काठमाडौँ । नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ । काठमाडौँस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाटले आयोजना गरेको एक कार्यक्रममा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोएल हिभोनेटले यो सालको फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी दिइन् ।
जोएलका अनुसार फिल्म महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा यही वैशाख १५ देखि १७ (अप्रिल २८–३०) सम्म चल्नेछ । महेन्द्रनगरपश्चात् दोस्रो चरणमा फेस्टिभल वैशाख २०, २१ र २२ गते (मे ३–५) मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ । फेस्टिभलको अन्तिम प्रर्दशनी काठमाडौंको चावहिलमा रहेको चलचित्र विकास बोर्डको हलमा वैशाख २९ देखि जेठ १ (१२–१५ मे) सम्म आयोजना हुनेछ । फेस्टिभलको यस संस्करणको मूल विषयवस्तु सबैका लागि मानव अधिकार उत्सव रहेको छ ।
सुदूरपश्चिम, मध्यपश्चिम र काठमाडौँमा आयोजना हुने महोत्सवमा युरोपका ख्यातिप्राप्त निर्देशकहरुले निर्देशन गरेका आठवटा फिल्मका साथसाथै नेपालका युवा फिल्म उत्पादकहरुले निर्माण गरेका छोटा फिल्महरु प्रदर्शन गरिनेछन् । महोत्सवकै दौरानमा युरोपियन युनियन नेपालले ‘मानवअधिकार प्रबद्र्धनमा फिल्मको भूमिका’ विषयक छलफल पनि आयोजना गर्नेछ । छलफलको सञ्चालन सञ्चार तथा मानवअधिकार विज्ञ प्रतिष्ठा कोइरालाले गर्नेछिन् ।
यस छलफलमा युरोपबाट चलचित्रकै विषयमा लेख्दै आएका स्टनिस्ल्यास इड सहभागी हुनेछन् । छलफलमा नेपालका चलचित्र निर्माता तथा निर्देशक अरुणदेव जोशी र फिल्म अध्ययनमा लामो अनुभव भएका डा. सचिन घिमिरे पनि सहभागी हुनेछन् । छलफल कार्यक्रम नेपाल चलचित्र विकास बोर्डको हलमा वैशाख ३० गते दिउँसो ३ देखि ४.३० सम्म सञ्चालन हुनेछ ।
अर्को छलफल ‘चलचित्रलाई कसरी बुझ्ने ?’ भन्ने विषयमा हुनेछ । यसको सञ्चालन चर्चित चलचित्र निर्माता तथा निर्देशक राजेश गोगजुले गर्नेछन् । गोगजु सन् २००० देखि चलचित्र निर्माण र शिक्षण पेशामा आवद्ध छन् र थुप्रै अवार्ड समेत प्राप्त गरेका छन् । यो छलफल सोही दिन अर्थात बैशाख १७ गते सुदूरपश्चिम विश्वविद्यालयको हलमा दिउँसो ११ देखि १२ बजेसम्म आयोजना हुनेछ ।