काठमाडौँ । काठमाडौँ उपत्यकाको वायुमण्डल एक साता यता धुम्मिएको छ । वायु प्रदूषण उच्च देखिएको भन्दै चिकित्सकहरूले स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् । नेपालका विभिन्न स्थानमा वायुको गुणस्तर सूचकाङ्क (एक्यूआई) मापन गर्दा बुधबार दिउँसोसम्म पनि निकै प्रदूषित थियो ।
बुधबार साँझ ६ बजेसम्म काठमाडौंमा एक्यूआई १७९ मापन गरिएको थियो । उक्त अङ्कले वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक तहमा रहेको देखाउँछ । कचौरा आकारमा रहेकाले भौगोलिक बनोटका आधारमा काठमाडौँ उपत्यका वायु प्रदूषणका दृष्टिले उच्च जोखिम छ ।
यसरी बेला बेला हुने उपत्यका सहितका क्षेत्रमा वायु प्रदूषणले स्वास्थ्य अल्पकालीन र दीर्घकालीन गम्भीर खालका असर पुर्याउने वीर अस्पतालका उपनिर्देशक तथा छातीरोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठ बताउँछन् । उनका अनुसार अहिले वीर अस्पतालको छाती विभागको सघन उपचार कक्षमा छाती रोगीहरू बढेका छन् ।
यस समयमा ओपिडीमा आएका दमका बिरामीले सेवन गरिरहेको औषधिको मात्रा बढाउनु परेको उनले बताए । उता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार वायु प्रदूषणका कारण विश्वमा एक वर्षमा करिब ७० लाख मानिसको ज्यान जाने गर्छ ।