म्याग्दी : मालिका गाउँपालिका वडा नं १ निस्कोट गाउँको सिरानमा रहेको बराह तालको जैविक विविधतामा ह्रास आउन थालेको छ।
गाउँको सिरानमा र जंगलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहोर हुँदैनथ्यो। यहाँ जंगलका पात पतिंगर परिहाले भने पनि पन्छीले चुच्चोले टिपेर बाहिर फ्याँक्ने गर्दथे।
तर पछिल्ला चार वर्षयता यहाँका रैथाने चरा देखिन छोडेका र ताल सफा गर्ने चरा पनि कम भएको स्थानीय टेकबहादुर पुनले बताए। यातायातका साधनको पहुँचसँगै मानिसको भीडभाड बढेपछि यहाँ पाइने चरा बसाइँ सरेको स्थानीयले बताएका छन्।
निस्कोट गाउँमा पुगेपछि घना वनजंगलको बिच भाग र केही मानव बस्ती रहेको ठाउँमा बराह तालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ। झण्डै दुई रोपनीको क्षेत्रफलमा फैलिएको बराह तालको जैविक विविधता संरक्षणमा स्थानीय तहको ध्यान जान आवश्यक रहेको तालको अवलोकनका लागि निस्कोट आएका पोखराका धनमणि अर्मजाले बताए।
रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराह तालमा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ। मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालको लर्कन देखिने निस्कोटको बराह तालमा पुगेका पर्यटक यहाँको प्राकृतिक सुन्दरता र जैविक विविधतामा रमाउने गर्छन्।
समुद्री सतहदेखि दुई हजार ३०० मिटरको उचाइमा अवस्थित बराह ताल र तालको आसपासबाट मनोरम हिमश्रृंखला देखिन्छ।
बराह ताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, माना पाथीलगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृश्यको प्रत्यक्षरुपमा अवलोकन गर्न सकिन्छ। बराह तालमा वन जंगल र हिमाल देखिने प्रतिविम्ब (छाया) समेत आकर्षकरूपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताए।
हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ। पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृश्यले त्यहाँ पुग्नेलाई अचम्मित बनाउँछ।
निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराह तालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो खिच्न जाने गरेका छन्। निस्कोट गाउँबाट आधा घण्टाको दूरीमा पर्ने बराह ताल स्थानीयका अनुसार झण्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ। वनको बिच भागमा ताल रहे पनि त्यसमा कुनै पातपतिंगर हुँदैन।
पातपतिंगर खसे चराले सफा गर्ने गरेको मालिका गाउँपालिका वडा नं १ का वडाअध्यक्ष टंकप्रसाद पुनले बताए। बराह तालमा बिहान सबेरै दुईवटा जलहाँस जलक्रिडा गर्न आउने गरेको स्थानीयवासीले अनुभव सुनाउँछन्। तर पछिल्लो समय ती जलहाँस देखिन छोडेको उनीहरू बताउँछन्।