शनिबार, मंसिर १ गते २०८१

दरबारमार्गको द ब्ल्याक गोल्ड हलाल रेस्टुराँ, जहाँ सिंगै खसीको परिकार पाइन्छ

दरबारमार्गको द ब्ल्याक गोल्ड हलाल रेस्टुराँ, जहाँ सिंगै खसीको परिकार पाइन्छ

अखबार दैनिक
मंगलबार, वैशाख १९ २०८०
  • दरबारमार्गको द ब्ल्याक गोल्ड हलाल रेस्टुराँ, जहाँ सिंगै खसीको परिकार पाइन्छ
     

    काठमाडौँ । राजधानीमा मुस्लिम समुदायको ठूलो बसोबास छ । यो समुदायले मनाउने चाडबाडमा विशिष्ट परिकारहरू बनाइन्छन् । तिनको आफ्नै छुट्टै विशिष्ट पहिचान छ ।

    images

    राजधानीमा पाइलै पिच्छे बग्रेल्ती खुलेका रेस्टुराँहरूमा मुस्लिम समुदायका परिकारको मेनु भेट्टाउन मुस्किलै पर्छ । शत प्रतिशत हलाल रेस्टुराँ त खासै भेटिदैनन् ।

    अरेबियन परिकारका पारखीहरूलाई लक्षित गर्दै दरबारमार्गमा हलाल रेस्टुराँ खुलेको छ । एक करोड रुपैयाँको लगानीमा सर्टिफाइड् रेस्टुराँ खुलेको छ । मुस्लिम समुदाय, अरबबाट फर्किएका अरेबियन परिकारका पारखीहरूलाई लक्षित गर्दै यो रेस्टुराँ खुलेको हो ।

    राजधानीमा नेपालीहरू मात्र नभई मुस्लिम समुदायका विदेशीहरूको बसोबास छ । त्यो समुदायलाई लक्षित गर्दै खुलेको हलाल रेस्टुराँमा हलाल परिकारहरूको स्वाद लिन सकिनेछ ।

    कुनैबेला पोर्चुगिजले भारतको गोवामा शासन गरेका थिए । केरलामा पनि पोर्चुगिजले आक्रमण गरेका थिए । सुन्दा अचम्म लाग्न सक्छ । मरिचको विषयलाई लिएर उनीहरूले आक्रमण गरेका थिए । त्यहाँ युद्ध भयो । पोर्चुगिजका लागि मरिच कालो सुन बराबर हो ।

    खानाको परिकारका लागि महत्वपूर्ण पनि उत्तिकै मानिन्छ । उनै पोर्चुगिजबाट प्रभावित भएर द ब्ल्याक गोल्ड नाम राखिएको हो । यहाँका हरेकजसो परिकारमा मरिचको प्रयोग गरिएको पाइन्छ ।

    द ब्ल्याक गोल्ड म्यानेजमेण्ट टिमअन्तर्गतको प्रेस्टिजिओ होल्डिङ्सले सुरुवात गरेको द ब्ल्याक गोल्ड हलाल रेस्टुराँको सजावट पूरै अरेबिक शैलीको छ । फर्निचर, लाइट् पनि अरेबियन शैलीकै छन् ।

    अरेबिक सोफामा बसेर विभिन्न अरेबिक परिकारका साथै विशेष इन्डियन परिकारहरूको स्वाद लिने रहर द ब्ल्याक गोल्ड हलाल रेस्टुराँले पूरा गर्नेछ । करिब एक सयभन्दा बढी अरेबिक परिकारका साथमा इन्डियन परिकार रेस्टुराँको मेनुमा उपलब्ध छन् ।

    किङ्स लाउञ्जको ठ्याक्कै मुनी रहेको द ब्ल्याक गोल्ड हलाल रेस्टुराँ राजधानीको मुटुमा छ । यहाँ प्रवेश गर्ने बित्तिकै अरेबियन झझल्को आउँछ । चिटिक्क परेको रेस्टुराँमा सजाइएका सोफा छन् ।

    ठूलो स्पेशको मजलिसमा बसेर पारिवारिक वातावरणमा आनन्द लिन सकिने छ । अरेबियनहरू प्रायः सँगै बसेर खान्छन् । राइस र चिकेन आइटम उनीहरूको प्रिय परिकार हो ।

    यहाँ बस्नका लागि दुई वटा बेग्लै रुमको व्यवस्था छ । जहाँ समूहमा बसेर खानाका परिकारको स्वाद लिनुका साथै मिटिङ पनि गर्न सकिने छ । एउटा मिटिङ हलमा १४ र अर्कोमा १६ जना व्यक्ति बस्न मिल्ने सिट क्षमता छ ।

