काठमाडौं । विभिन्न मितिमा हराएका २३ ओटा मोटरसाइकल र स्कुटर प्रहरीले बिहीबार धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रम गरी २० ओटा मोटरसाइकल र ३ ओटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले बताए ।
गत साउनदेखि हालसम्म सवारी साधन हराएको भनी उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ११६२ वटा निवेदन परेको थियो । त्यसमध्ये प्रहरीले ३५३ वटा मात्र फेला पारेको छ र ३२८ वटा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । फागुन महिनामा मात्र प्रहरीले हराएकव २४ वटा सवारी साधन फेला पारेको छ र २६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
साउनयता धनी नखुलेका ९५ वटा मोटरसाइकल र स्कुटर पनि भेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ती सवारी साधन यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ ।