बुधबार, मंसिर १२ गते २०८१

एक दिनमै २० लाख वर्गकिलोमिटर पग्लियो अन्टार्कटीकाको हिउँ

एक दिनमै २० लाख वर्गकिलोमिटर पग्लियो अन्टार्कटीकाको हिउँ

अखबार दैनिक
सोमबार, फागुन ८ २०७९
  • एक दिनमै २० लाख वर्गकिलोमिटर पग्लियो अन्टार्कटीकाको हिउँ

    ८ फागुन, काठमाडौं । पृथ्वीको दक्षिणी ध्रुवमा रहेको हिमच्यादर समेत भनिने अन्टार्कटीका महादेशको ९९ प्रतिशत भाग हिउँले ढाकेको हुन्छ । यो पृथ्वीको सबैभन्दा चिसो ठाउँ पनि हो । अन्टार्कटीका महादेशलाई बरफको निकै मोटो पत्रले ढाकेको छ । तर पछिल्लो समयमा विश्वमा बढिरहेको तापमानले गर्दा अन्टार्कटीकाको हिउँको पत्र तीव्र गतिमा पग्लिँदै गएको छ । अमेरिकाको स्नो एण्ड आइस डेटा सेन्टरको रिपोर्ट अनुसार गत फेब्रुअरी १३ तारेखमा एकैदिनमा अन्टार्कटीकाको १९ लाख १० हजार वर्ग किलोमिटर क्षेत्रफलको हिउँ पग्लिएको छ । अन्टार्कटिकमा एक दिनमै यतिधेरै बरफ पग्लिएको यो दोश्रो घटना हो । यसअघि सन् २०२१ को फेब्रुअरी २५ मा एकैदिनमा १९ लाख २० हजार वर्ग किलोमिटर बरफ पग्लिएको थियो ।

    images

    वैज्ञानिकहरुका अनुसार लगातार दोश्रो वर्षपनि अन्टार्कटीकामा एकै दिनमा करिब २० लाख वर्गकिलोमिटर बरफ पग्लिएर रेकर्ड कायम गरेको छ । सेन्टरको रिपोर्ट अनुसार गतवर्ष फेब्रुअरी १८ देखि मार्च ३ सम्म अन्टार्कटिकमा सबैभन्दा धेरै बरफ पग्लिएकोमा यो वर्ष पोहोरको रेकर्ड तोडिन सक्छ ।

    के अनौठो हो यो ?

    वैज्ञानिकहरुका अनुसार अन्टार्कटीकामा बरफ पग्लिने यो घटना निकै अनौठो छ र यसका लागि केवल जलवायु परिवर्तनलाई मात्रै जिम्मेवार ठहर्‍याउन सकिँदैन ।

    सन् १९७९ देखि स्याटेलाइटको माध्यमबाट अन्टार्कटीकामाथि निगरानी गरिँदै आएको छ । पछिल्लो ४० वर्षको तथ्यांकलाई हेर्दा पछिल्ला केही वर्षयता गर्मीको मौसममा यतिधेरै तीव्र गतिमा त्यहाँको बरफ पग्लिएको पाइएको छ ।

    वैज्ञानिकका अनुसार उत्तर ध्रुवीय क्षेत्रमा विश्व उष्णीकरणका लागि तीव्र गतिमा बरफ पग्लिरहेको छ र हरेक दशकमा त्यहाँको १२ देखि १३ प्रतिशत बरफ घटिरहेको छ । तथापि अन्टार्कटिकमा गर्मीयाममा पग्लिएको हिउँको मात्रा बराबरको नयाँ हिउँ चिसो याममा थपिने गरेको छ ।

    बरफ पग्लिनु कति खतरनाक हो ?

    रिपोर्ट अनुसार तातो हावाका कारण बरफ तीव्र रुपमा पग्लिरहेको छ । यो वर्ष हावाको तापक्रम औषतभन्दा १.५ डिग्री बढि रह्यो ।

    अन्टार्कटीका पृथ्वीको सबैभन्दा चिसो क्षेत्र हो । यो पृथ्वीको पाँचौँ ठूलो महादेश पनि हो र क्षेत्रफलमा युरोपभन्दा ४० प्रतिशत ठूलो छ । अन्टार्कटीकामा पृथ्वीको ७० प्रतिशत ताजा पानी रहेको छ तथापि सबै बरफको रुपमा रहेको छ ।

    अन्टार्कटीका महादेश १.४२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । वैज्ञानिकहरुका अनुसार यदि अन्टार्कटीकाको सबै हिउँ पग्लिएमा समुद्रको सतह २ सय फिट सम्मले बढ्नेछ ।

    नेशनल जियोग्राफिकको एक रिपोर्ट अनुसार अन्टार्कटीका विगत ४ करोड वर्षदेखि हिउँले ढाकिएको छ । करिब १८ हजार वर्षअघि पृथ्वीको एक तिहाई हिस्सा हिउँले ढाकिएकोमा अहिले केवल १० प्रतिशत भाग मात्र हिउँले ढाकिएको अवस्थामा छ ।

    पृथ्वीको तीव्र गतिमा बढ्दो तापक्रमका कारण विश्वका वैज्ञानिकहरु चिन्तित रहँदै आएका छन् । उष्णीकरणले बरफ पगालिरहेको छ र हिमनदीहरु खुम्चिँदै गएका छन् । बढ्दो तापमानका कारण बरफका पत्रहरु पग्लिँदै जाँदा हिमनदीहरु खुम्चिरहेका छन् ।

    हिमगलनका कारण समुद्रको जलस्तर पनि बढ्दछ । साथै समुद्रको नुनिलोपना पनि कम हुन्छ । यसले सामुद्रिक जीवहरुको अस्तित्वमै असर पार्दछ ।

    संयुक्त राष्ट्रसंघको एक अध्ययन अनुसार आगामी शताब्दी सम्ममा ध्रुवीय सागरहरुमा रहेको सामुद्रिक बरफ २५ प्रतिशत सम्मले घट्नेछ । यसले अन्टार्कटीकामा रहने जिवजन्तुहरुलाई खानेकुराकै समस्या उत्पन्न हुनेछ । 

    एजेन्सीको सहयोगमा

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार