म्याग्दी : पछिल्ला तीन वर्षयता धौलागिरि क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणको क्रम तीव्र भएपछि यस क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ।
वैदेशिक रोजगारी र कला संस्कृतिले सम्पन्न यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटक पनि आकर्षित भएका छन्। यो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलको क्षेत्र भनेर पनि चिनिन थालेको छ।
साविकको धौलागिरि अञ्चलका म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा पछिल्लो एक दशकको अवधिमा दुई दर्जनभन्दा बढी मानव निर्मित र प्राकृतिक पर्यटकीय स्थलको पहिचान,व्यवस्थापन र निर्माण भए पछि यस क्षेत्रले पर्यटन विकासमा फड्को मार्न थालेको हो।
कास्की जिल्लाको नयाँ पुल तर्नेबित्तिकै सुरु हुने धौलागिरि क्षेत्रमा अहिले दुई दर्जनभन्दा बढी पर्यटकीय स्थलले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न सफल भएका छन्।
राउण्ड अन्नपूर्णको चर्चित पर्यटकीय स्थल घोडेपानीदेखि लिएर म्याग्दीको टोड्के, खयरवराह, करवाकेली, राम्चे, लभ्ली हिल, गलेश्वर, महारानी थान, ताकम कोट, ज्यामकोट, डढेकोट, जगन्नाथ, झाँक्रीपानी, पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वको दोस्रो लामो जिपलाइन गुप्तेश्वर धाम लगायत बागलुङ र मुस्ताङका दर्जनभन्दा बढी पर्यटकीय स्थलमा पूर्वाधार निर्माण र चुस्त व्यवस्थापनले पर्यटक आकर्षित भएका हुन्।
त्यसैगरी बागलुङ कालिका, विश्वकै लामो झोलुंगे पुल, पञ्चकोट, सालग्राम संग्रहालय जस्ता मानवनिर्मित धार्मिक स्थल तथा आध्यात्मिक केन्द्रको रहरलाग्दो व्यवस्थापन र प्रचारप्रसारले पनि धौलागिरि क्षेत्रको मुहार उजिल्याउन सहयोग पुगेको स्थानीयवासी बताउँछन्।
त्यस्तै मुस्ताङ जाने बाटोमै विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरधाम, म्याग्दीको दानास्थित रुप्से झरनाले पनि पर्यटकलाई लोभ्याउने यस क्षेत्रका पर्यटन व्यवसायीको भनाइ छ।
त्यसैगरी हिमालपारीको जिल्ला भनेर चिनिएको मुस्ताङको विविधतायुक्त भूगोल,हिमश्रृङ्खला , ढुम्बा ताल, कागबेनी र हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ र यहाँका रमणीय स्थलले पर्यटकको ध्यान खिच्न सफल भएका मुस्ताङका रोशन शेरचनले बताए।
यानीमाया, सुनिमाया, सालैजो, झ्याउरे गीत र विभिन्न संस्कार संस्कृतिले चिनिएको धौलागिरिलाई अब धार्मिक तथा पर्यटकीय गन्तव्यहरूले पनि चिनाउन थालेका बागलुङका अगुवा युवा हरि गौतमले बताए।
उनका अनुसार पछिल्लो समय चर्चामा आएका प्राकृतिक र मानव निर्मित धार्मिक तथा पर्यटकीय गन्तव्यहरूले सिंगो धौलागिरि क्षेत्रको शिर उँचो बनाएको छ।
मानव निर्मित तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरूमा विकासका पूर्वाधार निर्माण भएपछि आगन्तुकको आगमनसमेत उत्साहपूर्ण छ। यसले व्यवसायीलाई पनि उत्साहित बनाएको छ। करिब डेढ वर्ष कोरोनाका कारण बन्द भएका यी गन्तव्यहरू पुनः तंग्रिन थालेका छन्। कोरोनाका बीचमा पनि धेरै धार्मिक तथा पर्यकटीय क्षेत्रहरूमा संरचना निर्माण भएका छन्। व्यवसायीले पनि पर्यटन क्षेत्रमा धेरै लगानी गर्न थालेका छन्।
करिब दुई वर्ष अघि सञ्चालनमा आएको पर्वतको सदरमुकाम कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीको खोँचमा बनेको विश्वकै अग्लो बञ्जीजम्प धौलागिरि क्षेत्रको पर्यटन विस्तारमा कोसेढुंगा सावित भएको छ।
त्यसैगरी बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै लामो दाबी गरिएको झोलुंगे पुल सञ्चालनमा आएपछि पर्यटकहरूको आकर्षण बढेको छ। यो पुल ५६७ मिटर लामो र १३८ मिटर अग्लो रहेको छ।
पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण कालीगण्डकी करिडोरको केन्द्रमै पर्ने यो पुल आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। पुलमा दैनिक सयौँ आन्तरिक पर्यटकको आगमन हुने गरेको छ भने फाट्टफुट्ट बाह्य पर्यटकसमेत आउने गरेको स्थानीयवासी बताउँछन्।
झोलुंगे पुल सञ्चालनमा आएपछि पर्यटन व्यवसाय फस्टाउन थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताए।