मंगलबार, असार २५ गते २०८२

भर्नासँगै हात–हातमा पाठ्यपुस्तक, कसरी सम्भव भयो ?

भर्नासँगै हात–हातमा पाठ्यपुस्तक, कसरी सम्भव भयो ?

अखबार दैनिक
सोमबार, वैशाख ४ २०८०
  • भर्नासँगै हात–हातमा पाठ्यपुस्तक, कसरी सम्भव भयो ?

    बझाङ ।  अघिल्लो शैक्षिक सत्रमा साइपालको धलौन माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको केही साताअघि मात्रै पाठ्यपुस्तक पुग्यो । विद्यार्थीले पुस्तक नपढेरै परीक्षा दिए । गत शैक्षिक सत्रमा पनि त्यो क्रम जारी रह्यो । पाठ्यपुस्तकको अभावले विद्यार्थीको सङ्ख्या पनि घट्यो ।भर्नासँगै हात–हातमा पाठ्यपुस्तक, कसरी सम्भव भयो ?

    images

    भर्ना सङ्ख्या र कक्षा हाजिरी हेर्दा विद्यार्थीको उपस्थिति निकै कम देखियो । जनप्रतिनिधिदेखि शिक्षाका सबै कर्मचारीले पाठ्यपुस्तककै अभावको कारण देखाए । माध्यमिक तहसम्मका विद्यार्थीले सोचेअनुरूप नतिजा पनि ल्याउन सकेनन् । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा पनि उत्तीर्णसम्म मात्रै आउन सक्ने अनुमान गरियो ।

    शिक्षक जीवन बोहराका अनुसार यस नयाँ वर्षमा भने पाठ्यपुस्तकका लागि सरकारले विद्यालयलाई ‘सरप्राइज’ दियो, पाठ्यपुस्तक । “राजधानीको जस्तै शैक्षिक सत्रको सुरूआतमै जिल्ला सदरमुकाम चैनपुरमा पाठ्यपुस्तक पुगेपछि शिक्षक विद्यार्थी उत्साहित नहुने कुरै भएन”, उनले भने, “अब राज्यले शिक्षा सुधारका लागि ठोस निर्णय गरेको देखियो । हाम्रो साइपालमा त इतिहासमै पहिलोपटक वैशाखको पहिलो सातामै पाठ्यपुस्तक पुग्दैछ ।”

    जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आठ स्थानीय तहका लागि आइतबार साँझसम्म पुस्तक पुगेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जयपृथ्वी, बुङ्गल, थलारा, छविस, मष्टा, सुर्मा, साइपाल, वित्थडचिर गाउँपालिकाका लागि पाठ्यपुस्तक सम्बन्धित पालिकामा पुगेको बताए । उनका अनुसार यो साताभित्र जिल्लाका सबै विद्यालयमा विद्यार्थीको हातहातमा पुस्तक पुगिसक्ने छन् ।

    गत माघ ३ गते शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालेकै दिन शैक्षिक गुणस्तरका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने बताए । उनले भनेका थिए, “लामो समयदेखि सार्वजनिक शिक्षा बलियो हुनुपर्छ भनेर आफैँ अभियानमा लागेको भएर पहिलो प्राथमिकता भनेको सिकाइ उपलब्धिलाई कसरी अगाडि बढाउने भन्ने चिन्तनबाट शिक्षा मन्त्रालयको नेतृत्व गर्छु ।”

    उनले तल्ला कक्षामा दरबन्दी समायोजन गर्नुपर्ने, विश्वविद्यालय सुधार गर्नुपर्ने, पाठ्यपुस्तक नपाउने समस्या निर्मूल पार्ने, शैक्षिक सत्र सुरु हुँदै पाठ्यपुस्तक हातमा पुर्‍याउने योजना सुनाएका थिए । उनको योजनासँगै मन्त्रालयले कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दियो । शैक्षिक सत्र २०८० का लागि देशभर कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्य सामग्री निजी क्षेत्रका मुद्रक तथा वितरकबाट छपाइ गरी बिक्री–वितरण गर्ने निर्णय गर्‍यो । 

    मन्त्रालयले यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक छपाइको जिम्मा निजीलाई दिएको थियो । जनक शिक्षा सामग्री केन्द्रले तयार पारेको प्रिन्ट रेडी कपी (पीआरसी) का आधारमा निजीले पाठ्यपुस्तक छापेसँगै देशभर एकैपटक पुस्तक पुगेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