काठमाण्डौ मै हुँदाको कुरा हो एउटा फार्मेसीमा काम गर्थे, भनौं न म त्यहाँको प्रमुख फर्मासिष्ट थिएँ ( मेरै लाइसेन्सको दर्तामा थियो फार्मेसी)! मैले हप्तामा ४ पटक नार्कोटिक्स (सामान्य भाषामा लागू औषधजन्य प्रयोजनकालागि दुरुपयोग हुन सक्ने) औषधिहरूको तथ्यांक एकिन गर्न गन्ने गर्थे।
डाक्टरको सिफारिसमा मात्रै त्यस्ता औषधि बिक्री गर्न पाइने हुँदा सिफारिस पनि अनिवार्य गरेको थिएँ र तथ्यांक राख्न छुट्टै फार्म पनि भराउने गर्थे। (म जानु अगाडि फर्म भरेर रेकर्ड राख्ने चलन थिएन त्यहाँ) एक दिन एक जना कर्मचारीले अर्को लाई "छिटो बिल गर न अहिले देख्यो भने ल्याङ गर्छ" भनेको सुने अनि के रहेछ त्यस्तो भनी हेर्दा एक बट्टा त्यही किसिमको नार्कोटिक्स औषधि घर जाने बेला लग्न लागेको देखें, प्रश्न गरे किन भनेर।
उसले सहजै उत्तर दियो आफू काम गर्ने अर्को अस्पताल लैजान भन्यो! मलाई शंखा लागेर अन्य प्रश्नहरू पनि गरे, उसले म्यानेजर लाई फोन गर्यो अनि म्यानेजरले मलाई लैजान दिनु भनेर आदेश दियो। मैले भोलि मलाई संबंधित अस्पतालको लेटरहेडमा माग फारम ल्याइदिनु भनेर उसलाई औषधि दिए।
अर्को दिन मैले सम्बन्धित अस्पतालको फार्मेसीमा सम्पर्क गरेँ, औषधि हिजो चाहिएको हो भनेर सोधेँ, वास्तवमा औषधि त त्यहीं उपलब्ध रहिछ, चाहिएकै रहेनछ। आश्चर्य त के भने मैले फोन गरेको केही बेरमा मलाई मेरै म्यानेजरले फोन गर्यो किन सोधेको त्यहाँ, उसले त्यहाँको लागि लागेकै हैन भन्दै। त्यती मात्रै हैन म फार्मेसी पुगेसी म्यानेजर त्यही कर्मचारीलाई लिएर आएर झगडा नै गर्यो।
मैले नार्कोटिक्स कन्ट्रोल गर्नु गल्ती थियो रे, मैले मात्रै फार्मेसी पढ्या जस्तो गरें रे, बेच्न राख्या हो बिक्री भए भई हाल्यो नि यस्ता यस्ता तर्क सुने। (म्यानेजर आफैं पनि विफार्मेसी गरेकै थियो।) अस्पतालले फार्मेसी ठेक्कामा दिएको थियो, नितान्त व्यापार गर्ने उद्देश्यले व्यापार चलिरहेको थियो, फार्मेसी के हो कसरी सञ्चालन गर्ने भन्दा पनि कसरी पैसा कमाउने प्रमुख ध्यान थियो।
जुनमा बोनस छ त्यही बेच्न लगाउने, क्वालिटी जे सुकै होस्, म्याद गुज्रदै गरेको १०/१५ दिन बाँकी रहेका त्यस्ता इन्जेकटेबल ल्याएर ( कटाउन लगाउने) बेच्न लगाउने! एक जना श्रेष्ठ र अर्को एक खड्का थरको सेयर होल्डर थियो, फार्मेसी चक्रपथ सँगै रहेको हुँदा धूलो अत्याधिक आउँथ्यो, औषधिलाई सुरक्षित राख्न अपनाउनु पर्ने सजकतहरु धेरै पढिएको थियो तर धूलो बाट बचाउन सिसा लगाऊ मात्रै के भन्या थिएँ "भाइ यो अमेरिका हैन, कसले किन्न आउँछ सिसा लगाएपछि, व्यापार घट्छ हुँदैन" रे।
एक पटक एउटा एन्टिबायोटिक औषधि त्यो इन्जेकटेबल १ किन्दा ३ ओटा आएको रहेछ, ४ ओटा कार्टुन खोलेर हेर्दा सबैमा कार्टुनमा कुनै न कुनै बोतलमा खिया नै लाग्या थियो, हेर्दै धेरै अघि म्याद गुज्रेको झैं देखिन्थ्यो, मैले सबै फिर्ता गर्दिए, अर्को दिन त त्यही खिया लागेको लागेको निकालेर ल्याएछन्।अझ एकपल्ट त सरकारी स्वास्थ्य संस्थामा निशुल्क वितरणका लागि लेखिएको जीवनजल मा निःशूल्क वितरणका लागि लेखेकोलाई कालो मार्कर ले कोरेर छोपेर ल्याएछन खड्काले । दुई तीन दिन सम्म आफैले आफैलाई प्रश्न गरिरहे! अनि अन्तत त्यहाँ काम छोड्ने निष्कर्षमा पुगें र छोडें।कति सम्म भने साहु मध्येका ती खाडकाले त मैले नयाँ जागिर पाएको अर्को ठाउँमा समेत गएर म बिरुद्द अनेक बनावटी गफ गरेर जागिर नै खान दिएनन्।
आज त्यस्तै एउटा फार्मेसी तोडफोड भएको भिडियो देखें,प्रहरीले केहीलाई पक्राउ गरेको पनि देखे तर समस्या समग्र पेशामा छ। आज जनताको आक्रोशले घटना घटेछ।सामान्य मानिस सँग आक्रोस व्यक्त गर्न बाहेक उपाय पनि छैन। यो घटना सम्पूर्ण फार्मेसी क्षत्रले गम्भीरता पूर्वक लिनु पर्छ। मैले काम गर्दा जहिल्यै डर लाग्थ्यो कुन दिन यस्तै प्रकृतिको घटना घट्छ होला भनेर, पूर्ण रुपमा व्यवस्थापन गर्न आफ्नो हातमा थिएन, जसको हातमा थियो त्यो नितान्त व्यापारी थियो।
अस्पताल फार्मेसी अस्पताल कै व्यवस्थापनले चलाउने अनिवार्य गरिनु पर्छ। फरमासिष्टको उपस्थिति अनिवार्य हुनु पर्छ ( कागजमा मात्रै हैन)। बाहिरी व्यक्तिको संलगता पूर्ण रूपमा सुन्यमा झार्न पर्छ।