बुधबार, मंसिर १२ गते २०८१

बाग्चौरका दुई वडाबाट १२ करोडको सुन्तला निकासी 

बाग्चौरका दुई वडाबाट १२ करोडको सुन्तला निकासी 

अखबार दैनिक
बिहीबार , फागुन १८ २०७९
  • बाग्चौरका दुई वडाबाट १२ करोडको सुन्तला निकासी 

    सल्यान — बाग्चौर नगरपालिका ३ खालीका ५५ वर्षीय रत्नबहादुर भण्डारीले प्रत्येक वर्ष सुन्तला बिक्री गरेर ८ लाख आम्दानी गर्दै आएका छन् । गत वर्षभन्दा बढी उत्पादन भएकाले यो वर्ष उनले ९ लाख आम्दानी गरे । खेतीयोग्य उनको २० रोपनी जग्गामा ५ सय भन्दा बढी सुन्तला बोट छन् । 

    images

    बाग्चौर नगरपालिका ३ खालीकै वडाध्यक्ष समेत रहेका भीमप्रकाश भण्डारीले आफ्नो खेतीयोग्य २० रोपनी जग्गामा सुन्तला खेती गरेका छन् । गत वर्ष ९ लाख कमाएका उनले यो वर्ष १० लाख कमाई गरे । सुन्तला खेतीबाट उनको जीवनमा धेरै सुधार आएको छ । बाग्चौर नगरपालिका ९ डाँगीगाउँका ६० वर्षीय भरतनाथ योगीले घर नजिकैको ४५ रोपनी जग्गामा लगाएको हजार बोट सुन्तलाबाट प्रत्येक वर्ष २५ देखि २८ लाखसम्म आम्दानी गर्दै आएका छन् । यो वर्ष मात्रै उनले २७ लाख बराबरको सुन्तला बिक्री गरे । उनी जिल्लामा सबै भन्दा बढी सुन्तला लगाउने र उत्पादन गर्ने किसान हुन् ।

    सल्यान जिल्लामा बाग्चौर नगरपालिका– ३ खाली र ९ डागीगाउँ सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ । यहाँका किसानको मुख्य पेसा भनेकै सुन्तला हो । जिल्लाका सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने बाग्चौर नगरपालिकाको दुई वडाबाट यो वर्ष १२ करोड बढीको सुन्तला निकासी भएको छ । वडा नम्वर ३ खालीबाट २ र डाँगीगाउँबाट १० गरी १२ करोड बराबरको सुन्तला निकासी भएको हो ।

    सुन्तला खेतीबाट खालीका १ सय ६० र डाँगीगाउँका ५ सय गरी ६ सय ६० परिवार आत्मनिर्भर भएका छन् । उनीहरुले अन्य स्थानीयलाई पनि मौसम अनुसारको रोजगारी दिएका छन् । विगतमा मजदूरीको लागि भारतको विभिन्न ठाउँमा जान बाध्य हुँदै आएका किसान घरमै रोजगारी मिलेपछि कालापहाड जान छाडेका छन् । बाग्चौरको दुबै वडामा किसानले उत्पादन गरेको सुन्तला देशका विभिन्न सहर तथा भारत पनि जाने गरेको छ ।

    २०५२ सालदेखि व्यावसायिक सुन्तला खेती गरेका खालीका किसान ताराप्रसाद भण्डारीले केही वर्षयता स्थानीय किसानले उत्पादन गरेको सुन्तलाले राम्रो मूल्य पाइरहेको बताएका छन् । खालीका १ सय ६० किसानले झन्डै हजार रोपनीमा सुन्तला लगाएको र यसैबाट सजिलै घर खर्च चलाइरहेको उनले जानकारी दिए । ‘पहिला डोकोमा बोकेर बिक्री गर्नका लागि बजारसम्म पुर्‍याउनु पर्ने अवस्था थियो’ उनले भने ‘अहिले सुन्तला लिन घरमै धनगढीका ब्यापारी आउने गरेका छन् ।’ सुन्तला खेतीमा सम्बन्धित निकायले सिँचाइ तथा रोग नियन्त्रणका लागि अहिलेसम्म सहयोग नगरेको उनको गुनासो छ ।

    सुन्तला बिक्री गरेर वार्षिक १० लाखसम्म आम्दानी गर्दै आएका बाग्चौर नगरपालिका ९ डाँगीगाउँका अर्का किसान रेसम डाँगीले ब्यापारी गाउँमै आउने गरेकाले बिक्री गर्न समस्या नभएको बताए । सुरुवातमा ५० रुपैयाँ प्रतिकिलो बिक्री भएको सुन्तला माघ महिलाको अन्तिमतिर १ सयमा बिक्री भएको उनले जानकारी गराए । उनका अनुसार विगतमा आर्थिक अवस्था दयनीय भएका कोटमौलाका स्थानीयको परम्परागत खाद्यबाली लगाउन छाडी सुन्तला खेतीमा लागेपछि धेरै सुधार आएको छ ।

    कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख भरत कुमार बस्नेतका अनुसार जिल्लामा १ हजार ६ सय बढी हेक्टरमा किसानले सुन्तला खेती गरेकामा सबैभन्दा बढी बाग्चौर नगरपालिकाको खाली र कोटमौलाको डाँगीगाउँ हो । वार्षिक २५ करोडसम्मको सुन्तला निकासी हुनेमा कुल रकमको आधा यहीं दुई वडाबाट निकासी हुने गरेको उनले जानकारी गराए । ‘यो वर्ष सुन्तला उत्पादनमा केही गिरावट आएपनि मूल्यमा भएको वृद्धिले किसानलाई खासै घाटा भएन’ उनले भने । सुन्तला खेतीबाटै किसानको आयस्तर बढाउन र व्यवसायलाई बढाउन कार्यालयले अनुदानदेखि लिएर विभिन्न किसिमका सहयोग गर्दै आएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार