काठमाडौँ — स्रोत नखुलेको नेपाली नगद आठ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका-१६ का २५ वर्षीय रामप्रवेश कुमारले हेल्मेटमा लुकाएर स्रोत नखुलेको आठ लाख रुपैयाँ ल्याइरहेको अवस्थामा वीरगन्जबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीको मोबाइल टोलीले जाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एभी ३४७७ नम्बरको मोटर साइकलमा सवार रामप्रवेशले हेल्मेटमा नगद लुकाएर ल्याइरहेको फेला पारेको थियो ।
उनको साथमा एक हजार रुपैयाँ दरको नोट ७ लाख ५० हजार र एक सय रुपैयाँको नोट ५० हजार गरी आठ लाख रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीका प्रवक्ता पुरुषोत्तम थापाले जानकारी दिए । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।