बिकिनी किलर भनेर चिनिने चार्ल्स शोभबराज यसै वर्ष नेपालको जेलबाट बाहिरिए । युवतीका हत्यारा बन्नुको पछाडि चार्ल्सको अबोध बालापन नै थियो जसले उनलाई ९ देशमा ‘मोस्ट वान्टेड’ अपराधी बनाइदियो । चार्ल्सका पिताले कहिल्यै उनकी आमा र उनलाई अपनाएनन् । चार्ल्सकी आमा सधैँ रोइरहन्थिन् । डिप्रेशन र स–साना कुरामा रिसाउनु उनको स्वभाव बन्यो । यसले चार्ल्समाथि नकारात्मक असर पर्यो । बारम्बार पिटिनु, आमाको दोस्रो विवाह र एक्लोपनसँग जुध्दासमेत पढाई–लेखाईमा अब्बल भइरहेका चार्ल्सलाई पछि भने अपराधको दुनियाँ राम्रो लाग्न थाल्यो । जसले उनलाई चलाख अपराधी बनायो ।
चार्ल्स शोभराज त प्रतिनिधि पात्र हुन् । पछिल्ला समय यस्ता थुप्रै घटना घटित भइरहेका छन् जुन आमाबुवा बीच दैनिकको झगडा वा खराब सम्बन्धकै नतिजा हुन् । यसको बालबालिकाको दिमागमा गहिरो असर पर्छ र उनीहरुको व्यक्तित्व नै फेरिने गर्छ ।
‘पेरेन्टिङ फर ब्रेन’ मा छापिएको एक रिपोर्ट अनुसार बालबालिकाको हेरविचार गर्नु आमाबुवाको व्यक्तिगत जिम्मेवारी भएपनि उनीहरु बीचको खराब सम्बन्धले बच्चामा मात्रै नभई पुरा समाजमा असर पारिरहेको हुन्छ ।
आमाबुवा बीच विवादका कारण बालबालिकामाथि कुटपिट, बालबालिका बारम्बार रुनु वा उनीहरुलाई बेवास्ता गर्दा बच्चाको शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्छ । यस्तो माहौलमा हुर्किने केही बच्चा पछि गएर राम्रो आमा–बुवा बन्न सक्दैनन् ।
घरको ‘नर्क’ जस्तो माहौलबाट बच्चालाई कसरी जोगाउने ?
के नगर्ने ?
– बच्चाको अगाडि बहस, झगडा वा कुटपिट नगर्नुहोस्
– बच्चालाई गलत सन्देश दिने माध्यम नबनाउनुहोस्
– बच्चालाई अलमलमा पार्ने खालका प्रश्न नसोध्नुहोस्
के गर्ने ?
– बच्चालाई विश्वास दिलाउनुहोस् कि आमा–बुवाबीच कुनै झगडा हुँदैन
– बच्चालाई बताउनुहोस् कि आमाबुवाले समस्याको समाधान खोजिरहेका छन्
– बच्चालाई आपसी समस्याबारे भनिराख्नु पर्दैन
आपसी लडाईंमा बच्चालाई हतियार नबनाउनुहोस्
– झगडा बिर्सिएर बालबच्चासँग घुम्नुहोस्, उनीहरुलाई समय दिनुहोस्
– बच्चाहरुसँग खेल्नुहोस्, खुसी व्यक्त गर्नुहोस्
– बच्चाको कुरा ध्यान दिएर सुन्नुहोस्, उनीहरुलाई कस्तो महसुस भइरहेको छ बुझ्नुहोस्
– बच्चाको व्यवहारमा परिवर्तन देखिएको खण्डमा काउन्सलरसँग सल्लाह लिनुहोस्
स्रोत : राइजिङ चिल्ड्रन
आमाबुवाको खराब सम्बन्धको असर ६ महिनाको बच्चामा पनि
‘भेरीवेल फेमिली डट कम’ मा छापिएको एक रिपोर्ट अनुसार जुन आमा–बुवाबीच झगडा हुन्छ वा कुरा कुटपिटसम्म पुग्छ, उनीहरुका ६ महिनाको बच्चामा पनि यसको असर पर्छ ।
