काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको ७० वर्ष पुगेको छ।
सन् १९५३ मे २९ तारिख यही दिन (मे २९) तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए।
पहिलो आरोहणको स्मरण गर्दै ‘प्लाटिनम जुब्ली’ मनाइने भएको छ। नेपालमा भव्य कार्यक्रम गरी सगरमाथाको ७०औँ वर्षगाँठ मनाइने नेपाल पर्वतारोहण संघ (एनएमए)ले जनाएको छ।
दिवसलाई भव्य बनाउन पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थासहितको मूल आयोजक समिति गठन गरिएको छ। कार्यक्रमअनुसार सोमबार बिहान ठमेलबाट प्रभातफेरीपछि नेपाल पर्यटन बोर्डमा औपचारिक समारोह आयोजना गरिनेछ। ठमेलस्थित कर्मचारी सञ्चयकोषबाट प्रख्यात आरोही तथा पर्यटन व्यवसायी एवं सरकारी निकायका प्रतिनिधि सहभागी प्रभावतफेरी भृकुटीमण्डपस्थित बोर्डको हालमा आएर सभामा परिणत हुनेछ।
कार्यक्रममा कीर्तिमान आरोही तथा विभिन्न आरोहीलाई पदक प्रदान गरिने कार्यक्रम छ। सगरमाथा आरोहणको ७० वर्ष पुगेको उपलक्षमा पहिलोपटक आरोहीलाई पदक प्रदान गर्न लागिएको एनएमएका महासचिव मोहन लम्सालले जानकारी दिए। सगरमाथा आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीलाई पहिलोपटक पदकसहित सम्मान गर्दैछौँ’, उनले भने।
यसैगरी सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमअन्तर्गत सोलुखुम्बुको खुम्जुङ र काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरिँदैछ। एनएमएका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाका अनुसार आज खुम्जुङमा हुने विशेष कार्यक्रममा तेञ्जिन शेर्पा र हिलारीका परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको एनएमएका महासचिव लम्सालले जानकारी दिए।
खुम्जुङको औपचारिक कार्यक्रम सकेर एनएमएले काठमाडौंमा छुट्टै कार्यक्रम आयोजना गर्नेछ। जुन १ तारिखमा काठमाडौँमा कार्यक्रम गरिने छ। आरोहीको सम्मानमा र्याली, सम्मान र रात्रिभोजलगायतका कार्यक्रम गरिनेछ।
हिमालबारे जानकार रहेका आङछिरिङ शेर्पाले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्न उपयोगी हुने बताए।
नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठवटा हिमाल छन्। हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्। आरोहणका क्रममा तीन सय बढीको निधन भइसकेको छ।
सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँ–नयाँ कीर्तिमानसमेत थप्दै आएका छन्। कामीरिता शेर्पाले २८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन्। यस्तै पासाङ दावा शेर्पाले यही याममा सगरमाथाको २७ पटक आरोहण गरी कीर्तिमान कायम गरेका छन्। दुवैले यही याममा दुईपटक आरोहण गरी नयाँ रेकर्ड दर्ता गराएका छन्।
दुवै खुट्टा नभएका हरि बुढामगरले यसै सिजनमा सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन्। यही जेठ ५ गते सगरमाथाको चुचुरोमा पुगेर बुढामगरले कीर्तिमान बनाएका छन्।
पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा हालसम्म ६०० भन्दा बढीले सगरमाथाको आरोहण गरेका छन्। यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट सुरु भएको थियो। यो यामको सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन्। विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका एक सय तीन महिला र ३७६ पुरुष गरी कुल ४७८ आरोहीले आरोहण अनुमति लिएका हुन्।
सरकारले आरोहणका लागि हालसम्म ४१४ वटा हिमाल खुला गरेको छ। विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन्। दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन (मे २९ तारिख)को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ।
नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ दिवस मनाउँदै आइएको छ।
रासस