काठमाडौँ, वैशाख २७ । हल सञ्चालकहरूबाट राम्रो ‘सो’ नपाएपछि आफैँ प्रदर्शन गर्न ओर्लिएको चलचित्र ‘द सेक्रेट अफ राधा’ को टिमले बेला बेलामा विशेष प्रदर्शनी गर्दै आएको छ । गत भदौमा प्रदर्शन भएर पनि उल्लेखीय सो नपाएर अन्याय महसुस गरेको ‘बुसान चलचित्र महोत्सव’ बाट ‘स्टोरी ग्रान्ट’ अवार्ड प्राप्त चलचित्र राधाको टिमले हालै विशेष प्रदर्शनी गरेको छ ।
नेपाली परिवेशमा एक गर्भवती महिलाले श्रीमान्को पर्खाइमा भोग्नु परेको सङ्घर्षको कथालाई चलचित्रले समेटेको छ । कामको खोजीमा सहर पसेका श्रीमान्को प्रतीक्षामा रहेकी एउटी महिलाले गाउँलेहरूबाट खेप्नु परेको दुःख र श्रीमान्लाई खोज्न गरेको सङ्घर्षलाई चलचित्रमा उजागर गर्न खोजिएको छ । गर्भवती महिलाले आफ्ना बेपत्ता भएका श्रीमान्को खोजी गर्ने व्रmममा आउने उतारचढावलाई चलचित्रमा निकै मार्मिक ढङ्गले चित्रण गरिएको छ ।
चलचित्रको सुरुवात राधा (सृष्टि श्रेष्ठ) को दैनिकीबाट हुन्छ । राधाको श्रीमान् वासु (सौगात मल्ल) वैदेशिक रोजगारीमा जान गाउँबाट काठमाडौँतर्फ लाग्छन् र त्यहाँ पुगेपछि उनी परिवारसँग सम्पर्कविहीन हुन्छन् । उनी कहाँ, के गर्दैछन् भन्ने कुराबाट स्वयं उनकी श्रीमती राधासमेत अनभिज्ञ हुन्छिन् । यही हो चलचित्रको मुख्य पाटो जहाँ राधाले आफ्नो श्रीमान् खोज्नका लागि गरेको सङ्घर्षको कथा मिसिएको छ ।
राधाले गाउँमा बसेको समाज र आफ्नो सासूलाई वासु जिउँदै छन् भन्ने देखाउनका लागि गाउँमा नै क्यारिकेचर (अरूको आवाज हुबहु निकाल्ने) सुन्दर (खगेन्द्र लामिछाने) को सहयोग लिन्छिन् । त्यसपछि कथाले अनेकन मोड लिन्छ । सासूआमाको मृत्यु, कतारबाट वासुको म्यानपावरले पठाएको चिठी, ऋणको चपेटामा परेका वासु यी सबै कुरा चलचित्रको कथामा अनेकन तरिकाबाट मुछिएको छ ।
निर्देशक सुवर्ण थापाले एउटी साधारण गाउँले महिलाको निष्ठा र प्रेमलाई उत्कृष्ट रूपमा चलचित्रमा प्रस्तुत गर्नुभएको छ । जसमा नायिका सृष्टि श्रेष्ठ अब्बल देखिनुभएको छ । चलचित्रले सुरुदेखि अन्त्यसम्म दर्शकलाई बाँधेर राखेको छ । आँसुको भेलमा अगाडि बढेको चलचित्रको अन्तिम केही मिनेट मात्र संयोगान्त पाटोमा समापन हुन्छ । अहिलेका मसालेदार र ‘कमाउ’ नीति बोक्नेभन्दा यो चलचित्र केही फरक र अलग सोचका साथ निर्माण भएको देखिन्छ ।
नरेन्द्र मैनालीको छायाङ्कनले चलचित्रलाई अझ माथि उठाएको छ । चलचित्रमा राधाको भूमिकामा सृष्टिले न्याय गर्नुभएको छ । उहाँ गाउँले जीवनमा निकै जीवन्त रूपमा देखिनुभएको छ । नेपाली समाजमा रहेका समस्यालाई टपक्क टिपेर पस्कनु चानचुने कुरा होइन् । अन्य कलाकार सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राई, दयाहाङ राई र निश्चल बस्नेतको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन ।
बेरोजगारी, गरिबी र व्यवहारले थिचिएपछि महिलाले एक्लै गर्नुपर्ने सङ्घर्षका कुरा चलचित्रमा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । यदि चलचित्रले हलहरूमा राम्रो ‘सो’ पाएको भए अवश्य नै वाहवाही बटुल्थ्यो होला तर त्यसो हुन नसक्दा चलचित्र धेरै दर्शकको बीचमा जान पाएको छैन ।