काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी एनएफपिजेले फोटो पत्रकारिता दिवस मनाएको हो । दिवसका अवसरमा फोटो पत्रकार उषा तितिक्क्षु र सगरमाथा आरोहीसमेत रहेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सो सम्मान तितिक्क्षु र श्रेष्ठलाई प्रदान गरेका हुन् ।
कार्यक्रममा केही फोटो पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो । त्यस्तै संस्थाले आफ्नो भित्तेपात्रो समेत सार्वजनिक गरेको छ। नेपालमा पहिलोपटक १९८४ वैशाख १३ गते गोरखापत्रले फोटोलाई समाचारका रुपमा प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइँदै आइएको छ । कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका निवर्तमान अध्यक्षहरु लगायत संस्थाका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।