महोत्तरीको जलेश्वर नगरपालिका– २ का महादेव पासमान डाक्टर बन्न चाहन्थे। परिवारको आर्थिक अवस्था कमजोर भएकाले साथीहरूसँग किताब मागेरै उनले मेडिकल शिक्षाको इन्ट्रान्स तयारी गरे। कडा मेहेनत र लगनको प्रतिफल स्वरूप उनले एमबिबिएसको इन्ट्रान्स परीक्षामा फुल स्कलरसिप पाए। चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा उनले ८६.५ प्रतिशत अंक ल्याए।
एसइईमा ४ जिपिए, कक्षा ११ मा ३.७१ र कक्षा १२ मा ३.३० जिपिए ल्याएका महादेवलाई सुरुदेखि नै किताब कापी किन्न निक्कै सास्ती भोग्नुपर्थ्यो। बुबा बिकु पासमान स्थानीय राजनीतिमा सक्रिय छन्। राजनीतिमार्फत समाजसेवामा लागेका उनको आर्थिक अवस्था निकै कमजोर छ। श्रीमती देवलादेवीले गाईको दूध बेचेर घरव्यवहार र बालबच्चाको लालनपालन गर्दै आएकी छिन्।
महादेव तीन सन्तानमध्येका माइला हुन्। आर्थिक अवस्था दयनीय भएको पासमान परिवारलाई तीन सन्तानलाई पढाउन सहज थिएन। तर, महादेवको पढाइप्रतिको रुचि र लगावले उनको भने पढाइले निरन्तरता पाएको छ। आर्थिक अवस्था दयनीय भएकै कारण उनकी दिदीको विवाह भइसकेको छ भने उनी स्वयंले एसइईपछि कम शुल्कमा पढ्न पाइने आर्ट पढ्ने निधो गरेका थिए। महादेवलाई आफूले पढेको लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक संजीव झाले आफ्नै जिम्मेवारीमा राजर्शी जनक क्याम्पसमा साइन्स पढ्न पठाए। लगनशील भएकै कारण उनले त्यहाँ पनि स्कलरसिपमै पढे।
आमाबुवाको मेहनतले दुई छाक खान मुस्किलले पुग्ने महादेवको परिवारले छोरा डाक्टर बन्ने सोच्नु पनि अपत्यारिलो नै थियो। तर, महादेवले सापटी मागेकै किताब पढेर जलेश्वरमै परिवार र दलित समुदायको नाम उच्च गरिदिएका छन्। उनका बुबा विकु भन्छन्, ‘छोराले नाम उच्च गरिदियो। मैले समाजसेवा गरेर पैसा कमाउन नसके पनि आशिष कमाउन सकेँ। सायद त्यही आशिषको प्रतिफल आज छोराले सफलताको पथमा एक पाइला अघि बढ्न पाएको छ।’
डा. भगवान कोइरालाझैँ सफल कार्डियोलोजिस्ट बनेर आफ्नो क्षेत्रमा नाम कमाउने उनको चाहना छ। ‘काकाको मुटुमा प्वाल थियो। भल्ब खराब भयो र तीन वर्ष पहिले उनको मृत्यु भयो। काकालाई बचाउन सकिएन। मैले त्यही बेला सोचेँ– डाक्टर बन्छु,’ उनले भने। उनी कर्णाली एकेडेमी अफ हेल्थ साइन्स जुम्लामा भर्ना हुँदै छन्। चैत्र ३० गतेभित्र भर्ना भइसक्नुपर्ने भए पनि परिवारले त्यहाँ जाने खर्च कसरी जोहो गर्छन् भन्ने उनलाई चिन्ता छ। ‘एडमिसनपछि होस्टेल, मेस, प्राक्टिकल एक्जाम, किताब, उपकरणहरू र ल्यापटप आवश्यक हुन्छ। तर, यसको लागि पैसा छैन। मासिक १५ हजारभन्दा बढी खर्च हुन्छ। कहाँबाट ल्याउने थाहा छैन,’ उनी चिन्तित सुनिए।