बलिउडमा सय करोडलाई फिल्म सफलताको मानक मानिन्छ । ठूला सुपरस्टारका फिल्मलाई समेत यो अंक जोड्न हम्मेहम्मे पर्छ । २०२३ मा अहिलेसम्म तीनवटा फिल्म ‘पठान, ‘किसीका भाई किसीका जान’ र ‘तू झुठी मैं मक्कार’ले मात्र सय करोड कमाएका छन् । अक्षय कुमार, अक्षय देवगन, कात्तिक आर्यन जस्ता ठूला सुपरस्टारका फिल्मलाई समेत यो वर्ष सय करोड असम्भव बन्यो ।
तर, यतिबेला बिना ठूलो स्टारकास्ट सानो बजेटमा बनेको एक बलिउड फिल्म सय करोड कमाउने बाटोमा छ । त्यो हो, ‘द केरला स्टोरी’ । प्रदर्शन अगावै कथावस्तुलाई लिएर विरोध र विवाद भएको फिल्मले प्रदर्शनको ६ दिनमा मात्रै ६८ करोड ८६ लाखको कमाई गरेको छ । फिल्मको कमाईमा लगातार वृद्धि छ । बिना विदामा पनि फिल्मले १० करोडभन्दा कमको व्यापार गरेको छैन ।
८ करोड ३ लाखको ओपनिङ गरेको फिल्मले दोस्रो दिन ११ करोड २२ लाख, तेस्रो दिन १६ करोड ४० लाख, चौंथो दिन १० करोड ७ लाख, पाँचौं दिन ११ करोड १४ लाख र छैटौं दिन १२ करोडको कमाई गर्यो । फिल्मको ट्रेन्ड हेर्दा दोस्रो हप्ताको विकेन्डसम्ममा सय करोडको आँकडा नाघ्ने देखिन्छ । दर्शकबाट जबर्जस्त प्रतिक्रिया मिलेकाले फिल्मले बक्सअफिसमा लामो यात्रा गर्न सक्नेछ ।
फिल्मलाई भारतको पश्चिम बंगाल, तमिलनाडु राज्यमा ब्यान्ड गरिएको छ भने मध्य प्रदेश, उत्तर प्रदेश र हरियाणा राज्यमा ट्याक्स फ्रि गरिएको छ । सुदीप्तो सेनको निर्देशनमा तयार भएको फिल्मले फरक-फरक पृष्ठभूमिका तीन युवतीहरुको कथा उठाएको छ, जसलाई धर्म परिवर्तन गर्न लगाएर आतंकवादी संगठनमा जान बाध्य पारिन्छ । यो फिल्म सत्य घटनामा आधारित भएर बनेको हो ।