शुक्रबार, कात्तिक ३० गते २०८१

वर्ष २०७९ मा युट्युबमा धेरै हेरिएका १० गीत, शीर्ष स्थानमा ‘लजालु मायालु’ (सूचीसहित)

वर्ष २०७९ मा युट्युबमा धेरै हेरिएका १० गीत, शीर्ष स्थानमा ‘लजालु मायालु’ (सूचीसहित)

अखबार दैनिक
मंगलबार, चैत २८ २०७९
  • वर्ष २०७९ मा युट्युबमा धेरै हेरिएका १० गीत, शीर्ष स्थानमा ‘लजालु मायालु’ (सूचीसहित)

    काठमाडौं । उर्गेन दोङ र अनु चौधरीको स्वरमा रहेको ‘लजालु मायालु’ वर्ष २०७९ मा युट्युबमा सबैभन्दा धेरै हेरिने गीत बनेको छ । ६ महिनाअघि रिलिज भएको उर्गेन र वीरेन्द्र दोङले संगीत गरेको यो गीतलाई चार करोडभन्दा बढी पटक हेरिएको छ । गीत टिकटक लगायतका प्लेटफर्ममा समेत भाइरल बन्यो ।

    images

    वर्षमा धेरै सुनिने गीतको दोस्रो स्थानमा सन्तोष सुनारको छमक छमक रहेको छ । यो गीतलाई हालसम्म ३ करोड भन्दा बढी पटक हेरिएको छ । सज्जनराज वैद्यको गीत ‘धैर्य’ तेस्रो स्थानमा छ । यो गीतलाई दुई करोड १८ लाख भन्दा बढी पटक हेरिएको छ । २०७९ सालको वैशाख १ गतेदेखि चैत मसान्तसम्म रिलिज भएका गीतको युट्युब भ्युजको आधारमा तयार पारिएको सूचीको उत्कृष्ट १० भित्र मिश्रित जनराका गीत अटाएका छन् ।

    सूचीमा गीत, गायक-गायिका र भ्युज उल्लेख गरिएको छ :-
    १. लजालु मायालु (उर्गेन दोङ र अनु चौधरी) : ४ करोड
    २. छमक छमक (सन्तोष सुनार) : ३ करोड २ लाख
    ३. धैर्य (सज्जनराज वैद्य) : २ करोड १८ लाख
    ४. कालो चश्मा (डोल्मा ह्योल्मो) : २ करोड ६ लाख
    ५. सोल्टी बजार (शान्तिश्री परियार) : २ करोड
    ६. ए हो र माया (हिमाल सागर र अनु चौधरी) : १ करोड ९९ लाख
    ७. हाम्रो यो माया (उर्गेन दोङ) : १ करोड ८० लाख
    ८. दर्शन सलाम (छक्कापञ्जा ४- डेभिड शंकर र साहिमा श्रेष्ठ) : १ करोड ७२ लाख
    ९. मेरी चम्पा (ट‌क तिमिल्सिना) : १ करोड ६० लाख
    १०. छुनुमुनु छुनुमुनु (अञ्जु पन्त र आशिष अविरल ) : १ करोड ५२ लाख

    यीबाहेक यस वर्ष केही यस्ता गीत निकै चर्चित भए, जसले दर्शकमाझ चर्चा बटुले । तिलकसिंह पेलाको संगीत तथा स्वर रहेको गजल ‘के लत बस्यो’ले यस वर्ष सर्वाधिक चर्चा बटुल्यो । यो गजलले भाइरल हुने होडबीच संगीतको बेग्लै आनन्द, मिठास र गायकी प्र्रस्तुत गरेको थियो । यो गजल गीतले पेला स्वयंलाई रातारात स्टार बनाइदियो । सोमबारसम्म ‘के लत बस्यो’लाई ६४ लाख पटक हेरिएको छ ।

    यसैगरी छुनुमुनु (एलिना चौहान र एचबीएन किस्मत), केशरी (कबड्डी ४- एसडी योगी), जरुरी कुरा छ (सम्हालिन्छ कहिले मन- अञ्जु पन्त र सुरेश लामा), फूलैफूल दिन्छौ कि रिमेक (शिव परियार), फाटेको मन (पशुपति शर्मा), बाबरी रंग (बाबरी- अस्मिता अधिकारी र अनमोल गुरुङ), मन भुल्छ (प्रकाश दूतराज) लगायत गीतमा पनि उल्लेख्य भ्युज रहे पनि उत्कृष्ट १० भित्र अटाउन सकेनन् । फिल्म झिंगेदाउको गीत ‘आगो बिना बिंडी जल्दैन’ पनि यस वर्ष भाइरल हुने गीतमध्ये पर्छ । हरिवंश आचार्यको स्वरमा रहेको गीत ‘काउली’ पनि अहिले रुचाइएको मध्येको एक गीत हो । युट्युबबाहेक अर्को सांगीतिक प्लेटफर्म स्पटीफाइ पछिल्लो समय संगीतप्रेमी माझ निकै चर्चित छ । यो प्लेटफर्ममा पनि सज्जनराज वैद्य सबैभन्दा धेरै सुनिने गायकमध्ये पर्छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार