बुधबार, मंसिर १२ गते २०८१

खान कै लागि हात फैलाउने अवस्थामा छ दिवंगत बिएस राणाको परिवार

खान कै लागि हात फैलाउने अवस्थामा छ दिवंगत बिएस राणाको परिवार

अखबार दैनिक
मंगलबार, फागुन १६ २०७९
  • खान कै लागि हात फैलाउने अवस्थामा छ दिवंगत बिएस राणाको परिवार

    काठमाडौं– लाइमलाइटमा हुँदासम्म कलाकारको वाहवाही मात्रै हुन्छ । एउटा सेल्फी, एक अटोग्राफकै लागि मानिस जुनसुकै हदसम्म जान तयार हुन्छन् ।

    images

    यद्यपि, त्यही कलाकार बिरामी पर्दा उपचारको अभावमा तड्पिन्छ । त्यति मात्र होइन परिवारले उनको अन्तिम संस्कार गर्नका लागि एउटा कात्रोसम्म जुटाउने अवस्था रहँदैन । तीतो तर सत्य यथार्थ कलाकारको यही नै हो । र यो यथार्थ अग्रज स्वर्गीय कलकार बिएस राणाको पनि हो ।

    दिवंगत राणाको परिवार अहिले खानकै लागि अरु कसैको शरणमा पर्नु परेको छ । राणाको आर्थिक अवस्था यतिसम्म नाजुक थियो कि अन्तिम संस्कार गर्नका लागि कात्रो किन्ने पैसा परिवारमा थिएन । फिल्म क्षेत्रका विभिन्न संघ–सस्थाको सहयोगमा उनको अन्तिम संस्कार गरिएको थियो ।

    दिवंगत राणा श्रीमती र दुई छोरीलाई छोडेर परलोक भएका थिए । अहिले यी तिनको अवस्था अझ् नाजुक भएको छ । श्रीमान गुमाएकी राणाकी पत्नी डिप्रेसनमा छिन् । उनी आफ्नै दुई छोरीलाई समेत चिन्दिनन् । उनको सोचमा उनका छोरी नन्दनी र आरती विवाह गरेर विदेशमा छन् । र उनले आफ्ना दुई छोरीलाई घरमा काम गर्ने मान्छे झैँ व्यवहार गर्छिन । श्रीमानमा भर परेर जीवन बिताउने सरल महिला उनी आफ्ना श्रीमानको मृत्युको एक वर्ष नहुँदै यो अवस्थामा पुगेकी हुन् ।

    कान्छी छोरी सुस्त मनस्थितीकी छिन्, जसको अभिभारासमेत जेठी छोरीकै काँधमा छ । बहिनीले कुनै कुरामा पनि भर नदिने बताउने उनी घरको र बाहिरको सबै कामको जिम्मा आफ्नो काँधमा लिएर अघि बढिरहेकी छिन् । राणाका एक छोरा पनि थिए, जसको १२ वर्षकै उमेरमा पोलियो रोगको कारण निधन भयो ।

    नन्दनीको सपना कलाकार बनेर आफ्ना पिताको पथ पच्छ्याउने थियो । तर परिस्थितिले उनलाई केही गर्न नसक्ने बनाएर घर मै थन्क्याइदियो । अझै पनि उनको सपना छ आफ्ना बाबुलाई मन पर्ने साहित्यकार विलियम सेक्स्पियरको एक नाटक मञ्चन गर्ने र त्यसमा आफूले अभिनय गर्ने ।

    बाँच्नका लागि यो परिवार दिवंगत राणाकी श्रीमतीको दिदीको भर परिरहेको छ । उनले पठाउने खर्चको आधारमा यो परिवारमा रासन–पानी आउने गर्छ । घरमा पुराना फर्निचर, टेलिभिजन, पत्रपत्रिका र पुस्तकहरु असरल्ल छरिएका छन् । घर धूलोले भरिएको छ । नन्दनी एक्लैको काँधमा दुई बिरामी व्यक्ति छन् र घरको पूरै जिम्मेवारी पनि ।

    नन्दनी कसैको सहायता पाए आमा र बहिनीको उपचार गर्न चाहन्छिन् । उनका बाबुको पैसा खाएर फिर्ता नदिने व्यक्तिको नाम नै लिएर फिर्ता दिए हुने भन्ने अपेक्षा गर्छिन् । आफू एक्लैले केही गर्न नसक्ने भन्दै निरिहता देखाउँछिन् । आफन्त र इस्टमित्रको असहयोगलाई खरर भन्छिन् । तर, उनीसंग सहज जीवन बनाउने र बिताउने कुनै बाटो छैन ।

    एक वरिष्ठ कलाकारको परिवार खानका लागि हात फैलाउँदै छ । उपचार अभावमा मृत्युको दिन पर्खिँदैछ । र यो राणाको परिवारको मात्रै वास्तविकता भने होइन । धेरै कलाकारको सत्य चित्रण पनि हो । यो विषयमा गम्भीर भएर नेपाली फिल्म क्षेत्रका विभिन्न संघ–संस्था तथा सरकारी निकाय चलचित्र विकास बोर्डले बेलैमा नसोच्ने हो भने भोलि धेरै कलाकार र तिनको परिवारले भोग्ने नियती पनि यस्तै नहोला भन्न सकिँदैन ।अभिनेता सविन श्रेष्ठले आइतबार बिहान एउटा स्टाटस लेख्दै नेपाली फिल्म क्षेत्रका संघ–संस्थाहरुलाई झक्झक्याएका छन् ।

    उनी लेख्छन्– ‘लगभग तीन दशक नेपाली कलाकारिता क्षेत्रमा योगदान दिनु भएको नेपालको धुरन्धर, वरिष्ठ चलचित्र कलाकार स्व.विएस राणाज्यूको परिवारको अवस्था के छ सम्बन्धित संघ–संस्थालाई थाहा छ होला ?’

    ‘मलाई, तपाईँलाई, हामीलाई कलाकार जिउदो हुँदामात्र मतलब हो ?, अभिनेता श्रेष्ठले सोधेका छन्– ‘मृत्यु पश्चात कलाकार अनि कलाकारको परिवारको अवस्था हामीलाई के चासो ? भोलि मलाई, तपाईँहरुलाई र हामीलाई पर्दा ? रिसानी माफ मैले कसैलाई ट्याग गरिन है ।’ अभिनेता श्रेष्ठले भविष्यमा अन्य कलाकारहरुका लागि कसैबाट केहि व्यवस्थित योजनाहरु नआएमा म मेरो व्यक्तिगत तर्फबाट आफूले सकेको गर्ने वाचा समेत गरेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार