‘च्याउले उत्पादन नदिएको ४ महिना भयो, नयाँ नयाँ रोग र किरा देखिन्छ,’ उनले भने,‘खेती किसानी गर्छु भनेर डेढ करोड लगानी गरें, सेतीमा बगाएजस्तो भयो।’
पोखरा भएर बहने सेती नदी किनारमा स्थानीय राधाकृष्ण मन्दिर शान्ति आश्रमको १० रोपनी बढी जग्गा १० वर्षमा भाडामा लिएर पौडेलले २ वर्षअघि च्याउ खेती थालेका थिए। उनले अहिले १५ वटा टनेलमा खेती गरेका छन्। च्याउमा समस्या देखिएपछि थप टनेल बनाउने कि नबनाउने उनी अन्यौलमा छन्।
फोहोर फालिएको ठाउँ नजिकको जग्गामा च्याउ खेती गरिरहेका किसान मनोरञ्जन पौडेल।
फोहोरका कारण च्याउ खेतीमा समस्या देखिएको उनले पोखरा महानगरसहित विभिन्न संस्थालाई लिखित जानकारी दिइसके। पोखरा-३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, महानगरका मेयर धनराज आचार्यदेखि पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, च्याउ उत्पादक किसान संघ लगायतलाई फोहोरका कारण च्याउ खेतीमा देखिएका समस्या लिखित रूपमा जानकारी गराएको उनले बताए।
‘यहाँ फोहोर फालिएपछि च्याउ खेतीमा देखिएका समस्या लेखेर सबैलाई दिएको छु, अहिलेसम्म कसैले सुनेनन्,’ उनले भने, ‘अब निकासका लागि म कहाँ जाउँ, कसलाई सुनाउँ?’
महानगरले लामेआहालस्थित सेती नदी किनारमा फोहोर फाल्न थालेदेखि पौडेल मात्र होइन, स्थानीय ५ सय बढी घर परिवारलाई प्रत्यक्ष असर परेको छ। फोहोर फाल्ने ठाउँनिर राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय छ, जहाँ ३५ जना बालबालिका अध्यनरत छन्। यस्तै, सोही ठाउँमा निर्माण गरिएको वृद्धाश्रममा ५८ जना वृद्धवृद्धाले आश्रय लिएको स्थानीय नेत्रबहादुर क्षेत्रीले बताए। फोहोरको दुर्गन्ध गुरुकुल स्कुल, वृद्धाश्रम र ५ सय बढी परिवारमा फैलिएको क्षेत्रीले बताए।
‘लामे आहालमा बस्तीको बीचमै फोहोर फालिएको छ, सेती नदी वारि र पारि दुबैतर्फ बस्ती छ,’ उनले भने, ‘फोहोरको गन्धले खाना खाने बेलासमेत वाकवाकी आउँछ।’
यसअघि पोखरा महानगरले बाच्छेबडुवास्थित ल्याण्डफिल साइटमा फोहोर फाल्थ्यो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न उक्त ल्याण्डफिल साइटमा आउने चराले असर पार्ने भन्दै बाच्छेबडुवाको ल्याण्डफिल साइट बन्द गरेर पुस पहिलो सातादेखि लामे आहालमा फोहोर फाल्न थालिएको थियो। कुनै अध्ययन र योजनाबिना बस्तीको बीचबाट नदीमा फोहोर फालेको भन्दै स्थानीयले विरोध गरिरहेका छन्।
लामे आहालमा अस्थायी रूपमा फोहोर फाल्ने भनिए पनि महानगरले अहिलेसम्म अर्को ल्याण्डफिल साइट बनाएको छैन। पोखराको फोहोर व्यवस्थापन गर्न भन्दै महानगरका मेयर धनराज आचार्य नेपालका विभिन्न ठाउँमा अध्यन भ्रमणमा निस्किएका थिए। उनले नेपालमा मात्र नभई भारतको दिल्ली लगायतका शहरमा पुगेर ल्याण्डफिल साइटको अध्ययन गरेको बताएका थिए।
यसरी देश विदेश घुमेर ल्याण्डफिल साइट खोजी गरे पनि उनले बिनाअध्ययन लामे आहालमा बलजफ्ती फोहोर फालेको स्थानीयको आरोप छ।
‘फोहोर फाल्ने बेला स्थानीयलाई कुनै जानकारी दिएन, जबरजस्ती गरे,’ स्थानीय दीपक पौडेलले भने,‘सेती नदीमै फोहोर फाल्नुछ भने पृथ्वीचोककै पुलबाट फाले भयो नि, किन लामे आहाल पुर्याउनुपर्यो।’
फोहोर फालिएको ठाउँमाथि गएको पहिरो। जहाँबाट पानी पर्दा पृथ्वीराजमार्गको भल पानी बहेर सेती पुग्छ।