युनिभर्सिटी अफ ओरेगनको एक अनुसन्धान अनुसार ६ महिनाको बालबच्चाले पनि रिसको आवाज चिन्छन् । जर्नल साइकोलोजिकल साइन्समा छापिएको एक शोधमा बताइएन अनुसार बच्चा सुतिरहेका छन् भने पनि उनीहरुले यसरी झर्केको आवाज सुन्छन् । वास्तवमा, यतिबेला बच्चाको दिमाग विकसित भइरहेको हुन्छ र दिमागको लचिलोपनका कारण उनीहरुले आफ्नो आसपासको माहौललाई सुन्छन् र बुझ्छन् । घरमा यदि लगातार झगडा र कलहको माहौल हुन्छ भने यसले बच्चाको विकासमा नकारात्मक असर पर्छ । घरको माहौल राम्रो छ भने बच्चाहरु कतिपटक निद्रामा पनि हास्छन् र यदि खराब छ भने रुन्छन् वा भावुक हुन्छन् ।
आमाबुवाको झगडाको बच्चामाथि असर
– आमाबुवासँग खराब सम्बन्ध
– असुरक्षाको भावना
– आत्मविश्वासको कमी
– मानसिक विकास रोकिनु
– कुण्ठा बढ्नु
– स–सानो कुरामा रिसाउनु
– निर्णय दिने क्षमता घट्नु
स्रोत : वेरिवेल फेमिली डटकम
पढाई–लेखाईमा मन लाग्दैन, नतिजा खराब
सन् २०१२ मा ‘जर्नल चाइल्ड डेभलपमेन्ट’ मा छापिएको एक शोधका अनुसार बालबालिकामा किन्डरगार्टेनदेखि सात कक्षासम्म आमाबुवाको खराब वैवाहिक जीवनको बढी असर पर्छ । जो बच्चा लामो समयसम्म आमाबुवाको झगडा सुनेर हुर्किएका हुन्छन्, उनीहरुमा डिप्रेशन र चिडचिडापनको विकास हुन्छ । स–सानो कुराले पनि उनीहरुलाई समस्या दिने गर्छ ।
यस्तै, सन् २०१३ मा चाइल्ड डेभलपमेन्टमा छापिएको अर्को एउटा शोधमा बताइए अनुसार जब आमा–बुवा बीच दैनिक झगडा हुन्छ तब उनीहरु बच्चामाथि कम ध्यान दिन्छन्, न नै उनीहरुको भावना बुझ्छन् । घरको यस्तो माहौलले बच्चाको सोच्ने–बुझ्ने र तर्क गर्ने क्षमतामाथि नकारात्मक असर गर्छ । उनीहरु अरु बच्चाले झैँ समस्याको तीब्र समाधान गर्न सक्दैनन् र नयाँ जानकारी बुझ्न ढिलो गर्छन् । यस्ता बच्चाहरु पढ्न–लेख्न पनि मन गर्दैन । परीक्षामा उनीहरुको नम्बर पनि कम हुन्छ । कति बच्चा त स्कुलसमेत जान छोड्छन् ।
अमेरिकाका दुई समाजशास्त्री वेल्स र रेन्किनले ५० वटा अध्ययनको मेटा–विश्लेषण गरे र झगडा–कलह हुने घरका बालबालिकामा अन्य घरका बालबालिकाको तुलनामा १० देखि १५ प्रतिशत बढी आपराधिक प्रवृत्ति विकास हुने सम्भावना रहेको पत्ता लगाए ।
हुर्किँदै जाँदा आपराधिक सोच फस्टाउन थाल्छ
आमाबुवाबीचको झगडाले गर्दा बच्चा मिलनसार हुन सक्दैन । न त विद्यालयमा कुनै समस्या भए त्योसँग मिल्न सक्ने अवस्थामा हुन्छन् । बच्चामा दिनप्रतिदिन आक्रामकता बढ्दै जान्छ र धेरै गल्ती गर्छन् । थोरै हुर्किएपछि बच्चाले चोरी, कुटपिट र लागू पदार्थ सेवन जस्ता सानातिना अपराध गर्न थाल्छन् । उनीहरु धुम्रपान, मद्यपान र लागू पदार्थको लतमा फस्ने गर्छन् । पछि त्यही बानीले उनीहरुलाई ठूला अपराधतर्फ धकेल्छ । संसारको सबैभन्दा कुख्यात सिरियल किलरहरू मध्ये एक, जेफ्री डामरको कथा पनि त्यस्तै छ --
