नेपाली क्रिकेटको राष्ट्रिय टोली वर्ल्ड कपको क्वालिफायर राउन्डका लागि चयन भएपछि क्रिकेट रङ्गशाला चर्चामा आयो। त्रिविको रङ्गशालाको क्षमता बढाउनेसँगै चितवन अनि काठमाडौँ मूलपानीको निर्माणाधीन रङ्गशाला पनि चर्चामा आयो। मूलपानी रङ्गशालाको कथा बेग्लै छ अनि चितवनको।
चितवनको रङ्गशालाको प्रसङ्ग आए लगत्तै त्यसमा सिताराम कट्टेल अनि कुञ्जना घिमिरेको असफलताको कथा र स्रोतको दुरुपयोगको प्रसङ्ग जोडिहालिन्छ। जब चितवनको क्रिकेट रङ्गशालाको प्रसङ्ग आउँछ सुन्तली नामले परिचित कुञ्जनाले सामाजिक सञ्जालमा केही न केही लेखिहाल्छिन्।
चितवन रङ्गशाला निर्माणको क्रममा उठाएको कोष अनि सामान खरिदमा अपारदर्शी कारोबार भएको भनेर आलोचित यी जोडीले १८ करोड ४१ लाख बढी ऋण लागेको भनेर २०७८ साउन २२ बाट रङ्गशाला बनाउने कामै छाडेर हिँडेका थिए।
त्यसपछि प्रदेश सरकार अनि भरतपुर महानगरपालिका मिलेर रङ्गशाला बनाउने काम सुरु गर्न खोजे पनि एक फाउन्डेसनले लहडका भरमा सुरु गरेर बोकाएको ऋण कसरी सरकारबाट तिराउने भन्ने प्रस्ट नहुँदा निर्माण सुरु हुन सकेको छैन।
किनकी सरकारी कोषमा निर्माणको काम अगाडि बढाउने हो भने खुल्ला प्रतिस्पर्धाबाट निर्माण कम्पनीको छनौट नगरी सरकारी कोषबाट सार्वजनिक निर्माण सम्भव हुन्न।
चितवन रङ्गशालाबारे पुन चर्चा र आलोचना सुरु भएपछि कुञ्जनाले शुक्रवार प्लास्टिकको कुर्सीमा असजिलो गरी बसेका धुर्मुसको बेचैन भिडियो क्लिप टिकटकमा राख्दै लेखिन्’ अब आफैले सत्य तथ्य अगाडि ल्याउनै पर्ने देखियो।’ उनले पटक पटक सत्य सार्वजनिक गर्ने दाबी गरे पनि त्यो सत्य के हो अझै सार्वजनिक भने हुन सकेको छैन।
यो अनुहार निर्दोष छ, न्यायको आसमा सिंहदरबार धाएको करिब डेढ वर्ष भइसक्यो। खालि यताबाट हुन्छ,उताबाट हुन्छ, त्यसरी हुँदैन यसरी हुन्छ, यसलाई भेट्नुस् त्यसलाई भेट्नुस् के के हो के के…।
फोनबाट हुन्छ कि या भेटेर हुन्छ कसलाई जिउ जिउ गर्न भ्याएन होला र? आखिर दोष के चैं भएछ के हामीबाट? जनतामा परेको भ्रम सरकारले हटाउला की भनेर कुरेको अहँ भएन।
अब आफैले सत्य तथ्य अगाडि ल्याउनै पर्ने देखियो।