कुनै समय एउटै सेड्युलमा ४ वटासम्म फिल्मको छायांकन गरेका सुपरस्टार निखिल उप्रेती विगत केही वर्षयता अभिनयमा सक्रिय छैनन् । अफर पुगेका फिल्महरु पनि नकार्दै आइरहेका छन् । बरु उनी आफूले सुरु गरेको ‘समबोधी अभियान’मार्फत जीवन र जगतका बारेमा प्रवचन दिँदै हिँडिरहेका छन् । उनलाई हेरेर हुर्किएका प्रशंसकहरु भने उनको नयाँ फिल्मको व्यग्र पखाईमा छन् ।
हालै एक पोडकास्टमा उनले फिल्म नगर्नुको कारण खुलाएका छन् । उनले भनेका छन्, ‘यो बीचमा मैले किन फिल्म गरिनँ भने म जस्तो व्यक्तिलाई टीम पाउन बहुत गाह्रो छ । किनभने, मलाई पैसा हाल्ने व्यक्ति मात्र चाहिएको हैन । पैसा हाल्ने व्यक्ति पनि राम्रो चाहिएको हो । खेलौं न आर्टको माध्यमबाट । आर्ट गरौं । तर, फिल्म उद्योगमा आर्टसँग मतलब छैन, अर्कै चिजसँग मतलब छ ।’
आफूले विसौं वर्ष काम गरेको टीमहरुमा त्यो नदेखेको बताउँदै उनले फिल्म क्षेत्रमा पारदर्शिता र इमान्दारिता भन्ने नभएको बताए । फिल्मकर्मीका लागि अहिले विश्व नै प्लेटफर्म रहेको उनको कथन छ । तर, एउटा खाल्डोमा बसेर यो र त्यो विद्वानता फिल्मबाट देखाएँ भन्नु बेवकुफी हुने उनको तर्क छ । आफू हिरो हुँ भन्ने विर्सने भएकाले पनि अहिले आफूसँग काम नभएको उनी बताउँछन् ।
‘म स्टन्ट म्यान हुँदै फिल्ममा आएको हुँ । यहाँसम्म कसरी आइपुगेँ आफैंलाई थाहा छैन । मलाई हिरो बन्ने दूरदूरसम्म सोच थिएन,’ उनी भन्छन्, ‘म शाही स्वभावको मान्छे थिएँ । ज्याकी च्यान बन्ने चक्करमा एक्सन, एक्सनको चक्करमा स्टन्ट र स्टन्ट गर्दागर्दै हिरो भएँ । फिल्मतिर त मेरो कहिल्यै सोच नै थिएन । अहिले मसँग काम नहुनुको कारण पनि यही हो कि म हिरो हुँ भन्ने नै विर्सन्छु ।’