काठमाडौं । “पटक पटकको गर्भपतन, गर्भपतनकोे चार दिन नबित्दै बलात्कार, अहिले मेरो पाठेघर रोगी भइसकेको छ, अब बाँकी जीवन बर्बाद बनाउन चाहन्न । जसले मेरो यो हालत बनायो, उसैले मलाइ स्याहानुपर्छ यसको सजाय भोग्नुपर्छ,” यस्तै अठोटसहित १३ दिनदेखि माइतीघरमा निराहार टिकिरहेकी छिन् उनी अर्थात् बिनु यादव ।
पाँचबुँदे माग राखेर काठमाडौंको माइतीघरमा सत्याग्रह सुरु गरेको १३ दिन भएको छ । सुनेकी छन् उनलाई सडकसम्म पुर्याउनेहरु अझै उनको बेइज्जत गर्न र दोषी देखाउन काठमाडौंमै घुमिरहेका छन् अरे ।
उनलाई त्यससँग केही पर्वाह छैन बरु भोलि मंगलबार उच्च अदालत पाटनमा उनले दायर गरेको निवेदनको पहिलोपटक पेशी तोकिएको छ । उनलाई अदालतप्रति पूर्ण भरोसा छ । भन्छिन्, “अदालतले मलाई न्याय दिनेछ ।”
किन आइपुगिन् बिनु सडक संघर्षमा ?
२८ वर्षीया बिनुको गृह जिल्ला सिरहा हो, उनले काठमाडौं बसेर पीसीएल नर्सिङ र एजुकेशनमा स्नातक गरिन् । एकल आमा र भाइ बहिनीसँगै कपनमा बस्दै आएकी बिनुले जागिरसमेत सँगसँगै अघि बढाइरहेकी थिइन् ।
घटना २०७३ सालको हो, बिनुको रामेछाप मन्थलीका प्रदीप कठायतसँग भेट भयो, विस्तारै उनीहरु प्रेम सम्बन्धमा परे । प्रदीपको घर भक्तपुरको ठिमीमा पनि थियो । घरमै आउनेजाने क्रममा दुई परिवारबीच राम्रो चिनजान भयो ।
यसबीचमा उनले जापान जाने प्रक्रिया अघि बढाएकी थिइन् । तर दुई वर्षको प्रेम सम्बन्धपछि उनले प्रदीपकै सल्लाहमा विदेश जाने योजना रद्द गरिन् । यसैबीचमा बिनु गर्भवती भइन् २०७५ साल चैत २० गते त्रिवि शिक्षण अस्पतालमा परीक्षण गराउँदा थाहा भयो बच्चा पाठेघरको बायाँ नलीमा बसेको रहेछ ।
यसअघिदेखि नै प्रदीपले भने विवाह गर्ने उमेर नभएको भन्दै गर्भपतन गराउनुपर्छ भन्दै आएका थिए, तर बिनुले मानेकी थिइनन् । तर जटिल प्रकारको गर्भ भएकाले गर्भपतन गर्नैपर्ने अवस्था भयो त्यहीदिन उनको ६ हप्ताको गर्भपतन गरियो ।
गर्भपतन गराउँदा मन्थलीमै रहेका प्रदीप २२ गतेमात्रै काठमाडौं आए र बिनुलाई सिनामंगलको एक होटलमा लगेर राखे । शल्यक्रिया गरेको घाउमा नौवटा टाँका लगाइएको थियो, तर त्यसको चार दिन नबित्दै आफूमाथि ‘बलात्कार’ भएको बिनु बताउँछिन् ।
त्यहीबेला उनको घाउबाट टाँका फाट्यो, प्रदीपले फकाएर भर्याङबाट लडेर टाँका फाटेको भन्न लगाए । अस्पतालमा बिनुले त्यही भनिन्– त्यसपछि उनलाई जडिबुटीको अर्को होटलमा सारेर प्रदीप गायब भए । पैसा र खानेकुराको अभावमा छट्पटिइरहेकी बिनुले १५ दिन नबित्दै प्रदीपको फेसबुकमा अर्कै एक महिलासँग घुमिरहेको फोटो देखिन् ।
