शनिबार, जेठ ५ गते २०८१

म्याग्दीको रातो च्याउ विदेशमा बस्ने नेपालीमाझ लोकप्रिय

म्याग्दीको रातो च्याउ विदेशमा बस्ने नेपालीमाझ लोकप्रिय

अखबार दैनिक
बुधबार, जेठ १७ २०८०
  • म्याग्दीको रातो च्याउ विदेशमा बस्ने नेपालीमाझ लोकप्रिय

    म्याग्दी : म्याग्दीको उच्च पहाडी क्षेत्रमा पाइने औषधीय गुणले भरिपूर्ण र स्वादिलो रातो च्याउ कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ।

    images


    रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देली र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले रातो च्याउलाई कोसेलीका रुपमा लैजाने गरेका छन्।

    मालिका गाउँपालिका-२ रुमकी बेलकुमारी सुनारले अमेरिका, जापान‚ बेलायत, हङकङलगायत देशमा रहेका आफन्तलाई कोसेली पठाउन जङ्गली रातो च्याउ खरिद गर्न टाढा–टाढाबाट मानिस गाउँमा नै आउने गरेको बताइन्। 

    ‘विदेशमा रहेका आफन्तलाई कोसेली पठाउनका लागि दरबाङ बजारबाट २० किलो रातो च्याउको माग आएको छ, त्यसैका लागि तीन जनालाई दैनिक ज्याला दिएर लेकतिर च्याउ खोज्न पठाएकी छु,’ सुनारले भनिन्।

    उनले जङ्गलबाट खोजेर ल्याएको रातो च्याउलाई घाममा सुकाएर सुकुटी जस्तो बनाइ बिक्री गर्दै आएकी छन्। ‘घुम्न आउने पर्यटकले पनि किनेर लैजान्छन्, अहिले च्याउको सिजन भएकोले प्रतिकिलो ८ सयदेखि १ हजार २ सय रुपैयाँसम्म बिक्री गरेका छौँ‚’ उनले भनिन्। 

    म्याग्दीका गुर्जा, लुलाङ, मुदी, ओखरबोट, देवीस्थान, रुम लगायतका ठाउँका जङ्गलमा यो च्याउ पाइन्छ। जेठदेखि असोजसम्म उच्च लेकाली जङ्गलमा पाइने यो प्राकृतिक च्याउ भएकाले यसको सेवनले विभिन्न किसिमका रोगसमेत निको हुने दरबाङका हीराबहादुर सिउथानी मगरको भनाइ छ।

    लेकबाट दरबङ बजारमा झारेपछि यो च्याउ खोसाखोस नै हुन्छ। स्वदेशी पाहुनाले पनि च्याउ किनेर कोसेली लैजाने गरेका र विदेशमा भएका आफन्तले माग गरेपछि ताजा च्याउ खरिद गरेर सुकाइ सुकुटी बनाउन लागेको दरबाङ बजारकी तिला बूढाथोकीले बताइन्। उनले करिब २० किलो च्याउको सुकुटी बनाएर राखेकी छन्।

    विदेशमा म्याग्देलीले सञ्चालन गरेका रेष्टुराँका मेन्युमा रातो च्याउ परिकारका रुपमा पाइन्छ। रातो च्याउ स्वादिलो, तागतिलो, पोषिलो र स्वस्थकर हुने भएकाले विदेश तथा देशका विभिन्न बजार क्षेत्रमा रातो च्याउको माग बढेको हो।

    बेनीको कोसेली घरकी सञ्चालक पुष्पा पुनले म्याग्दी घुम्न आउने पाहुनाले रातो च्याउ किनेर लैजाने गरेका बताइन्। यसको आकार पङ्खा जस्तै फैलिएको हुन्छ। यो च्याउ अरु च्याउ जस्तो नरम र मीठो हुँदैन। यो काठ जस्तो साह्रो हुन्छ र स्वाद पनि तीतो हुन्छ। 

    त्यसैले यो च्याउ अन्य च्याउ जस्तै तरकारी बनाएर खान सकिन्न। सुकाएको रातो च्याउको टुक्रा पानीमा उमालेर रस चियाको रुपमा पिउनुपर्ने हुन्छ। यसमा पोलिसचाराइडर, ट्रिटरपेनोइड, अर्गानिक जर्मनियम, एमिनो एसिड्स जस्ता औषधीय तत्व रहेका हुन्छन्। 

    यसमा प्रोटिन‚ भिटामिन, मिनरल, माइक्रोनट्रियन्टलगायत पौष्टिक तत्व पनि पाइन्छ। यी तत्वले गर्दा हाम्रो शरीरमा रोगप्रतिरोधि क्षमता बलियो हुने आयुर्वेदिक चिकित्सकहरु बताउँछन्। त्यसकारण पनि यो च्याउ सेवन गर्नाले विभिन्न रोग लागेका बिरामीलाई पनि फाइदा हुने गर्छ।

    औषधीय र पौष्टिक तत्वले भरिपूर्ण भएका कारण पनि विश्वभर यो च्याउको प्रयोग बढ्दै गएको छ। यो च्याउ क्यान्सर र एचआइभी एड्स रोगीका लागि अति उत्तम मानिने आर्युवेदिक चिकित्सक रघु शर्मा सापकोटाले बताए। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा रातो च्याउको व्यावसायिक खेती समेत सुरु गरिएको छ। 

    यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र अन्य जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएपछि अहिले गुर्जाको परिचय फेरिएको हो। आजभोलि देशभित्र र विदेशमा समेत गुर्जा गाउँलाई ‘हर्बल हब’ भन्न थालिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।

    गुर्जामा रातो च्याउ, बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौंठसल्ला, जटामसीलगायत बहुमूल्य जडीबुटी पाइने वडाध्यक्ष छन्त्यालले जानकारी दिए। खाली जग्गाको उपयोग गर्ने नीतिअनुसार गुर्जामा अतिसको बेर्ना उत्पादन गरेर खेती विस्तार गरिएको हो।

    रातो च्याउको औषधीय महत्व
    यस च्याउको महत्व भनेको यो औषधिका रुपमा प्रयोग गरिन्छ। यो तरकारी खाने नभइ विभिन्न रोग निको पार्नका लागि सेवन गरिन्छ। यसको स्वाद तितो हुन्छ।

    त्यसैले यस च्याउको सेवनले उच्च रक्तचाप भएका बिरामीलाई उच्च रक्तचापलाई घटाउन मद्दत गर्छ। ट्यूमर निरोधक क्षमता बढाउँछ, क्यान्सर हुनबाट जोगाउँछ, रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ, पाचन शक्ति बढाउँछ, अरुचि घटाउँछ, यौन संवर्द्धक पनि मानिएको छ। 

    यसले कलेजो वा प्यानक्रियाज आदिको कोषको संरक्षण गर्ने चिकित्सकहरु बताउँछन्। यसमा प्रोटिज र गानोर्डरिक अम्लमा मानिसको रगत जमाउने कार्यमा कमी ल्याउने वा जम्न नदिने क्षमता रहेको आर्युवेदिक चिकित्सक सापकोटाले बताए।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार