काठमाडौं । मदन भण्डारी स्पोर्टस एकेडमीको रिङ रेस्लिङ विभागले जेठ १३ गते दोश्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्त राष्ट्रिय प्रतियोगिता सुर्खेतमा आयोजना गर्ने भएको छ । ७२ औं मदन जयन्तीको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले घोषणा गरेको विविध खेलकुदअन्तर्गत रेस्लिङको दोश्रो संस्करण सुर्खेतमा हुन लागेको नेपाल रिङ रेस्लिङ संघकी महासचिवसमेत रहेकी एकेडेमीकी केन्द्रीय उपमहासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । प्रतियोगितामा लाइट वेटतर्फ सिजे वल्र्ड र कम्व्याटको भिडन्त हुनेछ । यसका साथै महिलातर्फ तन्नु र आकृती भिड्ने छन् । ट्याग टिम भिडन्त टुप्पी ग्याङले सुजलको टिमसँग र एक्स हिरोसँग गर्नेछ । हार्डकोर भिडन्तमा चट्टान र स्पाइडरम्यान उपाधिका लागि रिङमा उत्रने छन् ।
यसैगरी लाइट वेटमा डेभिडले र साइनको सामना गर्नेछन् । नुवाकोटे टाइगर र किङ रोर्वोटबीच हेभीवेट भिडन्त हुनेछ । लाइट वेटतर्फको विजेताले ५० हजार, ट्याग टिम च्याम्पियनले ५० हजार, लेडिज वेट च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ७० हजार, हार्डकोर च्याम्पियनले ७५ हजार र हेभीवेट च्याम्पियनले १ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
उपमहासचिव श्रेष्ठले प्रतियोगिताले कर्णाली प्रदेशको आन्तरिक तथा बाह्य पर्यटनको विकाससँगै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको प्रचारप्रसारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।