१७ युवकको निर्मम हत्या गर्ने सिरियल किलर
अमेरिकाका बासिन्दा जेफ्री डामरले युवकहरुको यौन शोषण गर्दथे र त्यसपछि उनीहरुको हत्या गरेर उनीहरुको मासु खान्थे । जेफ्रीले १८ वर्षको उमेरदेखि १९७८ देखि १९९१ सम्म १७ जना युवकको निर्ममतापूर्वक हत्या गरे । सन् १९९२ मा जेफरीलाई ३२ वर्षको उमेरमा सजाय सुनायो र २८ नोभेम्बर १९९४ मा एक कैदीले उनलाई जेलमा नै कुटीकुटी हत्या गरे ।
मनोवैज्ञानिकलाई विश्वास गर्ने हो भने जेफरी बाल्यकालदेखि यस्ता थिएनन् । उनकी आमा लोभी र झगडालु थिइन् जो जेफरीका पिता र छिमेकीसँग सधैँ झगडा गरिरहन्थिन् । उनका आमाबुवा बीच पनि कुटपिट हुन्थ्यो । आमाबुवाको कुटपिटपछि ४ वर्षको उमेरमा नै उनको डबल हर्नियाको शल्यक्रिया भयो । एक्लोपन, डिप्रेसन, रिस र आमाबुवाको प्रेम नपाएका कारण तेज दिमाग भएका र निकै हसिला जेफरीमा खतरनाक परिवर्तन देखियो । पछि गएर उनी निकै ठुला अपराधी भए ।
दिल्लीका पटियाला हाउस कोर्टका वकिल शिवाजी शुक्ला भन्छन्, ‘आमाबुवा आफ्नो खराब सम्बन्धको बीचमा बच्चालाई राख्ने गर्छन् । उनीहरु बच्चामाथि नै आफ्नो रिस पोख्ने गर्छन् । उनीहरुलाई कुट्छन् । यहाँसम्म कि बच्चा दुःखी हुँदा पनि उनीहरुको कुरा सुन्दैनन् । खराब माहौलका बीच बच्चाको पढाई–लेखाईमा ध्यान दिन छोड्छन् जसका कारण बालबालिकाको लालनपालनमा नकारात्मक असर पर्छ । उनीहरु डिप्रेसनमा समेत जाने गर्छन् ।’
फरिदाबाद हरियाणामा साइकोलोजिस्ट डा. सारिका सिंहले आमाबुवाको खराब सम्बन्धले बच्चाको मनमा घाउ बनाइदिने र यो निको हुन समय लाग्ने बताएकी छिन् । उनी भन्छन्, ‘बच्चा यति सुरो हुन्छन् कि उनीहरुमा अपराधी मनोवृत्ति बढ्न थाल्छ । हामीले यस्तो थुप्रै घटना देखेका छौँ, जहाँ बच्चा अपराधको दलदलमा फस्ने गर्छन् । उनीहरुको मानसिक फेर्न निकै मुश्किल हुन्छ । यस्तो परिस्थितिसँग गुज्रिने बालबालिका जे पनि हुनसक्छन् ।’
आमा–बुवाको खराब सम्बन्धमा फसेका बालबालिका
– चिन्तित हुनेछन्
– समय अगावै परिपक्व हुनेछन्
– मूक दर्शक बनिरहनेछन्
– असुरक्षित महसुस गर्नेछन्
– भावना लुकाउनेछन्
आपसी झगडा जतिसुकै किन नहोस्, त्यसको छायाँ सन्तानमा नपरोस् :-
डा. सारिका सिंह भन्छिन्, ‘जुभेनाइल होममा हेर्दा त्यहाँ अपराध गरेर आएका अधिकांश बालबालिकाको सुधार हुन नसकेर फेरि त्यही दलदलमा फसेका छन् । आमाबाबुको खराब दाम्पत्य जीवनले बच्चाको जीवनलाई पनि बर्बाद गर्छ ।’
त्यसैले आमाबाबुले जतिसुकै विवाद भए पनि बच्चामा त्यसको छायाँ पर्न दिनु हुँदैन । यसो नगरे तपाईंले समाजलाई एक सभ्य नागरिक नभई सम्भावित अपराधी दिइरहनुभएको छ जुन समाजका लागि खतरा बन्न सक्छन् । याद गर्नुहोस्, यसको वास्तविक अपराधी तपाईं हुनुहुनेछ, बच्चा होइन ।