काठमाडौं । एसिया कपमा भारतले पाकिस्तान भ्रमण गर्न नमानेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले चार खेलमात्र आफ्नो देशमा गराउने प्रस्ताव गरेको छ । पाकिस्तानी समाचार संस्था क्रिकेट पाकिस्तानले खुलाएअनुसार भारत पाकिस्तानमा नआउने भएपछि गरिएको ‘हाइब्रिड’ मोडेलमा पनि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) सहमत नभएपछि पाकिस्तानले आफ्नो देशमा चार खेलमात्र गर्ने नयाँ प्रस्ताव गरेको हो । भारतले पाकिस्तानमा एसिया कप नहोस् भन्ने चाहँदा पाकिस्तान भने प्रतियोगिताको आयोजकमा आफ्नो नाम जोड्न चाहन्छ ।
एसिया कप क्रिकेट प्रतियोगिताबारे पछिल्लो समय हरेक दिन नयाँ घटनाक्रम सार्वजनिक भइरहेका छन् । भारत र पाकिस्तानबीचको राजनीतिक टकरावका कारण पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको ‘आयोजना स्थल सर्ने’ वा प्रतियोगिता नै ‘रद्द हुने’ चर्चाले हरेक दिन भारतीय र पाकिस्तानी सञ्चारमाध्यममा उच्च प्राथमिकता पाइरहेको छ । यसपटक नेपाल पनि एसिया कपमा छनोट भएकाले प्रतियोगितालाई लिएर आउने हरेक घटनाक्रम नेपाली क्रिकेटका लागि पनि उत्तिकै चासोको विषय बनेको छ ।
क्रिकेट पाकिस्तानले पीसीबी व्यवस्थापन कमिटिका प्रमुख नजाम सेठीले युनाइेट अरब इमिरेट्स (यूएई)मा भएको एसियन क्रिकेट काउन्सिल (एसीसी)को बैठकमा चार खेल पाकिस्तानमा गर्ने प्रस्ताव गरेको खुलाएको छ । जसमा एसिया कप खेल्ने भारतबाहेक, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपालले आफ्नो एक खेल पाकिस्तानमा खेल्ने र फाइनलसहित बाँकी सात खेल भने यूएईमा गराउने प्रस्ताव छ ।
सेप्टेम्बरमा गर्मी उच्च हुने हुँदा युनाइटेड अरब इमिरेट्स (यूएई)मा प्रतियोगिता सार्ने विषयमा अरू राष्ट्रले सहमति जनाएका छैनन् । प्रतियोगिता आयोजनाका लागि ओमानले पनि प्रस्ताव गरेको सार्वजनिक भएको छ । तर, ओमानमा पनि यूएईको जस्तै वातावरण रहेकाले भारतसँगै बंगलादेश र पाकिस्तान अरब मुलुकको यात्रा गर्न पनि तयार नभएको जनाइएको छ ।
यता, पाकिस्तानले भने सन् २०१८ को एसिया यूएईमा सेप्टेम्बरमै भएको र २०२० को इन्डियन प्रिमियर लिग (आईपीएल) पनि सेप्टेम्बरमै यूएईमा भएको तर्क प्रस्तुत गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलाएका छन् ।
किन पाकिस्तान एसिया कप आयोजना गर्न चाहन्छ ?
सन् १९९७ मा स्वतन्त्रता दिवसको अवसरमा चारदेशीय (विल्स गोल्डेन जुबिली) प्रतियोगिता आयोजना गरेको ११ वर्षपछि पाकिस्तानले सन् २००८ को एसिया कप आयोजन गर्यो । त्यसयता पाकिस्तानले कुनै पनि महत्वपूर्ण प्रतियोगिता आयोजना गर्न सकेको छैन । जसको प्रमुख कारण सुरक्षा बनेको छ । पाकिस्तानसँगै यस वरपरका मुश्लिम राष्ट्रलाई आधार बनाएर आतंकवादी गतिविधिलाई अघि बढाएको ‘अल कायदा’बाट बारम्बार हुने आत्मघाती आक्रमणसँगै अन्य हिंसात्मक गतिविधिका कारण पाकिस्तान विश्वसामू असुरक्षित देशको रूपमा परिचित थियो । यसैकारण पाकिस्तानले सन् २००२ को एसिया कप आयोजना गर्ने अवसरको सदुपयोग गर्न सकेन ।