काठमाडौं। चितवनको भरतपुर जंगलमा २७ वर्षीय रुपा न्यौपाने घिमिरेको शव फेला परेको छ।
कालिका नगरपालिका–४ पदमपुरकी रुपा पोर्चुगल जाने तयारी स्वरुप सपिङको लागि नारायणगढ बजार हिडेकी थिइन्। तर घर र बजारको बीचमा पर्ने भरतपुर महानगरपालिका–११ को टाइगर ताल नजिक जंगलमा उनी मृत भेटिइन्।
रुपालाई जंगलको रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीको भनाई छ। रुपाको परिवारका अनुसार शुक्रबार पदमपुर घरबाट नारायणगढ बजार जान हिडेकी उनको आइतबार झुण्डिएको अवस्थामा शव भेटिएको हो। रुपाका श्रीमान पोर्चुगलमै छन्। उनि पनि अर्को साता पोर्चुगल जाने तयारीमा थिइन् ।
उनका श्रीमान पोर्चुगलबाट आएर छ महिना बसेपछी रुपाको डकुमेण्ट मिलाएर फर्केका थिए। श्रीमान गएको दुई महिनापछि रुपा जाने तयारी स्वरुप उनी सपिङका लागि बजार हिँडेको बुझिएको छ।
एउटा इन्सुरेन्स कम्पनीको टाँडी शाखामा शाखा प्रमुखको रुपमा कार्यरत रहेकी रुपाले पोर्चुगल जानकै लागि इन्सुरेन्सको जागिर छाडेको बताएकी थिईन्। उनको हत्या वा आत्महत्या भन्नेबारे प्रहरी अनुसन्धान जारी छ।