मंगलबार, जेठ ८ गते २०८१

‘प्रेमा’ एउटा युवतीको सत्य कथा हो : निर्देशक भण्डारी

‘प्रेमा’ एउटा युवतीको सत्य कथा हो : निर्देशक भण्डारी

अखबार दैनिक
मंगलबार, चैत १४ २०७९
  • ‘प्रेमा’ एउटा युवतीको सत्य कथा हो : निर्देशक भण्डारी

    काठमाडौँ । निर्देशक गोविन्द सिंह भण्डारीले फिल्म ‘प्रेमा’ एउटा युवतीको सत्य घटना भएको बताएका छन् । यात्राको क्रममा भेटिएकी एक युवतीको वास्तविक घटना नै आफूले  फिल्ममा उतारेको भण्डारीको भनाइ छ । ‘फिल्मको वास्तविक कथा त्यो साधारण युवती हो । जसमा साधारण भएर पनि उसमा अरूलाई आफूतिर आकर्षण गर्ने क्षमता थियो’, निर्देशक भण्डारीले भने ‘म पनि उनीबाट प्रभावित भए र त्यही कथामा फिल्म बन्यो । मान्छेको जीवनमा केही घटना यस्ता हुन्छन्, जुन कहिल्यै पनि बिर्सन सकिँदैन । ‘प्रेमा’ को कथा पनि आफूले भुल्न नसक्ने घटना भएको उनले सुनाए ।

    images

    फिल्मको लेखन समेत निर्देशक भण्डारीले गरेका हुन् । केही नेपाली तथा साउथ फिल्मको सह–निर्देशन पछि निर्देशनमा होमिएका भण्डारीको ‘प्रेमा’ दोस्रो फिल्म हो । करिब ४ वर्ष अगाडि रिलिज भएको ‘रणवीर’ बाट उनले निर्देशनमा डेब्यु गरेका थिए । ‘रणवीर’ को चर्चा र समीक्षा राम्रो भए पनि व्यवसाय भने राम्रो हुन सकेन ।

    मंगलबार आयोजित एक कार्यक्रममा उनले फिल्म ‘प्रेमा’ ले राम्रो व्यवसाय गर्ने दाबी गरे । यो फिल्म रिलिजको हिसाबले दोस्रो भए पनि मैले आफ्नो पहिला फिल्मको रूपमा लिएको छु । उनले कारण सुनाए, ‘लेखनका हिसाबले ‘प्रेमा’ पहिलो हो । ‘प्रेमा’ र ‘रणवीर’को स्क्रिप्ट सँगै लेखेको थिएँ । पहिला ‘प्रेमा’ नै निर्देशन गर्न चाहन्थेँ, तर समय र परिस्थितिले गर्दा ‘रणवीर’ पहिले  बन्यो ।’

    ‘रणवीर’ एक्सनमा बनाएका उनले ‘प्रेमा’ भने प्रेमकथामा बनाएका छन् । एक्सन भन्दा प्रेमकथाको फिल्म बनाउन गाह्रो हुने उनी बताउँछन् । भन्छन्, ‘अब केही लभस्टोरी फिल्म बनाउँछु ।’

    आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्ममा शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री लगायतको मुख्य भूमिका रहेको छ । नेपाली सहित तेलुगू, तमिल र हिन्दी गरेर ४ भाषामा निर्माण भएको फिल्म नेपालीमा हलमा र अन्य भाषामा ओटीटीमा रिलिज हुने उनले जानकारी दिए ।

    कार्यक्रममा अभिनेत्री शुभेक्षा खड्का ‘प्रेमा’ आफ्ना लागि विशेष रहेको बताइन् । ‘अभिनयको हिसाबले दोस्रो भए पनि मुख्य भूमिका रहेको यो मेरो पहिलो फिल्म हो’ खड्काले भनिन् ‘फिल्म मेरो वरिपरि नै घुमेको छ ।’ फिल्ममा आफ सुदूरपश्चिमकी युवतीको भूमिकामा रहेको उनले खुलाइन् ।

    अभिनेता अरुण क्षेत्रीले फिल्मको कथा मनपरेकोले अभिनय गरेको बताए । उनले निर्देशक भण्डारीको निर्देशन क्षमताबाट आफू प्रभावित भएको सुनाए । ‘यो फिल्म अभिनयको हिसाबले तेस्रो हो’ क्षेत्रीले भने ‘रिलिजको हिसाबले दोस्रो हुने भयो ।’ क्षेत्रीले फिल्म ‘आइ एम ट्वान्टी वान’बाट अभिनयमा डेब्यु गरेका हुन् । तर रिलिजको हिसाबले उनको पहिलो फिल्म ‘महापुरुष’ भएको छ । ‘महापुरुष’ अभिनयको हिसाबले उनको तेस्रो फिल्म हो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