तब आफूलाई शारीरिक सम्बन्धको लागि मात्रै माया गरेको महसुस भयो बिनुलाई । आफुलाई छोडेर ती महिलासँग बिहे गर्ने प्रदीपको योजना पनि फेसबुकबाटै थाहा पाइन् उनले । आफू प्रयोगमात्रै भएको घटनाले बिनु कानुनी कारबाहीमा जाने निर्णय गरिन्, कालीमाटी प्रहरीमा जबर्जस्ती करणी भएको जाहेरी दिइन् ।
त्यसपछि प्रदीपका परिवारको तर्फबाट धम्की दिन थालियो, ज्यान मार्नेसम्मको धम्की आयो ।
यसबीचमा प्रदीपको परिवारबाट शक्तिको चलखेल र पैसाको प्रलोभन देखाउने काम भइरह्यो, बलात्कार नभइ सहमतिमा भएको शारीरिक सम्पर्क हो भन्दै घटना मोड्न खोजियो तर बिनुले प्रमाणसहित केस दर्ता गराइन् ।
यसबीचमा बिनुको परिवारलाई प्रदीपको तर्फबाट धम्क्याउने र दुःख दिने काम निरन्तर चलिरह्यो, केस फिर्ता लिन बाध्य भइन् बिनु । अनेक उतारचढावका बीच २०७६ मंसिर २५ गते बिनु र प्रदीपको एकदमै सामान्य ढंगले भद्रकाली मन्दिरमा विवाह भयो ।
केहीदिन मन्थली बसेर बिनुलाई ठिमीकै घरमा राखियो । तर विवाह दर्ता गरिएन । दसैंमा एक्लै घर गएका प्रदीप नफर्किएपछि उनी आफैँ खोज्दै मन्थलीको बसपार्कस्थित प्रदीपले चलाउने होटलमा पुगिन् । प्रदीपसँग बिनु त्यहीँ बसेर होटलमै काम गर्न थालिन् स्नातकोत्तर सुरु गरेकी उनको पढाइ छुट्यो सँगै आमा र परिवारसँग सम्पर्क पनि टुट्यो ।
श्रीमान् श्रीमतीको सम्बन्ध विस्तारै राम्रो हुँदै गएको थियो । २०७६ पुसमा बिनु गर्भवती भएपछि परिवारकै दबाबमा दोस्रोपटक गर्भपतन गराइयो । तर विस्तारै बिनुलाई आफ्नै काका ससुरा पवन कठायतले यौन दुव्र्यवहार गर्न थाले ।
बिनुका अनुसार काकाससुराको परिवारले पनि दुर्व्यवहार गरे । यी सबै घटजनाबारे उनले प्रदीपलाई सुनाइन् तर प्रदीपले साथ दिनुको साटो उल्टै हेप्न थाले । प्रदीपले बिनुलाई आफ्नो घर लगेर राखे तर त्यहाँ पनि परिवारले दुर्व्यवहार गरेको आरोप छ ।
यसबीचमा बिनु तेस्रोपटक गर्भवती भइन् तर प्रदीपले उसैगरी गर्भपतन गराउन धम्की दिए । बिनुले मानिनन्– ससुराले ‘यो बच्चा जन्माइस् भने रोडमा गाडिदिन्छु’ ‘तँलाई तामाकोशीमा बगाइदिन्छु’ जस्ता धम्की दिए ।
उनलाई फेरि होटलमै फर्काइयो । प्रदीप नभएको मौका पारेर परिवारले बिनुको हातमा प्लास्टिकको डोरीले बाँधेर घाँटी थिचेर गर्भपतनकोे औषधि खुवाएको उनको दाबी छ । तीन महिनाको गर्भ फेरि पतन गराइयो । र, होटलमा बिनुलाई उसैगरी बन्धक बनाएर राखियो ।
यसबीचमा प्रदीप नभएको मौका पारेर पवनले बिनुलाई बलात्कार प्रयास गरे । त्यहाँबाट उद्दारका लागि एक दिन भागेर तामाकोशी अस्पताल पुगेकी बिनुलाई खोज्दै फेरि पवन आइपुगे र धम्क्याउँदै होटलमा पुर्याए ।
