बुधबार, मंसिर १२ गते २०८१

तयार गरिँदै सेतो मच्छिन्द्रनाथको रथ

तयार गरिँदै सेतो मच्छिन्द्रनाथको रथ

अखबार दैनिक
सोमबार, चैत १३ २०७९
  • तयार गरिँदै सेतो मच्छिन्द्रनाथको रथ

    काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि काठमाडौंको जमलमा रथ बनाउन थालिएको छ । वर्षा र सहकालका देवता मानिने करुणामय र आर्याअवलोकितेश्वरका नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथको रथ बनाउन सुरु भएको हो । काठमाडौं उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । यस पटकको जात्रा चैत १५ गतेदेखि सुरु हुँदै छ । रथलाई बेतले बाँध्ने गरिन्छ जसलाई नेवारी भाषामा ‘पाउ’ भन्ने गरिन्छ ।

    images


    सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ । किम्वदन्तीअनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एकजना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ ।


    सोही परम्पराअनुसार अहिले पनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ । उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमती र चोभारको रातोसहित चारवटा मच्छिन्द्रनाथ छन् । धार्मिक सहिष्णुताको प्रतीक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पूज्ने परम्परा छ । चैत्र शुक्ल पक्ष अष्टमीका दिन यो जात्रा सुरु भई तीन दिनसम्म हुने गर्दछ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