काठमाडौं । भक्तपुर इनाचोकी ७९ वर्षीय मोतीमाया बनमालालाई हिजोजस्तै लाग्छ, बुबाआमासँग खेतमा जाँदा फूल टिपेर ल्याएर घरघरमा दिएको । त्यसबेला दत्तात्रय, गोलमढी, टौमढीलगायत स्थानमा पुगेर पाँच वर्षकै उमेरदेखि फूल बेच्न जान्थिन् उनी ।
फूलबापत कसैले चामल दिन्थे त कसैले पैसा । ‘पैसा पाएको दिन त हाम्रो भुईंमा खुट्टै हुँदैन्थ्यो,’ फूलसँग चामल साट्न त्यसबेलाको चलनबारे उनी सुनाउँछिन् ।
भक्तपुरका नेवारभित्रका बनमाला समुदायको पुर्ख्यौली पेशा हो फूल बेच्ने । यसैबाट उनीहरुको घरव्यवहार चल्छ । तर आजभोलि यो फूल व्यवसायमा अन्य समुदायको प्रवेशपछि प्रतिस्पर्धा बढ्दा उनीहरुको रोजीरोटीमा भने समस्या देखिन थालेको छ ।
मोतीमाया हिजोआज वृद्ध उमेरमा पनि डोकोभरि फूल लिएर बजारमा बेच्न जान्छिन् । तर अहिले समय फेरिएको छ, फूल पाउनै सकस पर्छ ।
‘हामी आफ्नो खेतको र साथीहरुसँग मिलेर नगरकोट, नाला, सूर्यविनायकको जंगलसम्म पुगेर फूल टिप्न जान्थ्यौं । पहिला फूल आफूहरुले मात्र बेच्ने भएर होला फूल टिप्न कसैले रोकटोक गर्दैनथे,’ उनी भन्छिन्, ‘अहिले त कहिलेकाहीं चाहिएको बेला लिन गए पनि दिंदैनन् ।’
अहिले पनि बुढापाकाले उनीसँग नै फूल लिने गर्छन् । भोजभतेरको लागि फूल चाहेमा केही दिन पहिलेदेखि अर्डर लिने उनी बताउँछिन् ।
‘तर बजारमा पाइने रंगीचंगी फूलमा मान्छे लोभिएका छन्, हामीले सस्तोमा दिए पनि लान खोज्दैनन्,’ उनी दुःखेसो पोख्छिन् । पहिले पहिले फूल बेचेको पैसा बचाएर सुनको टप पनि किनेकी थिइन् उनले । तर अहिले फूल मात्रै बेचेर घर चलाउन नसकिने अवस्था आएको उनी सुनाउँछिन् ।
‘पहिलका मानिस दानपुण्यमा धेरै विश्वास गर्थे । सक्नेले आफूसँग भएको खानेकुरा वा सरसामान दान दिन्छन् भने नसक्नेले फूल भए पनि दान दिने गर्थे,’ उनी भन्छिन्, अहिले त्यस्तो अवस्था रहेन ।’
मोतीमायाको जस्तै दैनिकी छ तीर्थमाया बनमालाको । उनी अहिले भक्तपुरको साकोथामा बसेर फूल बेच्ने गर्छिन् । उनले पहिला आफूहरुले मात्र फूल बेच्ने तर अहिले सबैले फूल बेच्न थालेपछि व्यापारमा कमी आएको उनी सुनाउँछिन् ।
अहिले नगरपालिकाले दत्तात्रय र टौमढीमा फुटपाथमा पसल राख्न बन्देज गरेपछि उनी साकोठामा फूल बेच्न बसेकी छन् । तर फूल बेचेर मात्रै उनको गुजारा चल्न मुश्किल भएको छ ।
‘पहिलो बनमालाहरुले मात्रै फूल बेच्थे, अहिले सबैले बेच्न थालेपछि हाम्रो पेशा अप्ठ्यारोमा परेको छ,’ उनी भन्छिन् ।