    यस्तै, अरेबिक सोफाले चिटिक्क पारिएको मजलिसमा एकैपटक १० जना बस्न सकिन्छ । क्याफेमा १२ जना व्यक्ति बस्न सक्नु हुन्छ । एकैपटक रेस्टुराँमा ५२ जना अटाउन सक्ने सिट क्षमता छ ।

    द ब्ल्याक गोल्ड हलाल रेस्टुराँको मेनु

    लाम्ओजी (एउटा सिंगै खसीको परिकार), बिरयानी, मटन सम्बोसे, चिकेन किब्बा, मोतब्बल, तबुल्ला, बताताहराका साथै अरेबिक कोल्ड मेजे, अरेबिक हट् ड्रिंक्स, अरेबियन टि, गावा, टर्किस कफी, अरेबिक फ्लेवरमा हुक्काको पनि स्वाद लिन सकिने छ ।

    यहाँ, साउदी अरब, कुवेत, कतारमा काम गरेका अनुभवी दुई जना इन्डियन सेफहरूले तयार पारेका साउदी अरेबियन, लेवनानी, सिरियन लगायत स्पेशल परिकार र फ्रेस जुस चाख्न सकिन्छ ।

    मटन मन्दी (अरेबिक मटन बिरयानी), अरेबिक खाप्सा, मिडल इस्ट मटन चंक, मटन सिस कवाव, सिस्ताउक, चिकेन मकबुस द ब्ल्याक गोल्ड हलाल रेस्टुराँका विशेष परिकार हुन् । यो विशुद्ध खानाका लागि खुलेको पारिवारिक रेस्टुराँ हो । पढ्नमा रुची हुनेहरूका लागि बेग्लै लाइब्रेरीको पनि सुविधा छ ।

    साउदी अरेयिबा लगायत विभिन्न गल्फ देशबाट फर्केका ११ जना नेपाली व्यवसायीहरूको समूहले सुरुवात गरेको द ब्ल्याक गोल्ड हलाल रेस्टुराँ होम डेलिभरीको सुविधा पनि प्रदान गर्नेछ । यो विशुद्ध पारिवारिक रेस्टुराँ हो ।

    रेस्टुराँले १८ जनालाई रोजगारी दिलाएको छ । रेस्टुराँको व्यवस्थापनमा फिरोज खान र क्रियटिभ डाइरेक्टर तथा अर्न्तराष्ट्रिय फोटोग्राफर अफ्जल खान खटिएका छन् ।

    ‘अरब मुलुकमा अनुमानित २० लाख नेपालीको संख्या छ । तर, स्वदेश फर्किएका नेपालीहरुले यहाँ अरेबिक खानाका परिकारका लागि रेस्टुराँ भेटाउँदैनन्,’ सञ्चालक मध्येका एक बालकृष्ण श्रेष्ठले भने, ‘यहाँ मुस्लिम संस्कार अनुसार हलाल मासुका परिकार चाख्न सक्नुहुन्छ ।’

    साउदी अरबमा रोजगारीका सिलसिलामा ५ वर्ष बसेर फर्किएका श्रेष्ठले विदेशमा बसेर फर्किएका नेपालीहरु रोजगारी दिने आफ्नो प्राथमिकता रहेको सुनाए । विदेशमा बस्दा सिकेको सीपलाई स्वदेश प्रयोग गर्नु आफ्नो उद्देश्य रहेको उनले सुनाए ।

    ‘रोजीरोटीकै लागि पटक पटक नेपालीहरु विदेश जान नपरोस् । सकेसम्म नेपालमै रोजगारीको अवसर सिर्जना गरौँ,’ श्रेष्ठले मेरो न्युजसँग भने, ‘नेपालीहरुलाई स्वदेशमै अधिकतम रोजगारी दिलाउने हाम्रो कम्पनीको उद्देश्य हो ।’

    द ब्ल्याक गोल्ड म्यानेजमेन्ट टिमअर्न्तगतको प्रेस्टिजिओ होल्डिङ्स दुई वर्षअगाडि स्थापना भएको हो । यसअर्न्तगत नयाँ बानेश्वरमा प्रेस्टिजिओ फुड्स् सञ्चालन भइरहेको छ ।

    यस्तै, जिञ्जर फुड् (क्लाउड किचेन) चण्डोलमा सञ्चालनमा छिटै नै आउँदै छ । द जिन्जर फुड्ले अनलाइनबाटै परिकारहरू डेलिभरी सेवा प्रदान गर्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार