काठमाडौँ : इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना मात्रै पास भएका छन्। मंगलवार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो।
परीक्षामा सहभागी १ हजार ९८१ जना विद्यार्थीमध्ये ५६५ जना परीक्षार्थी मात्रै पास भएको काउन्सिलका अध्यक्ष पदम शाहीले बताए। उनले परीक्षा चैत १३ र १४ गते लिएको र जसमा साढे २८ प्रतिशत मात्रै उत्तीर्ण भएको बताए। उनले इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा भएको जानकारी दिए।
इन्जिनियरिङ काउन्सिलले पहिलोपटक इन्जिनियर व्यवसायी दर्ता हुनका लागि लाइसेन्स परीक्षा लिन शुरु गरेको हो। उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने र नेपालभर इन्जिनियरका रूपमा काम गर्न नपाउने काउन्सिलले बताएको छ।
शाहीले भने‚ ‘हाम्रो ऐन अनुसारले हामीले नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरिङ काम गर्नका लागि इन्जिनियरहरूले दर्ता गर्नुपर्ने सिस्टमका लागि आवश्यक परीक्षा हामीले यही १२ र १३ गते लिएका थियौँ। यसमा १ हजार ९८१ जना विद्यार्थी उपस्थित हुनुहुन्थ्यो जसमा ५६५ जना पास हुनुभयो। २० वटा विधामा जाँच भएकोमा सबैभन्दा धेरै सिभिल इन्जिनियरिङमा १ हजार १५३ जना हुनुहुन्थ्यो। लगभग साढे २८ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। उत्तीर्णाङ्क ५० प्रतिशत हो।’ इन्जिनियरिङ उत्तीर्ण भई इन्जिनियर व्यवसाय गर्नका लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा शुरु गरेको अध्यक्ष शाहीले बताए।
इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीसँग परीक्षा लिने गरेको थिएन। काउन्सिलले विश्वविद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण प्रमाणपत्रका आधारमा परीक्षाबिना लाइसेन्स दिएर इन्जिनियरको रूपमा काम गरिरहेका थिए। अब इन्जिनियरिङसम्बन्धी कुनै पनि व्यवसाय गर्न काउन्सिलको परीक्षा उत्तीर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ।