शनिबार, मंसिर ८ गते २०८१

लाख कोसिस गरेर थाकें अनि अनशन बसें : सञ्जय गौतम

लाख कोसिस गरेर थाकें अनि अनशन बसें : सञ्जय गौतम

अखबार दैनिक
आइतबार, वैशाख ३१ २०८०
  • लाख कोसिस गरेर थाकें अनि अनशन बसें : सञ्जय गौतम

    ३१ वैशाख, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जय गौतम विकास निर्माणसँग सम्बन्धित विभिन्न १५ बुँदे माग राखेर शनिबारदेखि बर्दियामा आमरण अनशनमा बसेका छन् । सदन र सडकबाट माग पूरा गराउन पटक-पटक पहल गर्दा पनि सरकारले नसुनेपछि बाध्य भएर आमरण अनशन सुरु गर्नुपरेको उनी बताउँछन् ।

    images

    बबई नदीमाथि बनेको जब्दीघाटको भत्किएको पुलमुनि टेन्ट टाँगेर अनसन सुरु गरेका गौतम भन्छन्, ‘मेरा माग पूरा गराउन सक्दो पहल गरें तर सरकारले नसुनेपछि आमरण अनशन सुरु गरें । जनताको अकल्पनीय साथ पाएको छु ।’

    १७ वर्ष जिल्ला सभापति भएका, २०७० देखि लगातार तीनवटा चुनाव जितेर सांसद बनेका, सिँचाइ मन्त्रीसमेत बनेका गौतमको अनशनलाई कतिपयले ‘स्टन्ट’ भनेर आलोचना गरेका छन् । तर उनी भन्छन्, ‘आलोचनाको मतलब छैन, माग पूरा नभएसम्म आमरण अनशन जारी हुन्छ ।’

    गौतमसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश –

    तपाईं लगातार तीन पटक सांसद हुनुभयो, मन्त्री पनि हुनुभयो अहिले आमरण अनशनमा हुनुहुन्छ । यो बाटो किन रोज्नुभयो ?
    बबई नदीका कारण सदरमुकाम जोखिमपूर्ण अवस्था छ । जब्दीघाटको पुल भत्किएको सात वर्ष भइसक्यो । तपाईंहरुले पनि त्यसको समाचार लेख्नु भएको थियो । सात वर्षभयो न त्यसको स्पान कसैले हटाउँछ, न नयाँ पुल बनाउने तिर ध्यान दिन्छ । भत्किएको पुलको स्पानले नदीमा बाँधजस्तो बनेकाले वर्षाको बाढी बस्तीमा पस्छ । सदरमुकाम गुलरियालगायतका बस्तीमा डुबान हुन्छ । भत्किएको पुल हटाउ, नयाँ पुल बनाउ भनेर धेरै धाएँ तर सुनिएन । सुशील कोइराला प्रधानमन्त्री भएको बेला बाढी पीडितलाई राहत दिने भनिएको थियो । तर बर्दियावासीले अहिलेसम्म पाएनन् ।

    मेरो निर्वाचन क्षेत्रमा मध्यवर्ती क्षेत्र पनि पर्दछ । त्यहाँबाट आउने बाघले मान्छे मारेको छ । मान्छेलाई जोगाऔं भन्दा पनि सुनिएन । मूर्तिया नाका अहिलेसम्म सञ्चालनमा आएको छैन ।
    जिल्लामा यस्ता थुप्रै समस्याहरु छन् । ती सबै समस्या समाधानका लागि सरकारले सुन्दै सुनेन । मैले पहल गर्दागर्दै थाकें अनि बाध्य भएर अनशन सुरु गरें ।

    संसदमा पनि कुरा उठाउन सकिन्थ्यो नि ?
    मैले सदनदेखि सडकसम्म कोसिस गरें । संसदमा विशेष समय, शून्य समयमा कुरा राखें । नेता, मन्त्री, कर्मचारीलाई भेटेर पनि कुरा राखें । राज्य गम्भीर भएन भन्ने अनुभूति भयो मलाई । विपद्का कारण हाम्रो क्षेत्रका, बर्दिया जिल्लाका मानिसको जीवनशैली नै परिवर्तन हुनथाल्यो । मान्छे मर्न थाले…।

    बजेट निर्माणको बेला छ, नेताहरु आ-आफ्ना क्षेत्रमा योजनाहरू पार्न सिंहदरबार धाइरहेका छन् । तपाईंले पनि जिल्लाका योजनाहरुमा बजेट पार्न सक्नुहुन्थ्यो होला नि ?
    सक्नेजति पहल गरिएको छ । गर्न सक्ने जति गरिएको छ । मैले लाख कोसिस गरेकै हुँ तर सुनिएन । राज्यले सुन्दै सुनेन, बर्दियाका जनताको समस्या बुझ्नै सकेन, बुझ्नै चाहेन । नेताहरु पनि उस्तै भए ।

    नेताहरु भन्नाले तपाईंकै पार्टीका कि अरुका ?
    आफ्नै पार्टीकाले पनि । नेताहरु भन्दा पनि साथीहरु भनौं न । जो गर्न सक्ने ठाउँमा थिए, छन् उनीहरुले ।

    अरुले पनि तपाईंलाई त्यस्तै भन्छन् नि । गर्न सक्ने ठाउँमा थियो तर गरेन, अहिले अनशन बसेर स्टन्ट गर्न खोज्यो भन्छन् नि ?
    मान्छेले भन्न त कहाँ छोड्छन् र भन्नेलाई भन्न दिनुस् । कसले मविरुद्ध के भन्छ त्यो मलाई मतलब छैन । बर्दियाका जनताले विकास पाउन्, सुविधा पाउन्, जीउज्यान र सम्पत्तिको सुरक्षा पाउन् मलाई त्यही मात्र चाहिएको छ । त्यही पूरा गराउन म अनशन बसेको छु भन्ने कुरा धेरैले बुझेका छन् । मलाई जनसमर्थन छ । आम पब्लिकको अकल्पनीय साथ छ ।

    तपाईं सांसद, मन्त्री हुनुभयो । विकासका लागि पहल गरें पनि भन्नुभयो । पहल गर्दागर्दै पनि काम नहुनुको कारणचाहिँ के रहेछ ?
    हामी सबै आत्मरतीमा रमायौं । सत्ता केन्द्रित राजनीतिमा रमायौं । नीतिगत सुधारमा कसैको ध्यान पुगेन । संसदमा अभिव्यक्त भएका कुराहरु गम्भीरतापूर्वक लिनुपर्नेमा लिइएन । यिनै कारण हुन् जस्तो लाग्छ ।

    अन्त्यमा केही भन्नुहुन्छ ?
    माग पूरा नभएसम्म मेरो आमरण अनशन जारी रहन्छ । मैले राखेका मागमा नेपाल सरकार गम्भीर बनोस् । ती मागहरु पूरा गरोस् । बर्दियालाई, बर्दियाका जनतालाई अपहेलित नगरोस् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