यही चैत २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद २’का निर्माता सुभाष थापाविरुद्ध यस फिल्मका पूर्व निर्माता केशव पाण्डेले प्रहरीमा चेक बाउन्स र ठगीको उजुरीसँगै केन्द्रीय चलचित्र जाँच समितिमा सेन्सर रोक्न निवेदन दिएपछि फिल्मको प्रदर्शन नै अन्योल बनेको अवस्था छ ।
प्रदर्शनका लागि अब तीन दिन मात्र बाँकी रहँदा फिल्मको प्रचारको काम समेत हुन सकेको छैन । यसबीच, सुभाष थापाले फिल्म प्रदर्शन भएपछि तिर्नुपर्नेलाई पैसा तिर्ने वाचा गरेका छन् । सोमबार थापाले फेसबुकमा लेखेका छन्, ‘मैले माघमै रिलिज गर्ने तयारीको कारण तिर्नुपर्ने रकम माघपछिको भाखामा तिर्ने वचनबद्धता प्रकट गरेँ । तर, समयमा रिलिज हुन नसक्दा वचनबद्धतामा म चुकेँ । तथापि, अब रिलिजको सम्पूर्ण तयारीमा रहेको हुँदा सबैले सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।’
आफ्नो नियत खराब नभएको बताउँदै उनले नियतिको कारण वचन पूरा गर्न नसकेको बताएका छन् । ‘फिल्म रिलिज भएपछि सबै रकम पहिला तिर्नुपर्नेलाई तिरेर मात्र म आफ्नो भागको रकम लिनेछु । हलबाट आउने रकम फिल्मसँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीँबाट तिर्नुपर्नेलाई दिएर बाँकी रहेको रकम मलाई बुझाउने गरी गरेमा मेरो मन्जुरी छ,’ सुभाष लेख्छन् ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् । चलचित्रको कथा सुशिल पौडेलले लेखेका हुन् । राजेश श्रेष्ठको छायांकन रहेको ‘प्रसाद २’मा विक्रम स्वारको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको शब्द रचना तथा संगीत छ ।