काठमाडौं । नेपाल खेलप्रेमीहरुको देश हो भन्ने हिजोको क्रिकेट म्याचमा दर्शकको उपस्थितिबाट फेरि एकपटक प्रमाणित भयो । करिब १२ हजार क्षमताको कीर्तिपुर मैदानमा २० हजारभन्दा बढी दर्शक कोचिएका थिए । भित्र पस्न नपाएकाहरु रुखका हाँगाहरुमा चढेर खेलाडीहरुलाई हौस्याइरहेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि हिजो क्रिकेट हेर्न कीर्तिपुर पुगे । दर्शकहरुलाई हात हल्लाउँदै उनी भीआईपी सीटमा गएर बसे । त्यहाँबाट रुखका हाँगामा चढेर खेल हेरिरहेका दर्शकतिर उनको सायद नजर पुगेन होला । तर, प्रचण्ड मैदानमा प्रवेश गर्दाको माहोल उनका लागि सुखद भने थिएन । दर्शकहरुले प्रचण्डको नाम लिएर अप्रिय नारा लगाए । राजनीतिमा चासो नराख्ने क्रिकेटका दर्शकहरु किन यसरी देशका प्रधानमन्त्रीविरुद्ध खनिन पुगे त ? यो गम्भीर विषय हो ।
हरेक पटक नेपालले खेल जित्दा सरकारले खेलाडीहरुलाई नगद पुरस्कार बाँड्छ । तर, खेल क्षेत्रको विकासका लागि चाहिने आवश्यक पूर्वाधारमा उसको फिटिक्कै ध्यान छैन । टीमले जितेको बेला पैसा पाएरमात्रै खेलाडीको भविष्य सुनिश्चित हुने होइन । हारेको बेला के त भन्ने प्रश्न उठ्छ । त्यसका लागि त देशमा खेल पूर्वाधारको विकास तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अवसर तथा खेलाडीहरुले पाउने सेवा-सुविधाको विस्तार अत्यावश्यक छ ।
पछिल्लो समय क्रिकेट खेलाडीहरुले केही हदसम्म आर्थिक उपार्जन गरिरहेका छन् । तर, पूर्वाधारको कुरा गर्ने हो भने लाजमर्दो अवस्था छ । देशमा एउटा पनि क्रिकेट रंगशाला छैन, जहाँ दर्शकले आरामदायी रुपमा बसेर खेलको मजा लिन सकून् । चार वर्षअघि नै एक दिवसीय मान्यता पाइसकेको देशमा एउटा रंगशालासमेत नहुनु ठूलो विडम्बना हो । हिजो प्रधानमन्त्रीविरुद्ध भएको नाराबाजी र दर्शकको आक्रोशको अन्तर्य पनि यही नै हो । एउटा रंगशालासमेत बनाएर दिन नसक्ने प्रधानमन्त्रीले मैदानमा आएर हात हल्लाउँदैमा खेलाडीलाई हौसला मिल्छ भन्नेमा दर्शकले विश्वास गरेनन् ।
खेलाडीलाई अघिल्लो महिनामात्रै भएको घरेलु श्रृंखलामा पनि सरकारले नगद पुरस्कार दिएको थियो । अहिले फेरि प्रधानमन्त्री खेलाडीहरुलाई सम्मान गर्दै ३ लाख रुपैयाँ दिने घोषणा गरे । सस्तो लोकप्रियताको सबैभन्दा सजिलो उपाय जे थियो उनले त्यही गरे । तर, योभन्दा यदि चितवनमा अलपत्र परेको क्रिकेट रंगशाला अघि बढाउने विषयमा ठोस निर्णय लिएको भए त्यसले खेलाडीहरुमा बढी उत्साह थप्थ्यो । खेलाडीमात्र नभएर तमाम क्रिकेटप्रेमीहरु खुशी हुने थिए ।
नेपालले चार वर्षअघि एक दिवसीय मान्यता प्राप्त गरेपछि क्रिकेटप्रेमीहरुले रंगशालाको माग गरे । सामाजिक अभियानहरुमा सक्रिय कलाकार सीताराम कट्टेल धुर्मुसलाई रंगशाला निर्माणको पहल लिन सबैले घच्घच्याए । त्यसबेलाको माहोल देखेर धुर्मुस पनि जोशिए । उनले स्रोत जुटेको खण्डमा रंगशाला निर्माणको पहलकदमी लिने घोषणा गरे । जनस्तरबाटै क्रिकेट रंगशाला निर्माण गर्ने साहसिक निर्णय लिँदा त्यसबेला निकै वाहवाही भएको थियो धुर्मुसको ।
तर, पछि समय फेरियो । मानिसहरुका मनोदशा फेरिए । धुर्मुसलाई सबैले साथ छाड्दै गए । अन्ततः एक्लै परे उनी । सुरुमा द्रुत गतिले निर्माण कार्य अघि बढाएका उनलाई अन्ततः आर्थिक संकटले थिच्यो । करिब ३५ प्रतिशत काम भएपछि रंगशाला निर्माण रोक्न उनी बाध्य भए ।
उच्च गुणस्तरमा निर्माण भइरहेको रंगशालामा ६३ करोडको काम भइसकेको सरकारी अध्ययनले नै देखाएको छ । त्यसमध्ये धुर्मुसले करिब १८ करोडको उधारो सामान लिएर कामलाई निरन्तरता दिएका थिए । त्यो उधारो अहिलेसम्म तिर्न सकेका छैनन् । स्रोत नजुटेपछि उनले डेढ वर्षअघि नै सम्झौताअनुसार महानगरलाई रंगशाला हस्तान्तरण गर्न पत्राचार गरे । तर, भरतपुर महानगरले उनलाई विभिन्न बहानामा अहिलेसम्म झुलाइरहेको छ ।
सो क्रिकेट रंगशालामाथि सरकारका अनेक निकायहरुले अध्ययनमाथि अध्ययन गरिरहेका छन् । रंगशालाका डकुमेन्टहरु बोकेर धुर्मुसले सरकारी निकायहरुको फन्को लगाउन थालेको पनि धेरै भइसक्यो । रंगशालाको फाइल अहिले केन्द्र सरकारसँगै छ । तर, कुनै निर्णय लिएको छैन ।
भरतपुर महानगर ६३ करोडको संरचनाको स्वामित्व लिन तयार छ । तर, त्यसमा लागेको १८ करोड ऋण सकार्न तयार छैन । रंगशाला अलपत्र पर्नुको चुरो कारण यही हो । भरतरपुरकी मेयर रेणु दाहाल यो विषयमा केन्द्र सरकारले नै निर्णय लिनुपर्ने बताउँछिन् । जबकि रंगशाला निर्माण धुर्मुस सुन्तली फाउन्डेसन र महानगरको सहकार्यमा सुरु भएको हो । यदि धुर्मुसले स्रोत जुटाएर समयमै निर्माण सकेको भए यसैलाई आफ्नो उपलब्धिको रुपमा प्रचार गर्ने योजनामा थिइन् दाहाल । तर, निर्माण रोकिएपछि सबै अपजस धुर्मुसको टाउकोमा हालेर उनी पानीमाथि ओभानो बन्न खोजिरहेकी छन् ।
अहिले केन्द्रमा उनकै पिता पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । नेपालले खेल जितेपिच्छे खेलाडीलाई नगद पुरस्कार बाँडेर आफूलाई खेलप्रेमी देखाउन खोज्ने प्रचण्ड खेल क्षेत्रलाई पचासौं वर्षसम्म काम लाग्ने एउटा दिगो संरचना निर्माणमा कुनै चासो किन दिइरहेका छैनन् ? किनभने पैसा बाँड्दा तत्कालै मिल्ने वाहवाही रंगशाला बनाएर उनले पाउन सक्दैनन् ।
१८ करोड रुपैयाँ ऋण सकार्न सरकार तयार नहुँदा रंगशाला महानगरलाई औपचारिक हस्तान्तरण हुन सकेको छैन । जसले गर्दा देशभित्र निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको एउटा गर्विलो संरचना अलपत्र परेको छ । यदि स्रोत जुटेको भए यतिबेला रंगशालाको निर्माण सकिएर हिजो त्यसमै नेपाल-यूएईको म्याच भइरहेको हुन्थ्यो । दर्शकहरुले रुख चढ्नुपर्ने थिएन ।
भरतपुर महानगरकी मेयर रेणु दाहाल पनि हिजो नेपाल-यूएईबीचको खेल हेर्न त्रिवि मैदान पुगेकी थिइन् । उनलाई दर्शकहरुले रंगशाला कहिले बन्छ ? भन्ने प्रश्न गरेका थिए । यता सामाजिक सञ्जालमा पनि रंगशालाबारे निरन्तर प्रश्न उठिरहेको छ । मेयर दाहालले सामाजिक सञ्जालमै लेखेकी छन्- अब छिट्टै खुशीको खबर पाउनुहुनेछ, रंगशाला छिट्टै सुचारु हुन्छ । तर, उनले यस्तो भन्न थालेको धेरै भइसक्यो । डेढ वर्ष अगाडि नै उनले अब रंगशाला महानगरले अघि बढाउने घोषणा गरेकी थिइन् । तर, धुर्मुसले हात उठाएदेखि एक बित्ता पनि प्रगति भएको छैन । उल्टै भएको संरचना पनि दिनानुदिन जीर्ण बन्ने खतरा छ ।
नेपालले अब विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर खेल्दैछ । जिम्बावेमा हुने क्वालिफायरबाट नेपाल पहिलोपटक विश्वकपमा छनोट हुने महत्वाकांक्षा क्रिकेटप्रेमीहरुले पालेका छन् । त्यो कठिन छ । तर, असम्भव छैन । यदि नेपाल विश्वकपमा छनोट भयो भने फेरि सरकारले नगद पुरस्कार बाँड्ने त निश्चित छ । तर, रुखमा चढेर क्रिकेट हेर्नुपर्ने नियति चाहिँ कहिले अन्त्य होला ? आजको यक्ष प्रश्न यही हो ।