५ जेठ, काठमाडौं । युथ स्पोर्ट्स क्लबको आयोजना जेठ २८ गतेदेखि सिन्धु कप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक युथ स्पोर्ट्स क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ २८ देखि असार २ गतेसम्म संचालन हुने जनाएको छ ।
सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिता सिन्धुपाल्चोकस्थित लामोसाँघुको वसन्तपुर खेल मैदानमा हुनेछ । जसमा ए डिभिजनका दुई टोलीसहित आठ टोलीको सहभागिता रहने छ ।
ए डिभिजनका दुई विभागीय टोली डिभिजनका त्रिभुवन आर्मी एफसी र एपीएफ क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड, झम्सिखेल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, आयोजक युथ स्पोर्ट्स क्लब, काभ्रे जिल्ला फुटबल एसोसियसन र दोलखा जिल्ला फुटबल एसोसियसनले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले ५-५ हजार पाउने छन् । नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक खेलको म्यान अफ दि म्याचले २ हजार पाउनेछन् ।