आइतबार, मंसिर ९ गते २०८१

‘प्रेमा’सहित हलमा सात फिल्म

‘प्रेमा’सहित हलमा सात फिल्म

अखबार दैनिक
आइतबार, चैत १९ २०७९
  • ‘प्रेमा’सहित हलमा सात फिल्म

    गत फागुन १९ गते प्रदर्शनमा आएको दुई फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’पछि नेपाली हलमा स्वदेशी फिल्म प्रदर्शनमा आएका थिएनन् । यसको एउटा कारण ‘छक्का पञ्जा ४’को डर पनि थियो । यो फिल्मको चार हप्तासम्मको व्यापार अंक हेर्दा अन्य फिल्मले प्रदर्शनका लागि डर मान्नु स्वभाविक पनि देखिन्छ । अब भने हलमा शुक्रबारबाट नयाँ नेपाली फिल्म ‘प्रेमा’ प्रदर्शनमा आएको छ ।

    images

    बुधबार काठमाडौंमा भएको प्रिमियरमा सुखद प्रतिक्रिया प्राप्त गरेको फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । धनगडीबाट काठमाडौं आएकी प्रेमा (शुभेक्क्षा खड्का) र काठमाडौं रैनाथे आकाश (अरुण क्षेत्री)बीचको प्रेम, विछोड र मिलनमा फिल्मले २ घन्टा फन्को पारेको छ । सानो असमझदारीले पनि प्रेम सम्बन्धमा कस्ता उतार-चढाव आउँछन् भन्ने कुरा फिल्ममा देखाइएको छ ।

    बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको फिल्ममा अरुण र शुभेक्क्षाका साथै सृष्टि श्रेष्ठ, विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)को अभिनय छ । काठमाडौं, धनगढी र कर्णालीमा खिचिएको फिल्मका निर्देशक गोविन्द सिंह भण्डारी हुन् । कथा लेखन पनि भण्डारीकै हो ।

    विवेक घिमिरे र निर्देशक भण्डारीले निर्माण गरेको ‘प्रेमा’का कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् । फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त स्वयं, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको मुख्य सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर, कृष्ण भण्डारीको सम्पादन र महेश पौडेलको डीओपी छ । फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा औसत शो पाएको छ ।

    हलमा सात फिल्म
    कहिले काहीँ फिल्म नभएर खाली हुने गरेका हल यसपटक फिल्मै फिल्मले भरिएको छ । शुक्रबारबाट प्रदर्शन भएको ‘प्रेमा’सहित अहिले हलमा सातवटा फिल्म प्रदर्शनरत छन् । त्यसमध्ये दुईवटा नेपाली (छक्का पञ्जा ४ र प्रेमा), एउटा बलिउड (भोला), एउटा साउथ (दसरा) र तीनटा हलिउड (डंजन्स एन्ड ड्रयागन्स : अनर अमंग थीव्स, जोन वीक : च्याप्टर ४ र डेमन स्लेयर) रहेका छन् ।

    शुक्रबारबाट प्रदर्शनको पाँचौं हप्तामा प्रवेश गरेको ‘छक्का पञ्जा ४’मा अझै दर्शकको चाप उच्च छ । त्यस्तै, बिहीबारबाटै प्रदर्शनमा आएको बलिउड फिल्म ‘भोला’को पनि नेपालमा अकुपेन्सी सुखद नै देखिएको छ । अन्य विदेशी फिल्मको हकमा कुनैको व्यापार ठीकठाक छ भने कुनैको दयनीय छ । फिल्मै फिल्मको भीडमा ‘प्रेमा’लाई व्यापारिक हिसाबमा अब्बल ठहरिन कम चुनौती छैन ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार