नाइ छ नि कामले काम सिकाउँछ! दुई युवा व्यवसायी दिव्येश गिरी र सन्तोष पाण्डेको जीवनमा यस्तै भयो। कामले काम सिकायो। एउटा पेसाले अर्को पेसाको बाटो देखायो।
कोभिड महामारीले सबै क्षेत्र थला परेका बखत उनीहरूको चलिरहेको व्यवसायमा ताला लाग्यो। हरेश खाएनन्, अर्कोतिर होमिए। वर्ष दिनमा शुभलक्षण आयो। अपेक्षाअनुसार कारोबार भयो। दोस्रो वर्ष अनपेक्षित झैं कारोबार भयो। अहिले बढेको बढ्यै छ। दिव्येश र सन्तोष केक व्यवसाय गर्छन्।
'नेपाली समाजमा केक काटेर खुसी मनाउनु आमसंस्कृति झैं हुँदैछ। जन्मोत्सव, वार्षिकोत्सव, कुनै सफलता र यस्तै कुनै खुसीयालीमा केक काट्नु अनिवार्य जस्तै भएको छ,' उनीहरू भन्छन्। यही हुर्किँदो संस्कृति देखेर उनीहरूले सन् २०२१ जनवरीमा 'ओहो केक' नाम राखेर व्यवसाय सुरू गरेका थिए।
त्यो बेला कोरोना फैलिएर लकडाउन थियो। दिव्येश प्रविधि व्यवसायमा रमाइरहेका थिए। एक्कासि आर्थिक हिसाबले परिस्थिति असहज भयो। कुनै अर्को काम गर्न सकिन्छ कि भनेर उपाय सोच्दै थिए।
सन्तोष भने 'अफरिङ ह्याप्पिनेस' नामको व्यवसाय चलाउँथे। यसले व्यक्तिको योजनाअनुसार उपहार र सरप्राइज प्याकेज घरमै पुर्याउने काम गर्थ्यो। कोरोनामा उनको व्यवसाय पनि ठप्प भयो।
'साथीहरू काम नभएर घरै बस्नुपरेको थियो। सबैलाई अप्ठ्यारो परेका बेला केही नयाँ गरौं न त भनेर हामीले ओहो केक सुरू गर्यौं,' सन्तोषले भने, 'कोभिडमा पनि मानिसहरू घरभित्र पारिवारिक उत्सव मनाइरहेका थिए तर केक पाउन मुस्किल थियो।'
सन्तोषको अफरिङ ह्याप्पिनेसमा ठूलै टिम थिथो। सबै बेरोजगार भएका थिए। उनी सबै साथीलाई अघि बढाउन चाहन्थे।
सन्तोष र दिव्येशबीच सल्लाह भयो। छलफल गर्दै र बुझ्दै जाँदा उनीहरूले केक व्यवसायमा बलियो सम्भावना देखे। अनि यही काम गर्ने टुंगोमा पुगे।
'केकको बजार निकै ठूलो रहेछ तर उत्पादन निकै सानो रहेछ। ससाना बेकरीले मात्रै केक बनाउने रहेछन्। उनीहरूले पनि ठीक समयमा डेलिभरी गर्न नसक्ने,' सन्तोषले भने, 'मेहनत गर्दा राम्रो गर्न सकिन्छ भन्ने निष्कर्षका साथ हामीले काम सुरू गर्यौं।'
सुरूमा उनीहरूले आलोकनगरमा दुई वटा कोठा भाडामा लिएर काम थाले। त्यति बेला उनीहरूका केही साथीहरूले चलाएको क्लाउड किचनसहितको एउटा कम्पनी बन्द हुँदै थियो। त्यहाँबाट एक लाख रूपैयाँमा ओभन र केक बनाउने मेसिन किने। अरू केही सामान उधारोमा ल्याए।
यसरी जम्माजम्मी एक लाख रूपैयाँमा काम अघि बढ्यो। एक जना कुक र डेलिभरीमा एक जना सहयोगी राखे। सुरूआती दिनहरूमा दैनिक औसत २० वटा केक बनाएर बेचे। कारोबार पनि दैनिक सरदर २० हजार रूपैयाँ जतिको भयो।
अफरिङ ह्याप्पिनेस चलाउँदा बजारको प्रवृत्ति बुझेका सन्तोष केक व्यापार राम्रै हुनेमा ढुक्क थिए।
उनले भने, 'हामी अर्डर छिटो ल्याउन सक्छौं भन्ने थियो। गिफ्टिङमा पाँच वर्ष काम गरेको मेरो अनुभव थियो।'
नभन्दै हरेक दिन व्यापार बढ्दै गयो। महिना दिनसम्ममा दैनिक ३० वटा केकको अर्डर आउन थाल्यो।
वर्ष दिन पूरा हुँदा दिनमा ४५ वटा केकको माग हुन थालेको थियो। व्यवसाय सुरू गरेको साढे दुई वर्ष हुन बाँकी नै छ। हाल दैनिक सरदर १५० वटा केक बिक्री हुन्छ।
'केकमा नयाँनयाँ परीक्षण हुन सकेको थिएन। हामीले केही प्रयास गर्यौं। मिनी केक बनायौं। थुप्रै प्रकारमा गयौं। अरूभन्दा फरक दिने कोसिस गर्यौं,' दिव्येशले भने।
उनका अनुसार ओहो केक स्वादिलो छ। यसै कारण छोटो समयमा व्यापार फस्टाएको हो। बितेको एक वर्षमा चार करोड रूपैयाँको कारोबार भएको छ।
गुणस्तर र स्वादसँग तुलनात्मक रूपमा मूल्य सस्तो भएको सन्तोष बताउँछन्।
'कतिपयले महँगो मूल्यमा बिक्री गर्छन्। हामीले सबैले किन्न सक्ने मूल्य राखेका छौं,' उनले भने, 'हाम्रो केकको मूल्य सात–आठ सयबाटै सुरू हुन्छ।'
ओहो केक नियमित रूपमा बीसभन्दा बढी 'फ्लेभर' मा तयार हुन्छ। यीमध्ये चकलेट, ब्ल्याक फरेस्ट, ह्वाइट फरेस्ट र रेड भेलभेट सबभन्दा धेरै रूचाइएको उनले बताए। ब्लुबेरी लगायत थुप्रै फलफूलका र चीज केक पनि बन्छ।
यसको अर्को कारखाना बसुन्धरामा पनि खुलेको छ। यहाँ काम सुरू भएको एक महिनाभन्दा केही दिन बढी भयो। अलोकनगरको पनि पुरानो कोठाबाट फराकिलो ठाउँमा सरेको छ।
धेरै ठाउँमा सकेसम्म छिटो डेलिभरी दिने र व्यापार बढाउने उद्देश्यले नयाँ कारखाना सुरू गरेको सन्तोषले बताए। यी दुई कारखानामा अहिले ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। यीमध्ये धेरै जना वैदेशिक रोजगारीबाट फर्किएकाहरू छन्।
'देशमै केही गर्छु भनेर विदेशबाट फर्केका युवालाई प्रोत्साहन गर्न प्राथमिकता दिएका छौं,' दिव्येश भन्छन्, 'उनीहरूलाई केक बनाउने तालिम दिएर काममा राखेका हौं।'
दिव्येशका अनुसार ओहो केक आधुनिक प्रविधिमा आधारित छ। कारखाना क्लाउड बेकरीको शैलीमा चल्छ। ग्राहकले ओहो केक यसका सामाजिक सञ्जालहरू, वेबसाइट वा फोनमार्फत अर्डर गर्न सक्छन्। अर्डर आइसकेपछि डिजाइन निश्चित गरेर केक बनाउने काम हुन्छ।
जुन कारखानाको नजिकबाट अर्डर आएको हो, केक त्यहीँ बन्छ। केक बनेपछि कति समय फ्रिज गर्नुपर्छ भन्ने कुरा प्राविधिक प्रणालीले देखाउँछ। फ्रिज भइसकेपछि ग्राहकले खबर पाउँछन्। डेलिभरीका लागि कम्पनीका आफ्नै राइडर छन्। अन्य विभिन्न डेलिभरी कम्पनीहरूसँग पनि सहकार्य छ।
ओहो केकको डिजाइनमा विविधता छ। ग्राहकको मागअनुसार बुट्टेदार केक पनि तयार हुन्छ। सामान्य डिजाइनको केक सरदर आधा घन्टामै तयार हुन्छ। फरक डिजाइन वा बुट्टेदार चाहिए केही बढी समय लाग्छ। जुनसुकै डिजाइनको भए पनि तीन घन्टाभित्र तयार भइसक्ने दिव्येशले बताए।
'काठमाडौं उपत्यका माग बढ्दै गएको छ। मागअनुसार आपूर्ति गर्न सकेका छैनौं। अहिलेकै दरमा माग बढे कारखाना थप्नुपर्ने हुन्छ,' दिव्येशले भने।
कुनकुन ठाउँबाट केकको माग कति छ भन्ने हिसाब कम्पनीको एपले देखाउँछ। माग धेरै भएका ठाउँमा कारखाना विस्तार गर्ने योजना छ। केही वर्षमै वार्षिक १० करोड रूपैयाँको कारोबार गर्ने लक्ष्य लिएको उनीहरू बताउँछन्।
'केक व्यवसायमा थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिन्छ। धेरै युवाहरूलाई केक बनाउने तालिम दिएर आत्मनिर्भर बन्न प्रेरित गर्ने सोच हाम्रो हो,' ओहो केकका सञ्चालकद्वय भन्छन्।
फोन ०१-५९११३०६)