डान्सको विषयमा फिल्म बनाउन लगानी, मिहिनेत र समय पर्याप्त चाहिन्छ । यसैले पनि हुनसक्छ, ७० वर्ष लामो नेपाली फिल्मको इतिहासमा डान्स ड्रामा प्राथमिकतामा परेन । बजारमुखी फिल्म मात्र बनिरहे र बनिरहेका छन् । परम्परागत कथावाचनको संरचना भत्काउने गरी बल्ल डान्स ड्रामामा फिल्म बनाउने कसैले साहसिक आँट गरेको छ । ती हुन्, निर्देशक रेनाशा वान्तवा राई राणा ।
आफैंमा कोरियोग्राफर भएकाले पनि उनले डान्स ड्रामामाथि चुनौती मोलेकी हुन् । यो फिल्मले बक्सअफिसमा राम्रो अंक जोड्न सकेको खण्डमा नेपाली फिल्ममा कथावाचनको नयाँ ट्रेन्ड सुरु हुन सक्नेछ । यही बिहीबारबाट प्रदर्शनमा आउन लागेको फिल्मको केन्द्रमा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ छन् । सफल डान्सर बन्न उनीहरुले गरेको संघर्षमा फिल्म आधारित छ ।
बुधबार साँझ काठमाडौंमा भएको प्रिमियरमा फिल्मले उठाएको विषय र त्यसमा कलाकारदेखि निर्देशकसम्मले गरेको मिहिनेतको सर्वाधिक प्रशंसा भयो । ‘महापुरुष’ फेम्ड निर्देशक प्रदीप भट्टराई फिल्मले उठाएको विषय नेपाली फिल्म इन्डस्ट्रीका लागि नै एकदमै नयाँ भएको मान्छन् । एउटै किसिमको कथावाचन शैलीलाई भत्काएर फिल्मले नयाँ बाटो खोलिदिएको प्रदीपको तर्क छ ।
उनले फिल्म हेरेपछि प्रतिक्रिया दिँदै भने, ‘डान्स यूनिर्भसमा पनि ड्रामा बुनिएको छ । फिल्म इन्डस्ट्रीका लागि यो एकदमै नयाँ चिज हो । बजारमा जे बिक्छ त्यही बनाउने होड छ । तर, रेनाशा राईले कसैले आँट गर्न नसकेको विषयमा फिल्म बनाउनुभएको छ । उहाँको आँटलाई म सलाम गर्छु । डान्स हेरेर मात्रै पनि दर्शकको पैसा वसुल हुन्छ । डान्सको कोरियोग्राफी पक्ष एकदमै राम्रो छ ।’
अभिनेत्री प्रियंका कार्की फिल्मले आँखालाई ‘फ्रेस टेस्ट’ दिएको बताउँछिन् । ‘नेपालमा पहिलो पटक डान्सलाई प्राथमिकता दिएर फिल्म बनेको छ । आँखाका लागि ‘फ्रेस टेस्ट’ हो । डान्समा गरिएको मिहिनेत राम्रो छ । रेनाशा राई आफैंमा राम्रो कोरियोग्राफर हुनुहुन्छ । नेपालका ‘टप’ डान्सरहरुलाई एकै ठाउँमा ल्याउन सफल हुनुभएको छ । मेरो आँखालाई आनन्द आयो,’ उनले भनिन् ।
अर्की अभिनेत्री शिल्पा मास्केले आफूलाई पनि डान्सप्रति रुचि भएकाले फिल्म ‘इन्टरटेनिङ’ लागेको बताइन् । ‘नेपालको पहिलो डान्स फिल्म हो । म आफैंले डान्स गर्ने भएर पनि फिल्म ‘इन्टरटेनिङ’ लाग्यो,’ उनले निर्देशक र कलाकारहरुको प्रशंसामा भनिन्, ‘जसिता र धिरजले नृत्यमा गरेको मिहिनेत देखिएको छ । रेनाशा दिदी राम्रो कोरियोग्राफर हुनुहुन्छ, फिल्ममा पनि त्यो देखिन्छ ।’
अभिनेत्री आना शर्माले फिल्म हेर्दा आफूले ‘इन्जोय’ गरेको प्रतिक्रिया जनाइन् । उनले भनिन्, ‘रेनाशा दिदीले एकदमै सुन्दर ढंगले कथालाई प्रस्तुत गर्नुभएको छ । धिरज र जसिताको त भूमिका र अभिनय दुवै सानदार छ । उनीहरुले नृत्यमा गरेको मिहिनेत देखिन्छ ।’ अर्की अभिनेत्री अञ्जना बराइलीले फिल्मको कथा र पात्रको भोगाइमा आफूले अपनत्व महसुस गरेको अनुभव सुनाइन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्म फरक फ्लेवरमा बनेको धारणा राख्दै रमाइलोसँगै सन्देशमुलक पनि रहेको बताए । उनी फिल्मको प्रशंसामा भन्छन्, ‘फिल्म हेर्दा निर्देशकदेखि कलाकारसम्मले कतिसम्म मिहिनेत गरेका थिए होलान् भनेर महसुस गर्न सकिन्छ । नयाँ विषयमा फिल्म बनाउनु आफैंमा ठूलो चुनौती हो । त्यो चुनौती रेनाशाले उठाएकी छन् ।’
प्रिमियरमा प्राप्त प्रतिक्रियाले उत्साहित र रोमाञ्चित देखिएकी निर्देशक राईले तीन वर्षको मिहिनेत सफल भएको भन्दै खुसी व्यक्त गरिन् । ‘प्रिमियमा जुन खालको प्रतिक्रिया मिल्यो, त्यसले हाम्रो मिहिनेत सफल भएको ठानेकी छु । बजारले अहिले जुन खालको फिल्म रुचाइरहेको छ, त्योभन्दा हाम्रो फिल्म भिन्न छ । तर, एकपटक हेरेपछि अरुलाई पनि हेर्न भन्नुहुनेछ,’ उनी विश्वस्त सुनिइन् ।
धिरज पनि प्रिमियरमा प्राप्त प्रतिक्रियाले दंग देखिन्थे । फिल्म हेर्दा आफैंले गरेको कति डान्स ‘स्टेप’ पत्यार नलागेको उनले सुनाए । उनले भने, ‘मैले फिल्मका लागि तीन वर्ष दिएँ । फिल्म हेरिरहँदा मैले यस्तो पनि गरेछु भनेर विश्वास लागिरहेको थिएन । हामीले गरेको मिहिनेत अहिले स्क्रिनमा देख्दा खुसी छु ।’ जसिताले पनि आफूहरुले गरेको मिहिनेतको प्रशंसा हुँदा हर्ष लागेको बताइन् ।