होटलमा पवनले बिनुलाई रड र लात्तीले हान्दै बेहोस् हुने अवस्थामा पु¥याएको र त्यसको डाम अझै आफ्नो शरीरमा रहेको उनी बताउँछिन् ।
यसैबीचमा बिनुले रामेछापका तत्कालीन डीएसपी वसन्त पाठकलाई म्यासेज पठाइन् ‘फलानोको बुहारी हुँ, मलाई यहाँबाट उद्दार गर्नुस्’ लेखेकी थिइन् तर डीएसपीले उल्टै प्रदीपको परिवारमा आएर त्योे म्यासेज देखाइदिए ।
अबभने बिनुको परिवारले छोरी खोज्न थाले । तामाकोशी अस्पतालमा उपचार गराएर आफूलाई जबर्जस्ती डिप्रेसन भएको कागज गराइएको बिनु बताउँछिन् । पछि काठमाडौं आएर पाटन मानसिक अस्पतालमा परीक्षण गराउँदा बिनुलाई कुनै मानसिक समस्या नभएको पुष्टि भयो ।
बिनुलाई अब थाहा भयो कि कठायत परिवारले विवाह गर्ने र जाहेरीको हदम्याद कटेपछि उनलाई केही पैसा दिएर घरबाट लखेट्ने योजना बनाएका रहेछन् । त्यसपछि भने प्रदीपले सम्बन्धविच्छेदको केस फाइल गरे ।
बिनुले पटकपटक मानसिक तनाव दिएको कारण देखाए, जिल्ला अदालत रामेछापमा नै मुद्दा अघि बढ्यो । फैसला प्रदीपकै पक्षमा आयो २०७९ वैशाख १९ गते अदालतले सम्बन्ध विच्छेद गराइदियो । त्यही दिन बिनुले इजलासमै बिष सेवन गरेकी थिइन् ।
तर बिनुले भने पत्रमा हस्ताक्षर गरेकी छैनन् न उनलाई सम्बन्ध बिच्छेद गर्नु नै छ । त्यसपछि भने बिनु काठमाडौंमा आएर उपचार गराउन थालिन् ठिक भएपछि फेरि उच्च अदालत पाटनमा जबर्जस्ती सम्बन्ध बिच्छेदको मुद्दा दायर गरिन् ।
अहिले उनको मुद्दा पाटनमै चलिरहेको छ, पटक पटक सारिएको पेशी उनी सत्याग्रह बसेपछि भने जेठ ९ गतेलाई राखिएको छ । उच्च अदालतले पटक–पटक मुद्दामाथि बेवास्ता गरेको भन्दै उनी माइतीघरमा आमरण अनसनमा छन् ।
श्रीमान् प्रदीप कठायतमाथि जबर्जस्ती करणी, इच्छाविपरीत सम्बन्धबिच्छेद, काका ससुराबाट पटक पटक बलत्कार प्रयाससँगै उनले पाँचवटा मुद्दा अघि सारेकी छिन् । बिनुको पाठेघरमा गम्भीर खालको संक्रमण देखिएको छ, सेतो पानी बग्ने दुख्ने भइरहन्छ औषधि खाउन्जेल ठिक फेरि उस्तै ।
“सायद अब म गर्भवती हुन पनि सक्दिन होला, मेरो स्वास्थ्य पनि बिग्रियो, करिअर पनि अब बाँकी जीवन चाहिँ बर्बाद बनाउन चाहन्न,” बिनु भन्छिन्,“म अंश वा पैसामा डिभोर्स गर्दिन कुनै हालतमा जुन परिवारले मलाइ खेदाउन यति दुःख दिए उनीहरुलाई दिनहुँ मेरो अनुहार हेर्ने बनाउँछु । जसले मलाइ यो हालतमा पु¥यायो मेरो स्याहार अब उसैले गर्नुपर्छ । म त्यही परिवारमा फर्किनु नै मेरा लागि जित हुनेछ ।”