१९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार साँझ नेपाल प्रहरीले सुनसरीबाट नारायण परिश्रमिक र काठमाडौंको शंखमुलबाट हुकुमबहादुर लामालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए ।
काठमाडौं महानगरले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुरुलाई पक्राउ गरेर ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरेको जनाएको छ ।
१२ मंसिरमा थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गर्न जाँदा महानगर प्रहरी पाण्डेमाथि बस्तीका स्थानीयले आक्रमण गरेका थिए । सोही आक्रमणमा पाण्डे सहित ३६ जना नगर प्रहरी घाइते भएको महानगरले जनाएको थियो ।
महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले बारम्बार महानगरपालिकाले दिएको उजुरीमा प्रशासन र प्रहरीले असयोग गरेको, नगर प्रहरीमाथि आक्रमण गर्नेलाई खुलेआम छोडेको भन्दै आक्रोश व्यक्त गर्दै आएका थिए ।