सेती नदी किनारमा गएको पहिरोमा फोहोर फालेर पुर्ने भन्दै महानगरले नदी किनारमा तारजाली लगाएको देखिन्छ। तर उक्त तारजाली बर्खाको बाढीले भत्काउने स्थानीय नेत्रबहादुर क्षेत्रीले बताए।
‘सेती किनारमा सानो तारजाली लगाएको छ, माथिबाट पहिरो गएको छ,’ उनले भने, ‘बर्खामा पहिरो र सेतीको बाढीले तारजाली बगाउँछ।’
महानगरको फोहोर बोक्ने गाडीले माथिबाट फालेको फोहोर सिधै सेती नदीमा पुग्ने गरेकोसमेत उनले बताए। पानी पर्दा पृथ्वी राजमार्गअन्तर्गत लामे आहाल खण्डमा बहने पानी पनि सोही पहिरोबाट सेती नदीमा पुग्ने भएकाले फोहोर पनि सेतीमा पुगेको क्षेत्रीको भनाइ छ।
‘अहिले नै माथिबाट फालेको फोहोर सेती नदीमा जान्छ, पानीको भेल आउँदा त झन् बगाएर लैजान्छ,’ उनले भने, ‘पोखराभरिको फोहोर हाम्रो बस्तीमा फालिएको छ, फोहोर र त्यसबाट निस्कने रसायन सिधै सेती नदीमा पुगेको छ।’
पोखराका मेयर धनराज आचार्यले अर्को व्यवस्था नभएसम्म सोही ठाउँमा फोहोर फाल्ने बताए। पोखरा-३३ मा ल्याण्डफिल साइट बनाउने निर्णय गरेको भन्दै उक्त स्थानमा प्रशोधन केन्द्र नबन्दासम्म लामेआहालमै फोहोर फालिने उनले बताए। तर अहिलेसम्म प्रशोधन केन्द्र बनाउनेतर्फ महानगरले कुनै पाइला चालेको छैन। छिट्टै प्रशोधन केन्द्र बनाउने जवाफ दिएका मेयर आचार्यले कहिलेसम्म बन्छ भन्न सकेनन्।
सेती नदीमा फोहोर फालिरहेको महानगरले फोहोरबाट उद्यम गरिरहेकाहरूलाई भने निषेध गरेको छ। फोहोर संकलन गरेर प्रशोधन गर्ने, पुन: प्रयोग गर्ने र कुहिने फोहोरबाट मल र ग्यास उत्पादन गर्नेहरूलाई महानगरले फोहोर संकलन गर्न निषेध गरेको छ।
पोखराको चाउथेस्थित अनुपम टोलमा केही वर्षअघि पुन: प्रयोग गर्न नमिल्ने प्लाष्टिक प्रयोग गरेर सय मिटर बाटो पिच गरियो। ग्रिन रोड वेष्ट म्यानेजमेन्ट कम्पनीले प्लाष्टिकबाट सडक पिच गरेको भन्दै देशभरबाट प्रशंसा कमाएको थियो।
कम्पनीले अहिले पनि सडक कालोपत्र गर्न पुन: प्रयोग गर्न नमिल्ने प्लाष्टिक प्रयोग गरेका छन्। सिमेन्ट उद्योगलाई आवश्यक इन्धन उत्पादन गर्न पनि उनीहरूले यस्तै प्रकारका प्लाष्टिक प्रयोग गरेको कम्पनीका सञ्चालक विमल बास्तोलाले बताए।
जथाभावी फालिने र पुन: प्रयोग पनि गर्न नमिल्ने प्लाष्टिक सदुपयोग गर्न उनीहरूले यस्तो विकल्प अपनाएका हुन्। तर कम्पनीले सजिलै पुन: प्रयोग गर्न नमिल्ने प्लाष्टिक पाउँदैनन्। पोखरा महानगरले उनीहरूलाई यस्ता प्लाष्टिक संकलन गर्ने अनुमतिसमेत दिएको छैन।
‘हामीले पोखराका केही स्कुल र समुदायसँग पुन: प्रयोग गर्न नमिल्ने प्लाष्टिक मागेर काम गरिरहेका छौं,’ कम्पनीका सञ्चालन बास्तोलाले भने, ‘पोखरा महानगरले पनि यस्ता विकल्पमा सोच्नुपर्छ।’
महानगरले फोहोर व्यवस्थापनको जिम्मा दिए पुरै पोखराभरिको फोहोर जिम्मा लिन सक्ने उनले बताए।
‘हामी एकै दिन २० टनसम्म प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्न सक्छौं,’ उनले भने, ‘यसबाट हामी सडक पिच गर्छौ, सिमेन्ट उद्योगलाई इन्धनका रूपमा बेच्न सक्छौं।’
पोखरा-१६ का स्थानीय युवाहरूले फोहोर व्यवस्थापन गर्न ‘ग्रिन भ्याली बहुउदेश्यीय सहकारी संस्था’ गठन गरेर काम गरिरहेका छन्। संस्थाले कुहिने फोहोरबाट शहर र वातावरण दुबैलाई ठूलो नोक्सान नपरे पनि नकुहिने फोहोरले प्रदुषण बढाएको र शहर कुरूप बनाएको भन्दै त्यस्ता फोहोर व्यवस्थापन गर्ने निर्णय गर्यो।
सेति नदि किनारामा थुप्रिएको फोहोर
तीन वर्षअघि सहकारी गठन गरेर युवाहरूले नकुहिने खालका सबै फोहोर संकलन गर्ने र रिसाइकल गर्न विभिन्न कम्पनीमा पठाउने गरिरहेको छ। उनीहरूले गरिरहेको फोहोर व्यवस्थापनका उक्त काममा पनि महानगरले भाँजो हालिरहेको सहकारीका अध्यक्ष प्रकाश आचार्यले बताए।
‘हामीले हाम्रो वडाको सबै फोहोरको जिम्मा हामी नै लिन्छौं भन्दा पनि महानगरले दिएन,’ उनले भने, ‘महानगरले फोहोर उठाउन ठेक्का दिएका कम्पनीले राम्रोसँग सफा गर्दैन, हामीलाई हाम्रो ठाउँ सफा राख्न पनि दिँदैन।’
फोहोरमैला व्यवस्थापनका विषयमा छलफल गर्न पोखराका मेयर धनराज आचार्यसँग पटक-पटक भेट्न खोजे पनि नपाएको आचार्यले बताए।
‘हामीलाई भेट्न मेयरले समय नै दिएनन्,’ उनले भने, ‘एक पटक भेट्न तीन बजे समय दिएका थिए, समयमै जाँदा उनी अफिस थिएनन्।’
महानगरले फोहोर व्यवस्थापन गर्ने जिम्मा दिए सहकारीमार्फत् कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने र नकुहिने फोहोर रिसाइकल गर्न पठाउने उनीहरूको योजना छ। यस्तै, अवस्था छ, गण्डकी उर्जाको पनि। गण्डकी उर्जाले कुहिने फोहोरबाट ग्यास र मल उत्पादन गरिरहेको छ। महानगरसँग फोहोर माग्दा नदिएको कम्पनीले जनाएको छ।
पोखरा महानगरबाट अहिले दैनिक १० देखि १२ हजार लिटर सेप्टिक ट्याङ्कीको फोहोर उत्सर्जन हुन्छ।
महानगरको सरसफाइ महाशाखाका अनुसार सेप्टिक ट्याङ्कीको फोहोर उठाउन भद्रकाली वेष्ट म्यानेजमेन्ट प्रालिले वार्षिक ४५ लाख रुपैयाँ महानगरलाई बुझाउने गरी ठेक्का लिएको छ। महानगरले प्रतिट्याङ्कर ५ हजार रुपैयाँमा सेप्टिक ट्याङ्कीको फोहोर उठाउन उक्त कम्पनीलाई जिम्मा दिएको छ।
फोहोर फाल्न गएको गाडी
कम्पनीले दैनिक १२ हजार लिटरसम्म सेप्टिक ट्याङ्कीको फोहोर जथाभावी खुला ठाउँमा फाल्ने गरेको छ। यस विषयमा पोखरा महानगरमा कतिपय उपभोक्ताले गुनासोसमेत गरेका छन्।
तत्कालका लागि सेप्टिक ट्याङ्कीको फोहोर फाल्ने ठाउँ नतोकेको महानगरका सरसफाइ शाखा प्रमुख कल्पना बरालले बताइन्।
महानगरले प्रतिट्याङ्कर ५ हजार रुपैयाँ तोके पनि ठेकेदार कम्पनीले १५ हजारसम्म उठाइरहेको उपभोक्ताको गुनासो छ। महानगरले तोकेकोभन्दा दोब्बर मूल्य तिर्दा पनि कम्पनीले जथाभावी फोहोर फालेको उपभोक्ताले बताएका छन्। यस विषयमा उपभोक्ताले महानगरमा बेनामी निवेदनसमेत दिएका थिए। यस विषयमा कुनै सुनुवाइ नभएको पोखरा-१४ का एक उपभोक्ताले बताए।
सेप्टिक ट्याङ्कीको फोहोर जथाभावी फाल्नुभन्दा आफूहरूलाई दिन पोखराकै गण्डकी उर्जाले माग गरिरहेको छ। तर अहिलेसम्म नदिएको कम्पनीले जनाएको छ।
पोखरा महानगरको फोहोर संकलन गर्न ठेक्का लिएका विभिन्न ८ वटा कम्पनीको म्याद २०७५ सालमै सकिएको छ। महानगरले उनै कम्पनीलाई म्याद थप्दै फोहोर उठाउन लगाएको छ। फोहोरबाट उद्यम गर्नेलाई नदिएको महानगरले यी कम्पनीहरूबाट वार्षिक २ करोड २५ लाख रुपैयाँ राजश्व संकलन गर्छ।
फोहोरबाट उद्यमशीलता गर्न खोजेका युवाहरूले पनि महानगरलाई कर तिरेर नै संकलन गर्न चाहेको बताइरहेका छन्।