काठमाडौं । अंग्रेजी शब्द ‘टेन्सन’ नेपालीहरुले दैनिक जीवनमा धेरै प्रयोग गर्नेमध्ये शब्द हो भन्दा फरक पर्दैन । यसको नेपाली शब्द तनाव हो । तर शिक्षितदेखि निरक्षर सबैले भनिरहेका हुन्छन्- मलाई टेन्सन छ ।
पढाइको चाप थेगिरहेका किशोरकिशोरी, करिअरका लागि दौडधुप गरिरहेका युवायुवती, घरगृहस्थी सम्हालिरहेका वयस्क, दीर्घरोगले सताएका वृद्धवृद्धाले हरेक पटक ‘टेन्सन भो’ भनिरहेको सुनिन्छ ।
एक हिसाबले थेगोजस्तै नै बनेर बालबच्चमा पनि यो शब्द सरेको छ । बालबच्चा पनि हिजोआज टेन्सन भन्न थालेको देखिन्छ । के बालबच्चालाई पनि टेन्सन हुन्छ ?
टेन्सन युवा, ज्येष्ठ नागरिक र बच्चा सबै उमेरलाई हुनसक्ने मनोविद् विनोद पौडेल बताउँछन् । ‘धेरै अभिभावकलाई बच्चालाई त के टेन्सन हुन्छ र भन्ने लाग्न सक्छ । तर बच्चाहरूलाई पनि उमेरअनुसार विभिन्न टेन्सन हुन्छ,’ उनी भन्छन् ।
बेलायतमा भएको एक अध्ययनअनुसार १४ वर्ष उमेरसम्मका चार जना बालबालिकामध्ये एक जनाले टेन्सनका कारण आफैंलाई चोट पुर्याउँछन् । ‘द चिल्ड्रेन्स सोसाइटी’ले अनुसन्धानमा यो उमेरका ७६ हजार केटी र ३३ हजार केटाले एक वर्षमा कुनै न कुनै रूपमा आफूलाई चोट पुर्याएको पत्ता लगाएको छ ।
बच्चाहरूले कहिलेकाहीं मलाई त कस्तो टेन्सन भयो भने अभिभावकले के कारणले टेन्सन भयो भनेर सोध्नुको साटो यत्रो सानो उमेरमा तिमीहरूलाई केको टेन्सन भनी दिन्छन् । यसले बच्चालाई झन् टेन्सन थपिदिने पौडेल बताउँछन् ।
‘बच्चा विद्यालय जाने भएदेखि नै उनीहरूमा टेन्सन हुन थाल्छ । घरमा अभिभावकसँग हुर्किरहेको बच्चा अभिभावक छोडेर विद्यालय जानुपर्दा उसलाई तनाव हुन्छ,’ पौडेल भन्छन्, ‘विद्यालय जान थालेपछि शिक्षक, साथी र पढाइको कुराले बच्चालाई टेन्सन हुन्छ ।’
उमेर बढ्दै गएपछि किशोरावस्थामा प्रवेश गर्ने बेलामा आफूसँगै साथीहरूको शारीरिक र मानसिक विकास आफ्नोभन्दा तेज भयो भने पनि बच्चालाई टेन्सन हुन्छ । उमेर बढेसँगै विभिन्न तहमा बच्चाहरूलाई तनाव हुने पौडेल बताउँछन् । बालबच्चामा मुख्यतः दुई प्रकारको तनाव हुन्छ ।
सकारात्मक टेन्सन
बच्चाहरूमा हुने सकारात्मक टेन्सनलाई ‘यु स्ट्रेस’ भनिन्छ । परीक्षा बच्चाको लागि सकारात्मक टेन्सन भएको पौडेल बताउँछन् । ‘परीक्षाले बच्चालाई टेन्सन त दियो तर त्यो टेन्सनबाट छुटकारा पाउन उसले अभिभावक, शिक्षक र साथीको सहयोग लिन्छ । पढ्नका लागि धेरै समय छुटाउँछ,’ उनी भन्छन्, ‘जसले गर्दा उसले परीक्षामा राम्रो नतिजा ल्याउँछ । सकारात्मक टेन्सनले कार्यसम्पादनलाई बढाएर लैजान्छ ।’
नकारात्मक टेन्सनबच्चामा नकारात्मक टेन्सन पनि हुन्छ, जसलाई ‘डिस्ट्रेस’ भनिन्छ । बच्चालाई परीक्षाको चिन्ता भयो त्यो चिन्ताले गर्दा उसलाई टेन्सन भयो तर त्यो टेन्सनलाई उसले व्यवस्थापन गर्न सकेन भने त्यो नकारात्मक टेन्सनमा परिणत हुने पौडेल बताउँछन् ।
‘अरूले पढे होलान् मैले त पढेको छैन । मलाई त केही लेख्न आउँदैन भनेर टेन्सन लिइन्छ भने त्यो नकारात्मक टेन्सनले गर्दा यसमा शारीरिक र मानसिक असर देखिन थाल्छ,’ पौडेल भन्छन् । नकारात्मक टेन्सनको कारण निद्रा नलाग्ने, खानामा रुचि नहुने, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन थाल्छ ।
बच्चालाई तनावमुक्त कसरी राख्ने ?
– निद्राले कुनै पनि व्यक्तिको मुडलाई असर गर्छ । बच्चा राम्ररी निदाउन पाएन भने उसमा चिडचिडापन र उदासी देखा पर्छ । त्यसैले बच्चालाई पर्याप्त सुत्न दिनुपर्छ ।
– टेन्सन कम गर्न, बच्चालाई केही खेल वा व्यायाम गर्न उत्प्रेरित गर्नुपर्छ । जुन काममा शरीरले थकान महसुस गरोस् र अनावश्यक कुरा सोच्ने समय नपाओस् ।
– यदि बालबालिकाले आमाबुबालाई टेन्सनमा देखे भने उनीहरूलाई पनि टेन्सन हुन थाल्छ । त्यसैले बच्चाको अगाडि अभिभावक चिन्तित भएर नबस्ने । उनीहरूसँग कुरा गरेर खेलेर आफूलाई पनि चिन्तामुक्त बनाउने र बच्चालाई पनि ।
– बालबालिका टेन्सनमा भए भने उनीहरूले आफ्नो खानामा पनि ध्यान दिंदैनन् । स्वादिलो र पोषिलो खाना बनाएर दिइयो भने त्यसले पनि उनीहरूको टेन्सन कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
– बालबच्चालाई रुचि भएको काम गर्न दिनुपर्छ । जस्तै, संगीत सुन्ने, फिल्म हेर्ने वा खेल खेल्ने कार्य गर्न दिनुपर्छ । रुचि भएको काम गर्न पाए भने उनीहरूको टेन्सन कम हुन्छ । उनीहरूसँग हाँसखेल गरेर घरको वातावरणलाई राम्रो बनाउँदा पनि टेन्सन कम हुन्छ ।
– बालबच्चाको कमजोरी मात्र देखाउनुभन्दा उनीहरूले गरेको राम्रो कामको प्रशंसा गर्नुपर्छ । यो भन्दा अझै राम्रो गर्न सक्छौ भनेर हौसला दिइयो भने पनि बच्चाको टेन्सन कम हुन्छ ।