काठमाडौं । रणवीर कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’मा नेपाली अभिनेता विपिन कार्कीले अभिनय गर्ने खबरले निकै चर्चा पायो । यसका लागि उनी धेरैपटक काठमाडौं-मुम्बई आउजाउ पनि गरे । निर्देशक सन्दीप रेड्डी भांगाले उनलाई मुम्बईमा समेत बोलाए । अन्ततः विपिनले छायांकनबिनै प्रोजेक्ट छाड्नुपर्यो ।
तर ‘एनिमल’लाई लिएर नयाँ खबर छ । नेपाली अभिनेता टंक धमला यो फिल्मसँग जोडिएका छन् । अप्रिल १ देखि लण्डनमा छायांकन भइरहेको फिल्मको सेटमा धमलाले ज्वाइन गरेका छन् । फिल्ममा उनले बबी देओलको भाइको भूमिकामा अभिनय गरिरहेका छन् ।
‘एनिमल’को आधिकारिक आईएमडीबी पेजमा पनि कास्टको रुपमा धमलाको नाम उल्लेख गरिएको छ । धमलाले २०७६ सालमा रिलिज भएको नेपाली फिल्म ‘सरौतो’मा अभिनय गरेका छन् । यसबाहेक कर्म र डेन्जरियस गेम उनका अन्य फिल्महरु हुन् । ‘एनिमल’मा धमलाको भागको छायांकन बेलायतमा हुने भएको छ ।
लामो समयदेखि लण्डनमा बस्दै आएका धमलाले फिल्मबाहेक स्विस एयर, ब्रिटिस एयरवेज, कोक र केही नेपाल सरकारका विज्ञापनमा काम गरेको जनाइएको छ । ‘कबीर सिंह’ फेम्ड सन्दीप रेड्डी भांगाको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘एनिमल’मा रणवीरसहित रश्मिका मन्दाना, अनिल कपुर, बबी देओल लगायतको अभिनय छ ।