शुक्रबार, कात्तिक ३० गते २०८१

अन्तरिक्षमा सुटिङ भएको रुसी फिल्म बक्स अफिसमा सुपरहिट

अन्तरिक्षमा सुटिङ भएको रुसी फिल्म बक्स अफिसमा सुपरहिट

अखबार दैनिक
बिहीबार , वैशाख १४ २०८०
  • अन्तरिक्षमा सुटिङ भएको रुसी फिल्म बक्स अफिसमा सुपरहिट

    एकजना व्यवसायिक फिल्म निर्माताले अन्तरिक्षसँग सम्बन्धित फिल्म निर्माण गर्नका लागि फिल्मको केही भाग साँच्चिकै अन्तरिक्षमै छायांकन गरे । विश्वमै अन्तरिक्षमा छायांकन भएको पहिलो फिचर फिल्म हो ‘The Challenge’ । अप्रिल २० मा रिलिज भएको रुसी फिल्मको रुसी भाषाको नाम ‘Vyzov’ हो ।

    images

    यो फिल्मले रिलिज भएसँगै बक्स अफिसमा तहल्का मच्चाएको छ । यो फिल्मको छायांकनका लागि सन् २०२१ को अक्टोबरमा फिल्म निर्देशक तथा अभिनेत्रीले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा गएर १२ दिन बिताएका थिए ।

    यो फिल्मलाई हालसम्म रुस तथा पूर्वसोभियत संघका अन्य मुलुकहरुमा गरी १४ लाखभन्दा धेरैले हेरिसकेको र साढे ४४ करोड रुबल अर्थात ५५ लाख डलर आम्दानी गरिसकेको बताइएको छ ।

    यो चलचित्रको कथा अनुसार छातीको शल्य चिकित्सकको भूमिकामा रहेकी अभिनेत्री युलिया पेरेसिल्डलाई एकजना बिरामी अन्तरिक्षयात्रीको उपचार गर्नका लागि आकस्मिक मिसनमा अन्तरिक्षमा पठाइन्छ । निर्देशक क्लिम शिपेन्कोले फिल्मको कथा लेखेका हुन् ।

    रुसको राजधानी मस्कोस्थित स्टेट क्रेमलिन प्यालेसमा कस्मोनटिक्स डे अर्थात १२ अप्रिलका दिन यो फिल्मको एक विशेष प्रदर्शन गरिएको थियो । जसमा फिल्मका निर्देशक तथा अन्य कलाकार र क्रू सदस्यहरु समेत सहभागी भएका थिए ।

    यो चलचित्रमा व्यवसायिक रुसी अन्तरिक्षयात्रीहरु एन्टोन शाकप्लेरेभ, ओलेग नोभित्स्की र प्योत्र डबरोभले पनि अभिनय गरेका छन् । नोभित्स्कीले बिमारी अन्तरिक्षयात्रीको भूमिका निर्वाह गरेका छन् ।

    यो फिल्म निर्माणमा लागेको लागतका बारेमा कुनै जानकारी हालसम्म सार्वजनिक भएको छैन । यद्यपि रुसी मिडियाहरुका अनुसार फिल्मको लागत कम्तिमा एक करोड १६ लाख डलर रहेको छ ।

    यो फिल्म मध्यपूर्वमा अप्रिल २७ मा रिलिज हुने तय भएको छ भने विश्वका अन्य देशहरुमा प्रदर्शन हुने बारेमा चाहिँ निर्णय नभैसकेको बताइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार