काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको दान पेटिका २०७९ माघ १४ गते तीन घण्टा हराएको थियो । यो घटनाले भगवानको नाममा कति भ्रष्टाचार हुन्छ ? भन्ने प्रस्ट पारिदिएको छ ।
कडा सुरक्षा व्यवस्थाबिच हराएको दान पेटिका तीन घण्टापछि नाटकीय शैलीमा राखिएकै स्थानमा फिर्ता आयो । दान पेटिका हराएको घटनाले हङ्गामा मच्चिएपछि पशुपति क्षेत्र विकास कोषले छानबिन समिति गठन गर्यो । समितिले प्रतिवेदन बुझाइसकेको छ ।
सञ्चालक परिषद् सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा गठित छानबिन समितिले फागुन २१ गते कोषलाई प्रतिवेदन बुझाइसकेको छ । तर, कोषले भने प्रतिवेदन लुकाएर पशुपतिनाथ मन्दिरमा हुँदै आएको भ्रष्टाचार लुकाउने कोसिस गरिरहेको छ ।
छानबिन समितिको प्रतिवेदनअनुसार पशुपतिको दान पेटिका लुटमा दुई कर्मचारी मुख्य दोषी देखिन्छन् । प्रतिवेदनअनुसार कोषका निमित्त उपनिर्देशक तथा संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुली र कोषका प्रवक्तासमेत रहेका मानव संशाधान महाशाखाका तथा सार्वजनिक खरिद महाशाखाका निमित्त प्रमुख रेवती रमण अधिकारी दान पेटिका लुटका मुख्य नाइके हुन् ।
पराजुली र अधिकारीले दान पेटिका लुट जस्तो गम्भीर अपराधलाई लुकाउन सुरुदेखि नै प्रयत्न गरेका थिए । तर, पशुपति क्षेत्रमा दान पेटिका हराएको घटना फैलिएपछि छानबिन समिति गठन गर्नुपर्ने परिस्थिति आउँदा उनीहरू उक्त घटना लुकाउन असफल भएका थिए ।
पराजुली र अधिकारीले नमान्दा नमान्दै छानबिन समिति गठन भएपछि उनीहरूले समितिलाई छानबिनमा असहयोग गरेको समेत प्रतिवेदनमा उल्लेख छ ।
संस्कृति संरक्षण महाशाखाका प्रमुख पराजुली र मानव संसाधन विभागका निमित्त प्रमुख अधिकारीलले छानबिन समिति नै गठन नगरी उक्त घटनालाई गुपचुप राख्न खोजेको विषय समितिले तयार पारेको प्रतिवेदनले प्रस्ट पारेको छ । प्रतिवेदअनुसार उनीहरूले छानबिन समिति गठन गर्न नै अस्वीकार गरेका थिए ।
पराजुली र अधिकारीले छानबिन समिति अस्वीकार गरेकोबारे प्रतिवेदनमा भनिएको छ– ‘यस्तो गम्भीर घटना घटेपछि कोषका सदस्य–सचिवको अध्यक्षतामा सबेको बैठकमा उपस्थिति भएर पनि छानबिन समिति गठन गर्ने निर्णय भएको निर्णय पुस्तिकामा पराजुली र अधिकारीले हस्ताक्षर नगरेको घटनाले यस घटनामा उनीहरूको धारणा स्पष्ट हुन्छ ।’
घटनाबारे छानबिनका क्रममा पराजुली र अधिकारीले छानबिन समितिलाई जवाफ दिनसमेत इन्कार गरेको प्रतिवेदनमा उल्लेख छ । पराजुली र अधिकारीले छानबिन समितिलाई जवाफ दिन इन्कार गरेकोबारे प्रतिवेदनमा भनिएको छ– ‘छानबिन समितिको निर्णयअनुसार सोधपुछका लागि बोलाउँदा उपस्थित भएर २०७९।१०।१५ गते समितिको वैधतामा प्रश्न उठाउँदै प्रहरी अधिकृतहरू समितिमा बस्न हुँदैन, प्रश्न गर्न मिल्दैन र जवाफ पनि नदिने भनी बैठक कक्षबाट बाहिर निस्कनु नैतिक र कानुनी रूपमा अक्षम रहेको अवस्था रह्यो ।’
प्रहरीलाई छानबिन गर्न दिन मानेनन्
दान पेटिका हराएको घटना सार्वजनिक भएपछि दान पेटिकासँग सम्बन्ध राख्ने कर्मचारीलाई कारबाहीका लागि प्रहरी वृत्त गौशालामा उजुरी दिने कोषले तयारी गरेको थियो ।
छानबिन समितिका एक सदस्यका अनुसार कोषका सदस्य सचिव डा. मिलनकुमार थापा लगायतले प्रहरीमा उजुरी दिऊँ भनेका थिए । तर, पराजुली र अधिकारीले नै सदस्य सचिव थापालाई प्रहरीमा उजुरी दिन रोकेका थिए ।
ती सदस्यले भने– ‘घटना सार्वजनिक भएपछि सदस्य सचिव लगायतले प्रहरीमा उजुरी दिएर छानबिन गरौँ भनेका थिए । तर, पराजुली र अधिकारीले प्रहरीमा उजुरी दिन इन्कार गरे । यतैबाट छानबिन गरौँ भरेर उनीहरूले प्रहरीलाई उजुरी दिन रोकेका थिए ।’
प्रहरीलाई उजुरी दिँदा आफू समेत पक्राउ पर्ने सम्भावना बुझेका कारण उनीहरूले उजुरी दिन रोकेको हुनसक्ने ती सदस्य बताउँछन् ।
पराजुली र अधिकारीलाई कारबाही सिफारिस
समितिले निमित्त उपनिर्देशक तथा संस्कृति संरक्षण महाशाखाका प्रमुख पराजुलीले कर्मचारी नियमावली २०४५ को बर्खिलापमा काम गरेको भन्दै नियमावलीको नियम ३९ अनुसार कारबाही गर्न समितिले सिफारिस गरेको छ ।
प्रतिवेदनमा भनिएको छ– ‘कोषको कार्यहरू पारदर्शी, चुस्त–दुरुस्त राख्न अनुशासनलाई कठोर रूपमा कायम गर्दै दण्डहीनतालाई निरुत्साहित गर्न कर्मचारी नियमावली २०४५ को बर्खिलाप कार्य गरेको देखिँदा नियमावलीको नियम ३९ बमोजिम सजाय हुन र तत्काल सो स्थानको जिम्मेवारीबाट अन्यत्र लान सिफारिस गरिन्छ ।’
त्यसै गरी, सार्वजनिक खरिद महाशाखा र मानव संसाधन महाशाखाका निमित्त प्रमुख अधिकारीलाई कर्मचारी नियमावली २०४५ को नियम ३८ को (क) को १ अनुसार अभिलेखमा जानिने गरी कारबाही गर्न सिफारिस गरेको छ ।
प्रतिवेदनमा भनिएको छ– ‘सार्वजनिक खरिद महाशाखाको पनि निमित्त प्रमुख भई कार्य गरी आएको अवस्थामा मन्दिरलाई व्यवस्थित रूपमा सुरक्षित तवरमा राख्न संस्कृति संरक्षण महाशाखाबाट अनुरोध भई आएका खरिद लगायतका कार्य व्यवस्थित रूपमा गरेको नपाइँदा कर्मचारी नियमावली २०४५ को नियम ३८ को (क) को १ अनुसार अभिलेखमा जानिने गरी नसिहत दिन सिफारिस गरिन्छ ।’
कसरी लुटियो दान पेटिका ?
१. दान पेटिका राखिएको स्थानमा जडान गरिएको सिसिटिभी क्यामेराको तार काटेर दान पेटिका लुटियो ।
२. दान पेटिका राखिएको कोठाको ढोकामा ताल्चा लगाइए पनि तान्दा सहजै खुल्ने बनाएर दान पेटिका लुटियो ।
३. दान पेटिका राखिएको कोठामा छिर्ने गोप्य ढोका बनाएर दान पेटिका लुटियो ।
४. दान पेटिका राखिएको स्थानमा बत्ती जडान गरिएको भए पनि चिम फुटाइ अँध्यारो बनाएर दान पेटिका लुटियो ।
५. दान पेटिका राखिने कोठाको छेउमा रहेको गोप्य कोठालाई लगेर दान पेटिका लुट्न प्रयोग गरियो ।
छानबिन समितिको प्रतिवेदन अनुसार छानबिनका क्रममा सिसिटिभी क्यामेराको तार काटिएको भेटिएकाले दान पेटिका लुट्ने कार्यमा को–को संलग्न थिए भन्ने खुल्न सकेको छैन । तर, छानबिनकै क्रममा दान पेटिका राखिएको कोठाको छेउमा रहेको अँध्यारो कोठामा सिक्काहरू भेटिएका छन् ।
त्यति मात्र नभएर छानबिन समितिले दान पेटिका राखिएको कोठामा प्रवेश गर्ने छुट्टै भ¥याङ समेत भेटेको छ । उक्त भ¥याङ हुँदै पशुपतिनाथ मन्दिरको सुरक्षामा खटिने प्रहरी सुत्ने कोठामा पुग्न सकिने ती सदस्यले बताएका छन् ।
दान पेटिका राखिने कोठामा दुई लेयरको गेट रहेको छ । बाहिरी गेटमा रहेको ताला र ढोका सुरक्षित भेटिए पनि भित्री ढोकामा रहेको ताला तान्दा एकपटिको ढोका सहजै खुल्ने अवस्थामा भेटिएको बताइएको छ ।
किन पराजुली र अधिकारी लुटका मुख्य नाइके ?
संस्कृति संरक्षण महाशाखाले पशुपतिका सम्पूर्ण धार्मिक र अन्य सम्पदाहरूको अभिलेख राखेको हुन्छ । यस महाशाखालाई नै संरक्षणको जिम्मा हुन्छ ।
संरक्षण र हेरचाहमा खटिने कर्मचारीबारे पनि यो महाशाखालाई नै पूर्ण जानकारी हुन्छ । दान पेटिका कहाँ–कहाँ छ ? त्यसको संरक्षण कसरी भइरहेको छ ? कुन–कुन क्षेत्रमा कस्तो पूजा हुन्छ ? लगायतका धेरै कुरा यसै शाखालाई थाहा हुन्छ । र, यी सबै कुराको संरक्षण यो महाशाखाले नै गर्नुपर्छ ।
यसरी यहाँका सम्पूर्ण विवरण नै थाहा हुँदाहुँदै पनि दान पेटिका लुटिएका कारण यस महाशाखाको नेतृत्व पराजुलीसमेत मिलेमतोमा रहेको छानबिन समितिको ठहर हो ।
त्यसै गरी, मानव संसाधन र सार्वजनिक खरिदका निमित्त महाशाखासँग दुई महत्त्वपूर्ण जिम्मेवारी रहन्छ ।
यस महाशाखाले कुन जिम्मेवारीमा कुन कर्मचारी छन् ? भन्ने लेखाजोखा राख्छ । किनकि, कर्मचारीको खटनपटन यसै महाशाखाले राख्छ । सुरक्षाकर्मीको लेखाजोखा पनि यसै महाशाखाले गर्दै आएको हुन्छ । यस आधारमा कुन फाँटबाट कस्तो काम भइरहेको छ भन्ने पनि यसै महाशाखाको नेतृत्वलाई थाहा हुन्छ ।
यस्तो अवस्थामा संस्कृति संरक्षण महाशाखा र मानव संसाधन महाशाखाको नेतृत्वसँग मिलेमतो नरहेसम्म कसैले पनि केही गर्न सक्ने अवस्था रहँदैन । सिसिटिभी क्यामेराको तार काटिएको घटना मानव संसाधन महाशाखाको प्रमुखलाई तत्काल थाहा हुने कुरा हो । किनकि, उनैले हरेक दिन मोनिटरिङ गरिरहेका हुन्छन् ।