियो सामाजिक सन्जालमा देखिन्छ । क्याम्प थ्रीबाट हेलिकोप्टरमार्फत मलेसियन पर्वतारोहीलाई काठमाडौं ल्याएर उपचार गरिएको थियो ।

    सामान्यतया सगरमाथा चढिरहेका गाइडहरूले आफ्नो टोलीलाई छोडेर अर्को टोलीको सदस्यको वास्ता गर्दैनन् । तर गेल्जेले शिखर उक्लिरहेको चिनियाँ टोलीलाई बीचमै छाडेर अर्कै टोलीका सदस्यको उद्धार गरेका थिए ।

    गेल्जेले मलेसियाका ती नागरिकको उद्धारमा जान्छु भन्दा चिनियाँ टोलीले मानेको थिएन । ‘म उद्धारमा फर्किन्छु भन्दा चिनियाँहरू मसँग रिसाए,’ गेल्जे भन्छन्, ‘पछि उनीहरूले पनि कुरा बुझे ।’

    उद्धारका लागि निमाटासी शेर्पाले गेल्जेलाई सघाएका थिए ।

    गेल्जेका अनुसार ती मलेसियन नागरिकको अवस्था कस्तो होला भनेर उनलाई खुल्दुली भइरह्यो । पछि साथीहरूले मलेसियाका ती आरोहीलाई हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौं लगिएको जानकारी गराए । केही दिनपछि उनको मोबाइलमा म्यासेज आयो, ‘मलाई बचाएकोमा थ्याङ्क यू ।’

    त्यो म्यासेज उनै मलेसियाका नागरिकको थियो । ‘ऊ बाँच्यो भन्ने थाहा पाएपछि मलाई एकदमै खुशी लाग्यो । काठमाडौंमा उपचारपछि ऊ आफ्नो देश फर्किसकेको छ,’ गेल्जेले भने ।

    त्यतिबेला गेल्जेलाई ठूलो पुण्यको काम गरेजस्तो अनुभव भयो । बौद्ध धर्मका अनुयायी गेल्जेले भने , ‘कुनै मन्दिर, गुम्बामा पूजापाठ गर्नुभन्दा कसैको जीवन जोगाउनु कयौं धेरै पुण्य हुन्छ ।’

    Gelje-Sherpa-3.jpg

    ‘यस्तो उद्धार मिराकल नै हो’
    पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइराला ‘क्याम्प टु’भन्दा माथिबाट कसैलाई उद्धार गर्नु असम्भव जस्तै हुने बताउँछन् ।

    ‘क्याम्प टुभन्दा माथिबाट कसैलाई उद्धार गर्नु भनेको धेरै दुर्लभ हो । यसलाई मिराकल नै भन्न सकिन्छ,’ कोइरालाले भने, ‘जेहोस् गल्जेले ठूलै आँट गरेका हुन् । हामीलाई नै अचम्म लागिरहेको छ ।’

    कोइरालाका अनुसार गेल्जेले साउथ पोलबाट उनको उद्धार गरेका थिए । उनका अनुसार साउथ पोल भने सगरमाथाको ७ हजार ९ सय मिटर उचाइको क्षेत्र हो । त्योभन्दा माथिको ८ हजार ४ सय मिटर माथि हिलारी स्टेपसम्मको क्षेत्रलाई साउथ समिट बाल्कोनी भनिन्छ । यो क्षेत्र अझ बढी खतरनाक मानिन्छ । धेरैजसो आरोहीहरूको यही क्षेत्रमा ज्यान जाने गरेको छ ।

    पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत कोइरालाका अनुसार सगरमाथा आरोहणको क्रममा यही सिजनमा १२ जना आरोहीको मृत्यु भइसकेको छ भने पाँच जना बेपत्ता छन् । सगरमाथाको चुचुरोमा पुगेकाहरूको संख्या भने करिब ६ सय छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार