‘पञ्जेबाजा’ फेम्ड निर्देशक घनश्याम लामिछानेको निर्देशनमा फिल्म ‘चित्रा’ बन्ने भएको छ । बिहीबार राम नवमीको अवसर पारेर फिल्मको निर्माण घोषणासँगै प्रमुख भूमिकामा अभिनय गर्ने कलाकारको नाम सार्वजनिक गरियो । आगामी भदौबाट छायांकनमा जान लागेको फिल्ममा अभिनेता अर्पण थापा र ‘आमा’ फिल्मका निर्माता समेत रहेका सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ ।
नेपालमा नै सम्पूर्ण छायांकन हुने फिल्मले एक साधारण बाबु र छोरीको कथालाई प्रस्तुत गर्ने निर्देशन लामिछानेले जानकारी दिए । लामिछाने निर्देशन गरेको नयाँ फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनको पखाईमा छ । ‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने फिल्मको कथा अजय अधिकारीले तयार पारेका हुन् ।
यतिबेला मनिष गौतमले अजयको कथालाई पटकथा तथा संवादमा ढालिरहेका छन् । फिल्ममा लेखक अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ । निर्माता अधिकारीले केही समयअघि ‘डलर एयुडी’ नामक फिल्मको पनि निर्माण घोषणा गरेका थिए । यो फिल्मको चाँडै छायांकन सुरु हुने उनले बताए । साथै, सन्तोष निर्मित नयाँ फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तरखरमा रहेको छ ।