काठमाडौँ । भारोत्तोलक दीपक खड्काले हालै सम्पन्न इन्टरनेशनल स्ट्रेन्थ लिफ्टिङ् एण्ड इन्क्लान्ड बेन्च प्रेस च्याम्पियनसिपमा ६९ केजी तौलमाथि फिजिकल्ली च्यानेज्ड (शारीरिक अपाङ्गता) समूहमा उनले कांस्य पदक हासिल गरे । नेपाल सहित विभिन्न ८ देशका खेलाडी सम्मिलित खेलमा उनले काँस्य पद जिते पनि नेपालमा भने यो समूहलाई अहिलेसम्म मान्यता दिइएको छैन ।
‘पदक पाउँदा म निकै नै खुसी भएँ । यो नै मेरो पहिलो अन्तर्राष्ट्रिय खेल थियो भने पदक पनि पहिलो नै थियो । परिवार र साथीभाइले बधाई दिएका थिए त्यसले गर्दा म झनै खुसी थिएँ,’ उनले भने ।
किशोरावस्थामै दीपकले आफ्नो दाहिने खुट्टा दुर्घटनामा गुमाए । १५ वर्ष अघि १० कक्षामा अध्ययन गरिरहँदा दुर्घटनामा परेपछि उनको जीवनले अर्कै मोड लियो । साथीहरूको तुलनामा उनले एक वर्ष ढिला एसएलसी दिए । तर कहिल्यै पनि हिम्मत नहारी उनले अहिले स्नातकसम्मको अध्ययन गरेका छन् ।
दुर्घटना पछिको समय उनको लागि दुखद नै भए पनि त्यस समयमा उनको साथमा घर परिवार र साथीहरू सधैँ भइनै रहे । “सुरुवाती समयमा मलाई हिँड्न पनि गाह्रो हुन्थ्यो । वैशाखी र ह्विलचियरको सहायतामा हिँड्दा मलाई अप्ठेरो हुन्थ्यो तर मेरो परिवारका सदस्य र साथीहरूको साथ मैले सधैँ पाइरहेँ ।”
अपाङ्ग भएपछि सामाजिक तिरस्कार र हेयमा परिन्छ भन्ने डरमा रुमल्लिइरहेका दीपकको सहाराको रूपमा उनको बाल्यकालदेखिको साथी सन्दीप केसी सधैँ रहिरहेको स्मरण उनी गर्छन् । ‘स्कुल बेलादेखि कै साथी हो, सन्दीप । उसले मलाई सधैँ हौसला दिइरह्यो । उसले मलाई मोटिभेसनल भिडियो र स्टोरीहरू पढ्न लगायो जसमा म जस्तै अरू मान्छेहरूको कथा देखाइएको थियो यसले मलाई थप हौसला दियो ।’
दुर्घटनामा नपरेको भए सायद दीपक अहिले सेनामा भर्ती भएका हुन्थे । पिताको पदचापमा चल्न चाहेका उनी सानो बेलादेखि नै तयारी गरिरहेका थिए । तर दुर्घटना पछि उनको त्यो सपना सपना नै रह्यो ।
तर दीपकले त्यतिमै आफ्नो सपनालाई मर्न भने दिएनन् । साथी सन्दीपकै सुझावमा उनले जीम जान सुरु गरे जहाँ सन्दीप नै दीपकको ट्रेनरको रूपमा रहे ।
अहिले दीपकले जीम सुरु गरेको ७ वर्ष बढी भइसकेको छ । उनले आफ्नो लागि केही खर्च पनि जीमबाट नै निकालिरहेका छन् । मासिक ३० हजार रुपैयाँ जीममा ट्रेनरको रूपमा काम गरेर कमाइरहेका छन् ।
जीममा हुँदा अरूले जीम गरेको देख्दा उनलाई फरक अनुभव हुँदैन । अन्य मानिसले जस्तै उनी आफ्नो व्यायामहरू गर्छन् । डाइट पनि अरूको भन्दा फरक छैन । दैनिक करिब ६ घण्टा उनी जीममै हुन्छन् । दिउँसो अन्य कामको लागि बाहिर निस्कन्छन् ।
मार्चमा कांस्य पदक जितेपछि उनको खेल प्रतिको मोह थप बढेको छ । उनी ६ महिना पछि हुने यही किसिमको खेलको तयारीमा अहिल्यैदेखि लागिसकेका छन् । दुबईमा हुने उक्त खेलको लागि उनी अहिले स्पोन्सर पाइन्छ कि भन्ने आशामा छन् भने खेलमा स्वर्ण जित्ने लक्ष्य राखेका छन् ।
‘विदेशमा त मैले प्रतिस्पर्धा गर्दै आएको समूहलाई मान्यता दिइसकेको छ । वेटलिफ्टिङ्मा यसलाई छुट्टै विधाको रूपमा स्थापित गरिसकिएको छ । तर नेपालमा भने केही पनि भएको छैन । यदि सरकारले यो नयाँ विधाको सुरुवात गर्छ भने म जस्तै कतिपय नेपाली अघि बढ्न पाउँथेँ । उनीहरूले पनि आफ्नो प्रतिनिधित्वको महसुस गर्न पाउँथेँ,’ दीपक भन्छन् ।