काठमाडौँ । दर्जनौँ म्युजिक भिडियो अभिनय, सोही हाराहारी मिडिया अन्तर्वार्तामा छाउँदा पनि हिट नहुने थुप्रै व्यक्ति छन्, नेपाली कलाक्षेत्रमा । उनी भने एक म्युजिक भिडियोबाट रातारात चर्चित भएकी छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालको चारैतिर छाएकी छन् । सानादेखि ठुला मिडियासम्मले उनलाई फलो गर्न थालेका छन् । उनको अन्तर्वार्ता राखेर च्यानल हिट पार्ने र डलर झर्ने दाउमा युट्युबरसमेत पछि लागेका छन् । उनले अन्तर्वार्ता केमा दिने, केमा नदिने सोच्न सकेकी छैनन् । अन्तर्वार्ताका लागि आउने धेरै फोनलाई ‘अहिले बाहिर छु, पछि कुरा गर्छु नि’ भन्दै टार्नुपर्ने बाध्यता उनको छ । उनी अर्थात् कुशुम शर्मा (सकम्बरी– फूलमाया)
गीतको चर्चाको कारण शब्द, सङ्गीत र स्वरको अलवा भिडियोसमेत बनेको छ । सपुतकै निर्देशन रहेको भिडियोमा एउटी निर्दोष ‘सकम्बरी’ (फूलमाया) केटीलाई कसरी मानिसले नचाहँदा नचाहँदै गलत बाटोमा पुर्याइदिन्छन् भन्ने कथा बुनिएको छ ।
भिडियोमा सकम्बरी (फूलमाया)को भूमिका छिन् उनी (कुशुम) । आफू अहिले सकम्बरी फूलमाया परिचयले चिनिएकी उनी बताउँछिन् । ‘गीत सार्वजनिक भएदेखि नै मलाई सबैले सकम्बरी भनेर चर्चा गरिरहेका छन्’, उनले भनिन् ‘अहिले नाम ओझेलमा छ ।’ अभिनयबाट सकारात्मक प्रतिक्रिया आइरहेको उनी सुनाउँछिन् । थपिन्, ‘अभिनयको समय गीत यतिको हिट हुन्छ भनेर सोचेकै थिइन् । त्यो हिसाबले पनि बढी खुसी छु ।’
फेसबुकले दियो अवसर
कुशुमले म्युजिक भिडियोमा अभिनयको अवसर प्रकाशका भाइ सुनिलमार्फत हात पारेकी हुन् । सुनिल र उनी फेसबुक फ्रेन्डका रूपमा केही वर्ष अगाडि जोडिएका थिए । म्यासेन्जरमा कहिलेकाहिँ कुरा गर्थे । उनी फेसबुको स्टोरीमा आफ्नो भिडियो तथा फोटो अपलोड गरिरहन्छिन् । उनले अपलोड गरेको फोटो तथा भिडियोमा सुनिल लाइक कमेन्ट गर्थे । सुनिल दाइको यो गीतको भिडियोका लागि उपयुक्त पात्रको खोजीमा थिए । उनले फेसबुकमा पछिल्लो समय हालेको एक भिडियो सुनिलको नजर गयो । ‘सुनिलले भिडियोका क्यारेक्टर मिल्छ भन्दै अभिनय अफर गर्नुभयो,’ उनले भनिन्, ‘भेटेर भिडियोको स्क्रिप्ट हेरेँ, आफ्नो पर्सनालिटीसँग म्याच हुने देखेर अभिनय अफर स्वीकारेँ ।’
कहिल्यै भिडियो अभिनय नगरेकी उनलाई सुनिलको अफरले असहज महसुस पनि भएन । किनभने म्युजिक भिडियो अभिनय चान्स पाए केही गर्थें भन्ने उनका थियो । त्यसैले उनी अवसरको खोजीमा थिइन् । ‘अफर मिल्दा धेरै एक्साइटेट थिएँ । दायाँ बायाँ केही नसोची अभिनयमा होमिएँ’ उनले थपिन् ।
भिडियो सार्वजनिक भयो तर भिडियोका कारण परिवारबाट उनलाई सुरुमा टर्चर भयो । कस्तो भिडियो अभिनय गरेको, किन गरेको लगायत अनेक प्रश्न उनीमाथि बर्सिए । गीतको चर्चा र अभिनयको प्रशंसासँगै परिवारले अभिनय बिस्तारै स्वीकारेको पनि उनले सुनाइन् ।
‘जीवनमा पहिलो पटक भिडियो अभिनय गरेको थिएँ । त्यो नै हिट भयो’, उनले खुसी साटिन्, ‘सबैले भिडियोको ‘सकम्बरी–फूलमाया’ नामबाट चिन्नुहुन्छ । प्यारी सकम्बरी, सकम्बरीले मनै जिती भनेर प्रतिक्रिया दिनुहुन्छ ।’ अभिनयको सकारात्मक प्रतिक्रियाले साँच्चै नै राम्रो काम गरेँछु भन्ने लागेको उनले सुनाइन् ।